यातायात कार्यालयमा सेवाग्राहीको भीड : सुरक्षा सतर्कता छैन

सरकारले कोभिड-१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि भीडभाडमा रोक लगाएको छ । तर, ललितपुरको एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयमा यो नियम लागू भएको देखिएको छैन ।

सवारी चालक अनुमति पत्र लिन र नवीकरण गर्न लाइनमा उभिनेहरूको शुक्रबार ठूलो भीड देखिन्थ्यो, कार्यालय हाताभित्र । विश्व स्वास्थ्य सङ्गठनले भनेको न्यूनतम सामाजिक दूरी त के, कसैलाई नछोई कार्यालय भित्र पस्न मुश्किल पर्ने देखिन्थ्यो ।

हुनत् कार्यालयभित्र प्रवेश गर्नेवित्तिकै सुरक्षा गार्ड स्यानिटाइजर लिएर बसेका त छन् तर बढ्दो भीडका कारण सबै हातमा स्यानिटाइजर लगाउन सम्भव देखिएको थिएन । सामाजिक दूरी कायम गराउनका लागि त्यहाँ रेखाङ्कन पनि गरिएको छ । तर, कसैले दूरी कायम गरेका छैनन् । अलिकति खाली ठाउँ राखे अर्कोले पालो मिच्ला भन्ने पीर सेवाग्राहीमा देखिन्थ्यो ।

अधिकाँश सेवाग्राहीले नाक र मुख छोप्ने गरी मास्क झुन्ड्याएका थिए । तर, सामाजिक दूरी कसैले कायम गरेका थिएनन् । कसैलाई कोरोना भएको रहेछ भने अरुलाई सर्न सक्ने जोखिम उत्तिकै छ ।

सरकारले असारको १ गतेबाट सबै सरकारी कार्यालय खुलाएसँगै यातायात कार्यालयमा सेवाग्राहीको भीड बढेको हो । अनुमतिपत्र नयाँ वा नवीकरण गर्न आउनेको सङ्ख्या बढीरहेको छ । सेवाग्राहीको भीडका कारण एकातिर सङ्क्रमणको जोखिम बढेको छ भने अर्कातिर कतिपय सेवाग्राही काम नगरी घर फर्कन बाध्य भएका छन् ।

सेवाग्राहीको अत्याधिक भीडभाडका कारण प्रहरीलाई भीड नियन्त्रण गर्न हम्मेहम्मे परेको छ । दैनिक झण्डै चार सय नयाँ चालक अनुमतिपत्र वितरण भइरहेको यातायात व्यवस्था कार्यालय, चालक अनुमतिपत्रले जनाएको छ ।

त्यस्तै, चालक अनुमतिपत्र नवीकरण गर्न आउनेको सङ्ख्या झण्डै दुई सयको हाराहारीमा छ । त्योभन्दा बढी सेवाग्राही आएपनि फर्किने गरेको कार्यालयको प्रमुख समरबहादुर कार्कीले बताउनुभयो । कार्यालयसँग यति नै सेवाग्राही फर्किए भन्ने यकिन तथ्याङ्क नभएपनि धेरै सेवाग्राही उसै फर्किएको देखिन्छ ।

कार्यालयले अहिलेसम्म दैनिक झण्डै छ सय अनुमतिपत्र वितरण गरिरहेकामा अझै झण्डै डेढ लाख अनुमतिपत्र वितरण गर्न बाँकी छ । यातायात व्यवस्था विभागले बन्दाबन्दीको समयमा समेत अनुमतिपत्र छपाई गरिरहेको थियो । गत पुस १५ सम्मको अनुमतिपत्र आइसकेको कार्यालयले जनाएको छ ।

गत वर्षहरुमा पनि आर्थिक वर्षको अन्तिम महिनामा कार्यालयमा सेवाग्राहीको भीड हुने गरेको थियो । चैतको ११ गतेदेखि जेठसम्म बन्दाबन्दीका कारण सरकारी कार्यालय बन्द रहेको र असार १ गतेबाट कार्यालय खुलेपछि सेवाग्राहीको भीड ह्वातै बढेको बताइएको छ । रासस


ताजा खबर