काँग्रेसको १४ औँ महाधिवेशन फागुनमै हुने : तल्ला तहको अधिवेशन तालिका परिमार्जन

नेपाली कांग्रेसले पार्टीको १४औं महाधिवेशन पूर्वनिर्धारित मिति आगामी फागुन ७ देखि १० सम्म काठमाडौंमा नै गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा सोमबार बसेको केन्द्रीय समिति बैठकले महाधिवेशनको अन्तिम मिति कायमै राखेर अन्य तल्ला तहको अधिवेशन तालिका परिमार्जन गरेको हो ।

गएको १४ असारमा बसेको पदाधिकारी बैठकले तयार गरेको संशोधित कार्यतालिकालाई केन्द्रीय कार्य समिति बैठकले अनुमोदन गरेको हो ।

कांग्रेसले पार्टीको आन्तरिक संरचनाहरूको समायोजन १० साउनभित्र सक्ने निर्णय गरेको छ । र, १६ कात्तिकदेखि तल्लो तहको अधिवेशन सुरु गर्ने यसअघिको कार्यतालिकालाई संशोधन गर्दै कांग्रेसले पुसमा पुर्‍याएको छ ।

संशोधित कार्यतालिका अनुसार ८ पुसमा गाउँ-नगर, ११ पुसमा प्रदेशसभा, १३ पुसमा प्रतिनिधिसभा क्षेत्रका अधिवेशन गर्ने भएको छ। त्यसैगरी प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र एक मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको जिल्लाका अधिवेशन भने १३ पुसका लागि तय गरिएको कांग्रेसले जनाएको छ ।

एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको जिल्लाका अधिवेशन १६ पुस र प्रदेश अधिवेशन ६ माघमा हुने गरी कार्यतालिका परिमार्जन गरेको छ ।

विज्ञप्ति

 


ताजा खबर