संसारकै शक्तिशाली नेता तथा चिनियाँ राष्ट्रपति सी पहिलोपटक नेपाल आउँदै / केहिबेरअघि भारतको चेन्नाइबाट नेपाल प्रस्थान

संसारकै शक्तिशाली व्यक्ति एवं चिनियाँ राष्ट्रपति सी चिनफिङ शनिबार अपरान्ह काठमाडौं आइपुग्दैछन्। उत्तरी छिमेकी चीनका सर्वोच्च नेता सी अमेरिकी बिजनेस म्यागेजिन ‘फोर्ब्स’ले सन् २०१८ मा प्रकाशित गरेको संसारकै शक्तिशाली व्यक्तिको सूचीमा पहिलो स्थानमा थिए।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई पछि पार्दै सी फोर्ब्सको यो सूचीमा अग्रस्थानमा आएका थिए। फोर्ब्सको यो सूचीमा पहिलो स्थानमा रहेका कुनै पनि नेताले अहिलेसम्म नेपालको भ्रमण गरेका छैनन्।

चिनियाँ राष्ट्रपतिको कार्यकाल ५ वर्षे हुने भए पनि गत मार्चमा संविधान संशोधन गर्दै उनको कार्यकालको सीमा नै हटाइएको छ। अब सी चाहेको दिनसम्म चीनको नेतृत्व गर्नसक्ने अवस्थामा छन्। सी चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी)का महासचिव तथा सेन्ट्रल मिलिटरी कमिसनका अध्यक्ष पनि हुन्।

६६ वर्षीय चिनियाँ राष्ट्रपति सन् १९५३ मा जन्मिएका हुन्। सी अहिले संसारकै सबैभन्दा धेरै जनसंख्या भएको मुलुकको नेतृत्व गरिरहेका छन्। जुन देश संसारको दोस्रो ठूलो अर्थतन्त्र भएको मुलुक समेत हो। विश्व व्यापारमा सबैभन्दा ठूलो पकड भएको चीनका राष्ट्रपति २३ वर्षको अन्तरालमा काठमाडौं आउन लागेका हुन्।

तत्कालीन चिनियाँ राष्ट्रपति जियाङ जमिनले नेपाल भ्रमण गर्दा विश्व परिवेशमा चीनको अवस्था अहिलेको जस्तो थिएन। ‘२३ वर्षअघि र अहिले चीनको अवस्थामा आकाश-जमिनको फरक छ,’ राजनीतिक अर्थशास्त्री डा कल्याण रोका भन्छन्, ‘अहिले चीन विश्व व्यापारको नेतृत्व गरिरहेको छ, त्यतिबेला र अहिलेको अवस्थामा तुलना नै हुँदैन।’

सन् १९७८ मा चीनले लिएको खुलापनको नीतिलाई थप व्याख्या गर्दै सीले निजी क्षेत्र र लगानीमैत्री सुधारका काम अघि बढाएका छन्। जसले चीन विश्वको एउटा प्रमुख लगानी गन्तव्य मुलुकका रुपमा अघि बढिरहेको छ।


ताजा खबर