‘रोजगारी सिर्जना बजेटको मूल प्राथमिकता’ : अर्थमन्त्री

अर्थमन्त्री डा. युवराज खतिवडाले वर्तमान बजेटलाई ठूलो रोजगारी सिर्जना गर्ने दिशामा लक्षित गरिएको बताउनुभएको छ । बिहीबार संसदमा पेश भएको आर्थिक वर्ष २०७७/०७८ को बजेटबारे जानकारी दिन सञ्चार तथा सुचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा खतिवडाले रोजगारी सिर्जना गर्नु बजेटको मूल प्राथमिकता भएको र त्यसका लागि वस्तुवादी ढङ्गले अघि बढेको बताउनुभएको छ ।

डा. खतिवडाका अनुसार रोजगारीको लागि सरकारले तीन तरिकाले प्राथमिकतामा निर्धारण गरेकाे छ । “पहिलो, स्वदेशी श्रमबजारबाटे रोजगारी गुमाउने, दोश्रो विदेशबाट रोजगारी गुमाएर आउने र तेश्रो अवसरको हिसाले हेरेका छौँ,” उहाँले भन्नुभयो, “विदेशी श्रमिकले नेपालभित्र यसअघि गरिरहेको श्रममा नेपालीलाई जोडेर मात्रै चार-पाँच लाख रोजगारी सिर्जना गर्न सकिने अवस्था छ ।”

सरकारले यसका लागि सरकारले प्लम्बिङ, डकर्मीजस्ता सीपयुक्त तालिम कार्यस्थलमै दिने योजना बनाएको जानकारी उहाँले दिनुभयो । “बेरोजगार जनशक्तिलाई कार्यस्थलमै तालिम (ओजेटी) दिलाउने र सम्बन्धित प्रतिष्ठानले त्यस्ता श्रमिकलाई कम्तीमा  दुई वर्षसम्म न्युनतम काममा लगाउने छन्,” मन्त्री खतिवडाले भन्नुभयो, “यसका लागि तीन महिना न्युनतम तलबको ५० प्रतिशत सरकारले व्यहोरेर जाने भनेका हौँ ।” त्यसबाहेक सबै मन्त्रालयका कार्यक्रमहरूमा पनि कहाँ, कसरी रोजगारीमा केन्द्रित गर्न सकिन्छ भनेर बजेट निर्माणका क्रममा  हेरेको उहाँको भनाइ थियो ।

बजेटले व्यवस्था गरेको उद्यमी व्यवसायीलाई पुनर्कर्जा, स्वरोजगार कर्जा, कृषिमा बिमाजस्ता व्यवस्थाले पनि रोजगारी तथा स्वरोजगारीलाई प्रर्वद्धन गर्ने उहाँको भनाइ थियो ।


ताजा खबर