ठूलो पार्टीमा विवाद आउनु नौलो होइन, विभाजन हुन दिइने छैनः नेकपा अध्यक्ष दाहाल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी विभाजन हुन नदिइने बताउनुभएको छ । जिल्ला पार्टी कार्यालय चितवनमा आज कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले पार्टी एकतालाई अक्षुण्ण राखिने बताउनुभयो ।

कार्यकर्तालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “अहिले यता र उता दौडिनुभयो भने पछि पछुताउनुहोला ।” उहाँले सबैले पार्टी एकताका पक्षमा नारा लगाउनुपर्नेमा जोड दिनुभयो । आफू पार्टीमा देखिएका पछिल्ला सङ्कटबारे गम्भीर छलफलमा रहेको तथा हतारमा फुट्ने र फुर्सदमा पछुताउने अवस्था आउन नदिन आफू हदैसम्म लचकताका साथ लागिपरेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “ठूलो पार्टीमा विवाद आउनु नौलो होइन, विचार, विधि र जनवादी केन्द्रीयताका आधारमा एकताबद्ध हुने सैद्धान्तिक यथार्थलाई सम्पूर्ण कम्युनिष्ट पार्टीका कार्यकर्ताले मान्नैपर्छ ।” उहाँले पार्टीमा विवाद भएमा विधिबाट समाधान खोजिने बताउनुभयो । पार्टी र नेतालाई उक्साउने प्रवृत्तिका विरुद्ध खबरदारी गर्न उहाँले कर्ताकर्तालाई आग्रह गर्नुभयो ।

संविधान बनाउनेदेखि नाकाबन्दी, नयाँ नक्शा जारी गर्ने जस्ता कार्य सबै मिलेर गरिएको बताउँदै उहाँले भन्नुभयो, “कोही राष्ट्रवादी, कोही राष्ट्रघाती होइनौँ । सबै मिलेर गरेका छौँ ।”  रासस


ताजा खबर