आइन्स्टाइन र चार्ली च्याप्लिन

सन् १९३१ मा अमेरिकाको लस एन्जल्समा वैज्ञानिक अल्बर्ट आइन्स्टाइन र अभिनेता/निर्देशक चार्ली च्याप्लिन ।

अल्बर्ट आइन्स्टाइन र चार्ली च्याप्लिनले सँगै खिचाएको एउटा तस्वीर सामाजिक सञ्जालमा वेलावेला छाउँछ। हालै २१ जुलाई (६ साउन) मा नोबेल पुरस्कार कमिटीले आफ्नो इन्स्टाग्राम अकाउन्टमा उक्त तस्वीर पोस्ट गरेको छ।

भौतिक शास्त्रमा सन् १९२१ मा नोबेल पुरस्कार पाएका महान् वैज्ञानिक आइन्स्टाइनले विख्यात अभिनेता च्याप्लिनसँग भेट गरेको सन्दर्भ जोड्दै नोबेल पुरस्कार कमिटीले तस्वीर शेयर गरेको हो।

जिनियस आइन्स्टाइनको बारेमा के बताइन्छ भने, उनलाई भेट गर्न मन लागेका हलिउडका एक मात्र कलाकार चार्ली च्याप्लिन थिए। उनको त्यो उत्कट चाहना अन्तत: पूरा भयो।

सन् १९३१ मा अमेरिकाको लस एन्जल्समा फिल्म ‘सिटी लाइट्स’ को प्रिमियर शो कार्यक्रममा दुवैबीच पहिलो पटक भेट भएको थियो। उक्त फिल्म च्याप्लिनले नै निर्माण, निर्देशनसँगै अभिनय पनि गरेका थिए। भेटमा उनीहरुबीच खास कुराकानी भएको थियो।

आइन्स्टाइनले च्याप्लिनको कलाकारिताको तारिफ गरेपछि च्याप्लिनले पनि रमाइलो पारामा झनै प्रशंसा गरेका थिए।

कुराकानीका क्रममा आइन्स्टाइनले च्याप्लिनलाई भने- ‘म तपाईंको कलाको प्रशंसा किन गर्छु भने, यसमा सार्वभौमिकता छ। तपाईं (फिल्ममा) एक शब्द पनि बोल्नु हुन्न, तैपनि संसारले तपाईंलाई बुझ्छ।’

च्याप्लिनका अधिकांश फिल्महरुमा संवाद छैन । कथाको भावलाई संगीतका धुनले खुलाइएको हुन्छ।

आइन्स्टाइनबाट तारिफका शब्द सुनेपछि च्याप्लिनले पनि भने, ‘तपाईंले भनेको ठीक हो, तर तपाईंको महानता त योभन्दा पनि धेरै छ। तपाईंले बोलेको एक शब्द पनि शायदै कसैले बुझ्न सक्लान्, र पनि पूरै विश्व तपाईंको प्रशंसा गर्छ।’

यो तस्वीर त्यही वेलाको हो।


ताजा खबर