नेपालमा ‘घिउ फल’ एभोकाडोको व्यावसायिक खेती

पछिल्लो समयमा एभोकाडो फल व्यावसायिक बन्दै गएको छ । केही वर्षपहिलो नेपालीलाई एभोकाडो फलबारे केही थाहा नभए पनि अहिले केही जिल्लामा व्यावसायिक खेती गर्न थालिएको छ ।

नेपालीमा एभोकाडोलाई घिउ फल पनि भन्ने गरिन्छ । एभोकाडो मध्य अमेरिका र मेक्सिकोमा उत्पत्ति भएको उष्ण प्रदेशीय एक राम्रो नगदे फल हो । यो फलको वैज्ञानिक नाम ‘पेर्से अमेरिकाना’हो । सबैभन्दा धेरै एभोकाडो मेक्सिकोमा उत्पादन हुन्छ ।

यो समुद्री सतहबाट २ हजार ५ सय मिटरसम्म यसको खेती गर्न सकिन्छ । कृषि विज्ञहरूको भनाइअनुसार एभोकाडो अन्य फलफूलभन्दा स्वास्थ्यका लागि धेरै फाइदाजनक हुन्छ । यसमा पर्याप्त मात्रामा स्वास्थ्यका लागि लाभदायक फ्याट र कार्बोहाइड्रेट हुने भएकाले एभोकाडो खानुका थुप्रै फाइदा छन् ।

नेपालमा व्यावसायिक सोचका साथ एभोकाडोमा लागेकाहरूले पाखोबारी, कान्ला र खोला छेउमा समेत यसको बिरुवा हुर्काइरहेका छन् । पाखा, खोला बगर वा अरू काम नलाग्ने ठाउँमा एभोकाडो रोपेर किसानहरूले राम्रो आम्दानी लिन थालेका छन् । एभोकाडो नेपालका पहाड, तराई, खोंच, बेंसी, मध्य पहाड र भित्री मधेसमा फलाउन सकिन्छ ।

एभोकाडो रोपेको ३ देखि ४ वर्षभित्र फल दिन सुरु गर्छ । यसले फल दिन थालेको ५० वर्षसम्म एउटै बिरुवाले फल दिइरहन्छ । यसको उत्पादन माटोको पीएच ५.५ देखि ६ .५ भएको ठाउँमा राम्रो हुने कृषि विशेषज्ञ डा। मणिरत्न अर्याल बताउँछन् ।

डा.अर्यालको भनाइअनुसार एभोकाडो बिरुवा रोप्दा १० मिटरसम्मको दूरीमा रोप्नुपर्छ । रोपेको समयमा दिनको एकपटक पानी दिनुपर्छ । बिरुवा सरी सकेपछि साताको एकपटक पानी दिए हुन्छ र बिरुवा रोपेको तल तरकारी वा कोसे बाली रोप्दा माटोको उर्वरा शक्ति बढ्ने र थप उब्जनीसमेत लिन सकिने बताए ।

साउनदेखि मंसिरसम्ममा टिपिने यो फलको मुख्य सिजन भदौ हो । एभोकाडो रूखमै पाक्दैन । यसलाई रूखबाट टिपेर पकाउनुपर्ने हुन्छ । डा.अर्याल भने एभोकाडोका धेरै जातमध्ये हालसम्म नेपालमा एभोकाडोका १७ जात देखिएको बताउँछन् ।


ताजा खबर