रामेछापमा किवी खेतीबाट वर्षमा २० लाख आम्दानी

जिल्लाको दोरम्बा, गोकुलगंगा, उमाकुण्ड, सुनापति लगायतका गाउँपालिकामा किवीको व्यवसायिक उत्पादन सुरु भएको छ ।

रामेछापको दोरम्बा गाउँपालिकाका श्याम थापा मगर, तथा राङ्दान तामाङ लगायतले व्यवसायी रुपमा ठूला परिमाणमा किवीको खेती गरेका छन् । आपूmले करिब एक सय रोपनी जमिनमा किवी खेती लगाएको तामाङ बताउँछन् ।

उनले किवीको फल तथा विरुवाबाट वार्षिक २० लाख रुपैयाँ भन्दा बढी आम्दानी गर्ने गरेका छन् । किवीको विरुवा प्रतिगोटा २ सयदेखि ३ सय रुपैयाँसम्म र किवीको दाना प्रतिकिलो ३ सयदेखि ६ सय रुपैयाँसम्म बिक्रि हुने गरेको उनले बताए । यस वर्ष पनि किवीको फल बिक्री गर्ने बेला हुन लागेको उनले बताए ।

जिल्लाको गोकुलगंगा गाउँपालिकाले गाउँपालिकाको कार्यक्रममा नै कृषिलाई प्राथमिकतामा राखी किवीको पकेट क्षेत्र सञ्चालनमा ल्याएको छ । एक पटक लगाएपछि लामो समयसम्म उत्पादन दिने र राम्रो आम्दानी दिने फल भएकोले किवीलाई प्राथमिकतामा राखेर खेती लगाउन कृषकहरुलाई प्रोत्साहित गरिएको सो गाउँपालिका अध्यक्ष खड्ग सनुवारले बताए ।

उनले आफैंले पनि किवीको व्यवसायिक खेती गरेको र त्यसले उत्पादन दिन सुरु गरेको बताए । एकै पटक ठूलो परिमाणमा किवी उत्पादन हुने भएकोले अब स्थानीय बजारले धान्ने अवस्था नभएको उनले बताए । गोकुलगंगामा उत्पादन हुने किवीको लागि अब ठूलै बजार खोज्नुपर्ने अवस्था आएको सुनुवारले बताए ।

किवी ठेकी आकारको फल हो, जो लहरा जस्तो बोटमा झुण्डिएर फल्छ । त्यसैले यसलाई ठेकी फल पनि भन्ने गरिन्छ । यो निकै पोषिलो र औषधीय गुण समेत भएको फल मानिन्छ । किवी नियमित खानाले पाचन प्रणाली ठीक हुने, मधुमेह नियन्त्रण हुने, भिटामिन सीको कमी पुर्ति गर्ने लगायतका फाइदा हुने बताइन्छ ।

‘फलहरुको राजा’ र ‘द सुप्रिम फ्रुट’ को उपाधि पाएको यो फल नेपालको लागि निकै नयाँ र आयमूलक फल हो । एक रोपनी जमिनमा १५ वटा सम्म किवी फलको विरुवा लगाउन सकिन्छ । विरुवा लगाएको पहिलो वर्ष २ पटक मल र ४–५ पटक गोडमेल गरेर पुग्ने यो फल ताजा फलफूलमध्ये विश्वकै नयाँ र महँगो फल पनि हो ।

ताजा फलको रुपमा र जुस, जाम, वाइन, जेल्ली, आइसक्रिम, केक, बिस्कुट र अरु धेरै परिकार बनाइ यसलाई सेवन गर्न सकिन्छ । बिरुवा लगाएको २–३ बर्षदेखि उत्पादन दिने किवीको बिरुवाले ४० देखि ६० बर्षसम्म निरन्तर उत्पादन दिने गर्दछ । वयस्क भएपछि एउटै बिरुवाले ५० देखि १०० किलोसम्म फल दिने किसानहरु बताउँछन् ।

यो फल जिल्लाको १ हजार २ सयदेखि २ हजार ४ सय मिटरसम्मको उचाइमा हुने गरेको छ । गर्मीको समयमा ३५ डिग्री सेल्सियसभन्दा बढी तापक्रम नभएको र चिसोमा बाक्लो तुषारो नपर्ने वातावरणमा किवी राम्रो फस्टाएको छ । हिउँदमा पात झर्ने भएकोले हिउँ पर्दा किवीलाई खासै असर नपर्ने कृषि विज्ञहरु बताउँछन् ।


ताजा खबर