एक अर्ब भन्दा धेरैको शेयर कारोबार

चालु आर्थिक वर्षको अन्तिम दिन नेपाली शेयर बजारमा एक अर्ब रुपैयाँभन्दा धेरैको कारोबार भएको छ । बुधबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ ।

बुधबार १८९ वटा कम्पनीहरुका ३२ लाख १२ हजार कित्ता शेयर १ अर्ब १६ करोड रुपैयाँमा किनबेच भएका छन् । अघिल्लो दिन ९९ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएकोमा बुधबार कारोबार रकम करिब १६ करोड रुपैयाँले बढेको हो ।

बुधबार नेप्से परिसूचक १.११ प्रतिशत अर्थात १४.९० अंकले बढेर १३६२.३४ विन्दुमा पुगेको छ भने सेन्सेटिभ सूचक ४.०६ अंकले बढेर २८८.२४ विन्दुमा पुगेको छ । बुधबारको बजारमा बैंकिङ्ग समुहमा लगानीकर्ताको बढी आकर्षण देखिएको छ ।

यस दिन कारोबारमा आएका १२ समुहमध्ये ४ वटा समुहको सूचक नकारात्मक देखिएका छन् भने बाँकी ८ वटा समुहको सूचक सकारात्मक देखिएका छन । जसमध्ये बैंकिङ्ग उपसमुहको सूचक सबैभन्दा धेरै २.१६ प्रतिशतले बढेको छ ।

करोबारमा आएकामध्ये ७६ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने ७३ वटा कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै १५ वटा कम्पनीको शेयरमूल्यमा भने कुनै परिवर्तन भएको छैन । रासस


ताजा खबर