विश्वकप छनोट : नेपाल अस्ट्रेलियासँग ५-० ले पराजित

विश्वकप छनोटको दोस्रो चरण अन्तर्गतको समूह ‘बी’ को नेपाल र अस्ट्रेलियाबीचको खेलमा नेपाल ५-० ले पराजित भएकोे छ। जियो स्टेडियम क्यानबेरामा भएको खेलमा अस्ट्रेलियाले पहिलो हाफमा ३ गोल र दोस्रो हाफमा २ गोल गर्दै जित सुनिश्चित गरेको हो। अस्ट्रेलियाका लागि म्याकलरेन ३ गाेल र सौटरले २ गोल गरे।

खेलको सुरुदेखि नै निकै दबाव बनाएको अस्ट्रेलियाका लागि खेलको छैटौं मिनेटमै म्याकलरेनले गोल गर्दै अस्ट्रेलियालाई अग्रता दिलाएका थिए। फेरि १९ औं मिनेटमा म्याकलरेनले नै गोल गर्दै अस्ट्रेलियालाई २-० को अग्रता दिलाए।  खेलको २३ औं मिनेटमा अस्ट्रेलियाका राष्ट्रिय टिमबाट डेभ्यु गरेका सौटरले गोल गर्दै अस्ट्रेलियालाई ३-० को सहज स्थितिमा पुर्‍याए। पहिलो हाफको थप समयमा लेइकिले  नेपालको गोलपोस्टमा प्रहार गरे पनि रेफ्रीले त्यसलाई अफसाइड करार दिँदा पहिलो हाफमा अस्ट्रेलिया ३-० ले अगाडि रह्यो।

दोस्रो हाफमा पनि अस्ट्रेलियाले नेपाललाई दवाबमा राख्यो। ५९ औं मिनेटमा सौटरले ब्यक्तिगत दोस्रो गोल गर्दै अस्ट्रेलियालाई ४ गोलको अग्रता दिलाए। त्यस्तै, ९० औं मिनेटमा म्याकलरेनले व्यक्तिगत दोस्रो गोल गर्दा अस्ट्रलियाले ५-० को सहज जित हात पार्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लन सफल भयो।

आजको खेलको अधिकांश समय अस्ट्रेलिया खेलमा हावि भएको थियो। खेलमा ७४ प्रतिशत समय अस्ट्रलियाले बल नियन्त्रणमा राखेको थियो भने नेपालको पोस्टमा ३५ वटा प्रहार गरेको थियो। यता २६ प्रतिशत समय मात्र बल नियन्त्रणमा राखेको नेपालले एउटा मात्र गर्न सकेको थियोे। त्यस्तै अस्ट्रेलियाले ८७ पटक आक्रमण गर्दा नेपालले १४ पटक आक्रमण गरेको थियो।

नेपाल माथि जित निकालेसँग अस्ट्रेलिया ग्रुप बी को शीर्ष स्थानमा उक्लिएको छ। समूहमा २ खेल खेलेको अस्ट्रेलियाले दुवै खेलमा जित निकल्दै ६ अंक सहित तालिकाको शीर्ष स्थानमा प्रवेश गरेको हो। त्यस्तै तालिकाको दोस्रो स्थानमा २ खेल खेलेर १ जित र १ पराजय भोगेको कुवेत छ। तेस्रो स्थानमा १ खेलेर जित निकालेको जोर्डन छ भने ३ खेल खेलेर १ जित तथा २ पराजय भोगेको नेपाल चौथो स्थानमा छ। तालिकाको पुछारमा २ खेल खेलेर पराजित भएको चाइनिज ताइपेइ अंकविहीन बन्दै तालिकाको पुछारमा छ।  

जियो स्टेडियम क्यानभेरा प्रतियाेगिता हेर्न नेपाली समर्थकहरुकाे उल्लेखनिय उपस्थिति थियाे।


ताजा खबर