नेकपाको बैठक सोमबारसम्मका लागि स्थगित

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक स्थगन भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको नेकपाको पाँचौँ बैठक यही असार २२ गते (आगामी सोमबार)सम्मका लागि स्थगन गरिएको नेकपाका प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिनुभयो ।

पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा देखिएको समस्या समाधान गर्न थप छलफल गर्नु परेकाले बैठक स्थगन गरिएको प्रचार विभाग उपप्रमुख थापाले बताउनुभयो ।

नेकपाको स्थायी कमिटी बैठक पार्टी एकता, सरकारको कामको समीक्षा, मिलेनियम च्यालेन्स कर्पोरेशन (एमसिसी) संविधान संशोधनलगायत विषयमा छलफल गर्नका लागि यही असार १० गतेदेखि जारी रहेको छ ।

बैठकमा ४५ स्थायी कमिटी सदस्य र पार्टीको निर्वाचन आयोग, अनुशासन आयोग र लेखा आयोगका अध्यक्ष ज्येष्ठ कम्युनिष्ट मञ्चका संयोजक र सल्लाहकार परिषद्का संयोजकसहित ५० जनाको सहभागी रहेको छ ।

बैठकमा अहिलेसम्म ३७ जनाले आआफ्नो धारणा राखिसक्नु भएको छ ।रासस


ताजा खबर