६० वर्षको उमेरमा पनि मेलापात गर्छिन तेइस सन्तानकी आमा पाना बोहरा

तेइस सन्तान जन्माउनुहुने पाना बोहरा अहिले उमेरले ६० वर्षको हुनुहुन्छ । पाना बोहरा अहिले पनि ३० रोपनी खेतबारी र आधा दर्जन चौपाया पालेर घरधन्दाको ठूलै बोझ उठाइरहनुभएको छ । पानाको अनुहारमा देखिने चमक र शारीरिक फूर्ति देख्दा यो आम नेपाली महिलाले पत्याउने कथा होईन ।

१२ वर्षको उमेरमा विवाह भएर चौध वर्षको कलिलै उमेरमा पाना बोहरा गर्भवती हुनुभयो । गाईवस्तुसँगै गोठमा निस्वासिएर बस्दा पहिलो सन्तानको चार दिनमै मृत्युभयो ।
पन्ध्र वर्ष पुग्दा पाना बोहरा फेरि गर्भवती हुनुभयो । फेरि उही गोठको बास । दूध, हरियो साग र माछामासु खान त परै जावस् देख्नसमेत नपाइने । गोबरको गन्ध, चिसो भुईं । सङ्क्रमणले फेरि शिशुको मृत्यु भयो ।

दुर्गम गाउँकी पाना बोहराले यसरी वर्षैपिच्छे लगातार गोठमा २३ सन्तान जन्माउनुभयो । जन्मेकामध्ये १३ सन्तानको गोठमै मृत्यु भयो । अरु सबै जीवित छन् ।

यो कुनै चलचित्रको कथा होइन । बैतडीको डिलासैनी गाउँपालिका–१, कोटपेटरा सेला गाउँकी पाना बोहराको जीवनको वास्तविक कथा हो । कुनै कागजको पानाममा नलेखिएको पाना बोहराको यो कथाको साक्षीका रुपमा रहनुभएकी स्थानीय स्वास्थ्य चौकीमा २४ वर्षदेखि कार्यरत अनमी कौशा घरेडी ।

गोठमा सुत्केरी हुँदा १३ सन्तानको मृत्युको पीडा झेल्नुभएकी पाना बोहरा त्यसपछि बाँचेका सन्तानको रोचक कथा सुनाउनुहुन्छ । “ जन्मेका छोराछोरी एउटै नबाँचेपछि स्थानीय वैद्यको सहयोगमा जडिबुटी खान थालेपछि मात्रै पहिलो सन्तान बाँच्न सफल भयो, पानाले भन्नुभयो “त्यसपछि कोही बाँचे केही बाँचेनन् । बाँचेकामध्ये छ जना जीवितै छन् ।”
बाँचेका छ सन्तानमध्ये जेठी छोरी जोगेनी बोहरा, त्यसपछिका छोरा मानबहादुर, नवराज, माध र छोरी सारथि र सिरोपति जीवित छन् । सबै सन्तानको अहिले विवाह भइसकेको पाना बोहराले बताउनुभयो ।

बाँचेकी जेठी छोरीको नामै ‘जोगिनी’

जडीबुटी खाएपछि छोरी बचोस् भनेर गाउँघरमा जोगिमाता (सन्यासी)लाई छोरी एकछिनका लागि बेचेर पुनः निखनी ल्याउनुपर्छ भत्रे चलन रहेको पाना बोहराले सुनाउनुभयो । बोहरा दम्पतीले पनि त्यही मान्यताअनुसार पहिलो छोरी सन्यासीलाई केही घण्टाका लागि बेचे र पुनः किनेर ल्याए । त्यसैले पहिलो छोरीको नामै जोगेनी राखियो । ती जेठी छोरी जोगेनीको विवाह भएर अहिले छोरीसमेत जन्मिसके ।

“सन्तान जन्मदै मर्दै गरेपछि दार्चुला र बझाङका वैद्यले उपचार गर्नुहुन्छ भत्रे सुनेको थिएँ’, पानाका श्रीमान विरपल बोहरा भन्नुहुन्छ –“त्यसपछि एकदिनको बाटो हिँडेर बझाङ बुङ्गल पुगर वैद्य भेटे । वैद्यले जडीबुटी दिए । उक्त जडिबुटी मासुमा पकाएर खाने तरिका सिकाए ।”

सुत्केरी भएर बच्चा जन्मेपछि छोरा जन्मे बोकाको मासुमा र छोरी भए बाख्रीको मासुमा उक्त जडीबुटी मासुमा पकाएर दुवै श्रीमान श्रीमतीले खाने सल्लाह पाएको पाना बोहराका श्रीमान विरपलले बताउनुभयो । वैद्यले भनेजस्तै गरेपछि २०४२ को अन्त्यतिर जेठी छोरी जन्मिइन् र उनलाई बचाउन सफल भएको बोहराले बताउनुभयो ।

वैद्यले दिएको जडीबुटीबारे पाना बोहरा भन्नुहुन्छ, “ वैद्यले मन्साएर (मन्त्र गरेर) जडिबुटी दिए ।” उक्त जडीबुटी मासुमा मिलाएर पकाउँदा जति घिउ राखे पनि सुकेर जाने र मासु खाएपछि अलि अलि नसा लागेजस्तो भएर लट्ठ पनि पार्ने गरेको बोहरा दम्पती सुनाउँछन् ।

बच्चा जन्मेपछि दूध दहीजस्तो पोसिलो खाना नदिने परम्परा रहेकाले १३ वटा बच्चा जन्माउँदासम्म स्वास्थ्य स्थिति कमजोर बनेको र आफू आँखासमेत नदेख्ने भएको बताउँदै पाना बोहरा भन्नुहुन्छ, “गाउँमा उपचार गर्न आएका वैद्यले पोषिलो दही, दूध, घिउ, माछा, गेडागुडी सबै कुरा खाएपछि केही हुँदैन भनेपछि मेरो स्वास्थ्यमा सुधार आयो र छोरी पनि बाँचे ।”

त्यसपछि पानाको चार वटा गर्भ खेर गयो भने केही सन्तान जीवित रहे । सन्तान जन्मेपछि वैद्यले भने अनुसार मन्त्र गरेर दिएको जडिबुटीलाई मासुमा मिसाएर खाएपछि बोहरा दम्पतीले तीन छोरा र तीन छोरी बाँच्न सफल भएको बताएका छन् ।

२०६५ सालमा सबैभन्दा पछिल्लोपटक २३औँ सन्तान जन्माएपछि पानाको बच्चा पाउनेक्रम रोकिएको स्थानीय स्वास्थ्य चौकीकी अनमी कौशा घरेडीले बताउनुभयो । २०६७ सालदेखि पाना बोहराको महिनावारी रोकिएको छ । सुत्केरी व्यथा लाग्दा घरमै पुगेर सहयोग गरेको अनमी कौशा घरेडीले बताउनुभयो ।

सन्तान पाल्न कठोर परिश्रम नै पानाको सपना
पाना बोहरा अहिले ६० वर्ष पुग्नुभयो । ५० वर्षको उमेरसम्म २३ सन्तानलाई जन्म दिनुभयो । तेइसमध्ये बाँचेका छोराछोरी हुर्काउन खेतबारी खन्ने, गाईवस्तु पाल्ने र मेलापातमा कठोर परिश्रम गर्नु नै पाना बोहराले आफ्नो सपना ठान्नुभयो ।

तेइस जना सन्तान जन्माएर पनि पाना बोहरा अझै मेलापात गर्नुहुन्छ । पूर्णरूपमा स्वस्थ्य देखिने पानाले ५० वर्षको उमेरसम्म पनि बच्चा जन्माउनु विज्ञानका लागि चुनौतीपूर्ण खबर रहेको डिलासैनी गाउँपालिकाका स्वास्थ्य संयोजक नवराज जोशी बताउनुहुन्छ । सास्थ्य संयोजक जोशीले भन्नुभयो, “समान्यतया ४५ वर्षसम्म मात्रै महिलाले बच्चा जन्माउने भएपनि पाना बोहराले ५० वर्षसम्म बच्चा पाएको र ५४ वर्षसम्म महिनावारी भएको अचम्मको कुरा छ । ”

जडिबुटीले ठीक हुनसक्ने वैद्यको दाबी
जडिबुटीले बाँझोपन किठ पार्ने र शिशुको मृत्यु रोक्न सकिने बैतडीका चर्चित वैद्य भोजराज भट्टले दाबी गर्नुभयो । जिल्ला सदरमुकाममा लामोसमयदेखि जडीबुटीले बिरामीको उपचार गर्दै आइरहनुभएका वैद्य भट्टले भन्नुभयो, “ म कहाँ पनि आठवटा बच्चासम्म जन्माएर मृत्यु भएपछि आउने दम्पती छन् । उहाँहरूलाई गर्भ रहेदेखि नै जडीबुटी सेवन गर्न दिएर त्यसपछि सन्तान बाँचेका तमाम उदाहरण छन् । ” रासस


ताजा खबर