आगामी साता सेयर बजार खुल्ने अपेक्षा

बन्दाबन्दी सुरु भएदेखि नै करिब बन्द रहेको धितोपत्र दोस्रो बजारको कारोबार आगामी साताबाट सुचारु हुने सङ्केत देखिएको छ । धितोपत्र बोर्ड र लगानीकर्ताका विभिन्न सङ्घ सङ्गठनका प्रतिनिधिबीच शुक्रबार भएको सहमति अनुसार धितोपत्रको दोस्रो बजार सुचारु हुन लागेको हो ।

अहिले नेप्सेको अनलाइन कारोबार प्रणाली (नोट्स)मा सुधार भएको, बन्दाबन्दी केही खुकुलो भएका कारण युजर नेम र पासवर्ड लिन सहज भएको, तत्कालका लागि नेपाल क्लियरिङ हाउसको कनेक्ट आईपीएस सेवा वा उपयुक्त विद्युतीय माध्यम प्रयोग गर्ने, सीडीएस तथा क्लियरिङ लिमिटेडले तोकेका क्लियरिङ बैङ्कको इन्टरनेट बैङ्किङ सेवा तथा सीडीएस तथा क्लियरिङ लिमिटेडको मेरो सेयर सुविधा प्राप्त गरेपछि ग्राहकले घरबाटै खरिद बिक्री र रकम पनि प्राप्त गर्न सकिने अवस्था देखिएकाले बजार सुचारु गर्न सकिने भन्दै आगामी साताबाट सुचारु गर्ने सहमति भएको हो ।

नेपाल पुँजी बजार लगानीकर्ता सङ्घकी अध्यक्ष राधा पोखरेल भन्नुहुन्छ, आगामी आइतबार वा मङ्गलबारबाट बजार सुचारु होला भन्ने आशा गरेका छौँ । धितोपत्र बोर्ड पनि त्यस कुरामा सकारात्मक देखिएको छ ।

नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियार, सेयर लगानीकर्ता सङ्घ नेपालका अध्यक्ष उत्तर अर्याल, लगानीकर्ता दबाब समूहका अध्यक्ष तिलक कोइराला, नेपाल पुँजी बजार सङ्घका अध्यक्ष संरक्षणा चौधरी, सेयर लगानीकर्ता दबाब समूहका सचिव गोपाल स्वामीले संयुक्त रूपमा आगामी दिनमा कुनै पनि बहानामा धितोपत्रको दोस्रो बजार बन्द नगर्ने व्यवस्था मिलाउन लगानीकर्ता प्रतिबद्ध रहेको बताउनुभएको छ ।
बन्दाबन्दीको बीचमा एकपटक दुई दिनका लागि खुलेको बजार लगानीकर्ताबीच एकमत हुन नसकेका कारण पुनः बन्द भएको थियो । यो अवधिमा सेयर बिक्री गर्नेको चाप बढी परेको थियो ।

लामो समयसम्म सेयर बजार बन्द हुँदा लगानीकर्ता निकै अतालिएका थिए । यद्यपि लगानीकर्ता आगामी मौद्रिक नीतिले आफ्ना केही माग सम्बोधन गर्ला भन्ने अपेक्षामा बसेको अध्यक्ष पोखरेल बताउनुहुन्छ ।


ताजा खबर