१०१ बर्षका तन्नेरी हुन राष्ट्रकवि माधब घिमिरे

गाली गर्दैन सारङ्गी, झुटो बोल्दैन बाँसुरी

छ संगित तिमिभित्रै,मीठो बोल सधैंभरी ।

औंला भाँचेर हिसाब–किताब गर्ने हो भने, राष्ट्रकवि माधव घिमिरे १ सय १ बर्ष पुगे । उमेरले सय बर्ष पार गर्नु भनेको दोब्बर आयु बाँच्नु हो । किनभने नेपालीको औषत आयु ७२ बर्ष । यो उमेर छिचोलेर पनि उनी धेरै पर पुगिसके ।

सामान्यत यत्तिका उमेर पुरा गरिसक्दा मान्छेको शरीरले साथ दिन छाड्छ । इन्द्रियहरु कमजोर र शिथिल हुँदै जान्छ । स्मरणशक्ति हराउँदै जान्छ । अक्सर मान्छे ओछ्यान पर्छन् । हिँडडुल गर्न त के, ठाडो उँभिन समेत सक्दैनन् ।

तर, अपवाद हुन् राष्ट्रकवि घिमिरे ।

उनी १ सय १ बर्ष बाँचेका मात्र छैनन् । यत्तिका उमेरमा तन्दुरुस्त पनि छन् । उनी उसैगरी बोल्छन्, उसैगरी ख्यालठट्टा गर्छन्, उसैगरी साहित्य रचना गर्छन् । अर्थात उनलाई बुढ्यौलीले गाँजेकै छैन ।

हिँडडुल गर्नका लागि चाहि उनलाई साथी चाहिन्छ । तर, उनलाई भेटेपछि बच्चा होस् या त बुढेशकाल लागेका मानिस नै समेत उनकै कुरामा डुब्न थाल्छ । उमेर अनुसारको कुरा गरेर आफूतर्फ आकर्षित गर्ने कला छ कवि घिमिरेमा ।

रुचीपूर्वक खानपान

यत्तिका उमेरमा पनि उनलाई खाना नरुच्ने भन्ने हुँदैन । उनी खान हुने कुराहरु मन लगाएर खाने गर्दछन् । तर, उनको नियमित खाना भने एकै किसिमको रहेको छ । नियमिति खानाको रुपमा के खानु हुन्छ ? भन्ने हाम्रो प्रश्नमा उनी भन्छन्, ‘मेरी छोरी अमेरिकाको हार्वार्ड विश्वविद्यालयमा पढेर चिकित्सक बनेकी छिन्, जसका कारण उनले खानामा विशेष गरेर शरीरलाई के आवश्यक पर्छ भनेर ध्यान दिने गर्छिन् । सोही अनुसार खाना खान कर गर्छिन् । त्यसकारण खानामा मेरो अलिक बढी नै ध्यान जाने गरेको छ । मासुको झोलसँग दालपनि अलिकति र भात नियमित खान्छु । बिहान ८ बजेतिर खाजा खाने गरेको छु । दिउँसो ११ बजेतिर खाना नै खान्छु । साँझ ४/५ बजेतिर सामान्य खाजा खान्छु र साँझ ७/८ बजेतिर खाना खाने गरेको छु ।’

निदाउन केही समस्या

एकताका उनलाई निद्रा नलाग्ने समस्याले सताएको थियो । सुतेपछि निदाउनकै लागि उनले ठूलो संघर्ष गर्नुपरेको थियो । उनी त्यसको स्मरण गर्दै भन्छन् ‘दायाँ कोल्टिएर सुत्यो त्यतै दुख्छ, बायाँ कोल्टियो त्यतै दुख्छ । उत्तानो परेर सुत्यो त्यतै दुख्छ । माछो जस्तै जीवन भएको थियो ।’

कहिलेकाहीँ ३ बजेपछि बल्ल निद्रा लाग्ने गरेको उनी सुनाउँछन् । पछिल्ला केहीदिनदेखि उनलाई त्यो समस्याले सताउने गरेको छैन । पहिलेजस्तै उनी अहिले राति ११ बजे सुत्छन्, बिहान साढे ६ बजेतिर उठ्छन् ।

थोते भएका छैनन्

घिमिरेको जवानी उमेरको दाँत अझै झरिसकेको छैन । उनको आधाभन्दा धेरै दाँत छ । आफ्नो दाँत साह्रो कुरा पनि चपाउन सक्ने मजबुत रहेको उनी बताउँछन् । पहिले सबै सकिएको टाउकोको कपाल अहिले भरिभराऊ भएको छ ।

उनी भन्छन्, ‘मेरो दाँत त अझै पनि आधा जति बाँकी नै छ । झरेको नै थिएन । कपाल पनि अहिले हराभरा भएको छ । म त एक हिसाबलेभन्दा झनै तन्नेरी बन्दै गएको छु । अहिले त हात र स्वर काप्ने समस्या पनि हराएको छ । मलाई नै अचम्म लाग्दै छ, कसरी यस्तो भयो भनेर ।’

एक्लोपनले सताउँदैन

घिमिरेलाई एक्लोपनले सताउने गरेको छैन । कोही मान्छे भएनन् भने रुखको पात हल्लिएको देखेर पनि दिन बिताईदिने क्षमता उनीसँग छ । उनी साहित्यकारको त्यति खुबी सबैसँग हुनुपर्ने बताउँछन् ।

अहिले उनलाई मृत्युदेखि डर लाग्न छाडिसकेको छ । उनी आफ्नी पूर्वपत्नी गौरीलाई गुमाएको समयमा निकै भावनामा डुब्ने गर्दथे । त्यतिबेला उनलाई मृत्युदेखि डर पनि निकै लाग्ने गर्दथ्यो । गौरीलाई जलाएको घाटको बाटो हिँड्न पनि उनलाई दिउँसै डर लाग्ने गरेको थियो । तर, उनलाई अहिले मृत्युसँग केही डर छैन । उनी बुढेशकाल लागेपछि भावना भन्दा दर्शन बढी फुर्ने गरेको सुनाउँछन् । त्यसैले पनि जन्म र मृत्यु शाश्वत सत्य हो भनेर मृत्युसँग डराउन छाडेका हुन् ।

साहित्य रचनामा सक्रिय

घिमिरे अहिलेका साहित्यकारहरुको खासै कविता पढ्दैनन् । उनलाई गद्य कविताले खासै मन तान्दैन । त्यसैले गद्य कविता त उनी पहिलेको पनि पढ्दैनन् । उनी भन्छन्, ‘त्यस्तो मन छुने कविता मैले पाएकै छैन । मलाई अहिलेको पनि गजल र चतुस्पदी चाहिँ अलिक मन पर्छ । तर, कविता कथा जस्ता लाग्छन् ।’

उनको बुझाईमा अहिले पनि प्रतिभाशाली कवि नभएका होईनन् । तर, आफूलाई सहयोग गर्नेहरुको गुनगानमा मात्रै धेरै समय खर्च गर्ने र साहित्य सिर्जनालाई कम समय दिने गरेकोले पनि अहिलेका सिर्जना कमजोर बन्दै गएको उनको बुझाई छ ।

घिमिरेको नजरमा केही कथा कहानीहरु अन्तराष्ट्रमा लैजाने खालका पनि नआएका होईनन् । तर, कवितामा भने त्यस्ता प्रतिभा निस्किन नसकेकोमा उनी चिन्तित छन् । देवकोटा र लेखनाथ जस्ता कोही भएनन् भन्ने उनलाई चिन्ता छ । घिमिरेले सबैभन्दा धेरै पढेको किताब नेपालीमा मुनामदन र संस्कृतमा शकुन्तला हो ।

सपनाको कुरा

घिमिरेले राति सपनामा गर्न नसकेको कामहरु पूरा गरेको देख्ने गरेका छन् । उनले धेरै दिन सपनामा ऋतम्भरा महाकाव्य पूरा गरेको देखे । कति सपनाहरु त बिहान उठ्दा बिर्सिइसकेका हुन्छन् । अहिले उनको स्वास्थ्य पनि अनुकूल भएकोले विगत एक सातादेखि ऋतम्भरालाई पूरा गर्न कम्मर कसेर लागिपरेका छन् । उनले अनलाईनखबरसँग भने ‘मेरो अब पारिवारिक मोह केही पनि छैन । बस् ! यही एउटा सुरुगरेको काव्य पूरा गर्न पाए हुन्थ्यो जस्तो लाग्छ ।’


ताजा खबर