‘युट्युबरका आ-आफ्ना कथा-व्यथा’

अस्ट्रेलियामा दिउँसो बैङ्कको जागिर खान्थेँ । बिहान–बेलुका घण्टाको ३० डलर पाइने काम पनि गर्थें तर त्यहाँ मन रमाउन सकेन । यी सब छाडेर ड्रोन, तीनवटा क्यामेरा र लाइभ स्ट्रिमका सामग्री बोकेर नेपाल फर्किएँ ।’
युट्युबर राजु सुवेदीले आफ्नो युट्युब च्यानल सुरु गर्दाका क्षण सम्झँदै भन्नुभयो, अस्ट्रेलियामा युट्युबले निकै चर्चा बटुलेको देखेँ । अनि नेपालमा पनि युट्युबबाट सूचना सम्प्रेषण गर्न सकिन्छ भन्ने लाग्यो । पत्रकार सुकदेव चापागाईंले टीभी अन्नपूर्ण अनलाइन दर्ता गर्नुभएको रहेछ । सन् २०१२ मा त्यही किनेर ‘बाइङ’मार्फत चलाउन थालेँ तर सोचेजस्तो भएन । इन्टरनेटको क्षमता कम थियो । दुई मिनेटको भिडियो अपलोड गर्न दुई घण्टा लाग्थ्यो । पैसाको पनि अभाव भयो । फेरि अस्ट्रेलिया गएँ ।’
सुवेदीको रहर त्यसै खेर गयो तर हिम्मत आफ्नै त हो नि ।
‘अस्ट्रेलियामा केही समय काम गरेँ । २०१४ को अगस्टमा फेरि नेपाल फर्कें । त्यसपछि ठूलो लगानी गरेर ‘पेइङ गेस्ट’ र ‘बाइङ गेस्ट’मा एकैपटक युट्युब च्यानल चलाएँ ।’ सुवेदी थप्नुहुन्छ, बाइङमा प्रत्यक्ष प्रसारण हुन्छ । एकैपटक पाँच हजार जनाले हेर्छन् तर महिनाको २२ हजार रुपियाँ तिर्नुपर्छ । पहिले त ६५ हजार रुपियाँ तिर्नुपथ्र्याे । यसमा राखेबापत प्रतिलिपि अधिकार लाग्दैन । चौबिसै घण्टा प्रत्यक्ष प्रसारण हुन्छ, टेलिभिजनले गरेजस्तै । पेइङमा भने युट्युबको भिडियो ‘भ्यु’अनुसार सिङ्गापुरबाट डलर आम्दानी हुन्छ ।
हो त, परिश्रमको फल मीठो हुन्छ । सुवेदी अहिले मासिक दुई सयदेखि सात सय अमेरिकी डलर कमाइ हुने बताउनुहुन्छ । टीभी अन्नपूर्ण डट कममार्फत सूचना विभागमा दर्ता भएरै चलाएका हौँ । टीभी अन्नपूर्णमार्फत भिडियो हाल्छौँ । कोरोना महामारीले आम्दानी घटे पनि दशैँका बेला युट्युबबाट आएको पैसाले साथीहरूलाई बाँड्न पुग्छ भन्नेमा ढुक्क छौँ । पाँच÷सात लाख रुपियाँ त जगेडा पनि छ ।
यसलाई व्यावसायिक बनाएर लैजाने अठोट त छ तर यो सफलताका बीच पनि युट्युबरलाई मूलधारको पत्रकारिताले नस्वीकारेको तीतो अनुभव चाहिँ उहाँसँग छ ।
राजु सुवेदीको जस्तै युट्युबरका आ–आफ्ना कथा–व्यथा छन् । दुःख गरेर यहाँसम्म आइपुग्दा भोगेका पीडाभन्दा मानिसले चिन्दा आनन्द लाग्ने गरेको बताउनुहुन्छ सुनौलो नेपाल टीभी सञ्चालक महाराज शर्मा । गाउँतिर जाँदा पनि चिन्छन्, खुसी लाग्छ भन्दै उहाँ आफ्नो कथा सुनाउनुहुन्छ, २०७३ सालमा दर्ता भयो । दुई वर्ष डट कम चल्यो । गत दुई वर्षदेखि युट्युब चलाउन थाल्यौँ । युट्युबको भने बढी चर्चा भएको छ ।
व्यावसायिक भएर काम गर्नेलाई यस क्षेत्रमा समस्या पनि छ । अस्वस्थ प्रतिस्पर्धा छ । ‘भ्युज’का लागि जे पनि प्रसारण गरिदिनाले हामीमाथि नै प्रश्न उठेको छ । साना–साना कुरालाई पनि मसला बनाउनाले आकर्षण घट्न थालेको हो कि भन्ने पनि उहाँलाई लागेको छ ।
युट्युबर बन्ने रहर धेरैलाई छ । ‘पाँच–छ वर्ष दुबईमा बस्दा गजल सङ्ग्रह निकालियो । भूकम्पको बेला दुबईमा कार्यक्रम गरेर प्रधानमन्त्री राहत कोषमा ४४ लाख रुपियाँ पनि दियौँ । त्यतिबेलै कलाकारसँग नजिक भइयो । धुर्मुस–सुन्तलीहरूसँग अन्तर्वार्ता पनि लिइयो । त्यसपछि युट्युबमा आफ्ना कामलाई राख्ने रहर जाग्दाजाग्दै यतै आइयो, महाराजको भनाइ छ ।
‘हामी पनि विश्वसनीय छौँ । राष्ट्रिय सञ्चारमाध्यमले नउठाएका विषय उठाएका छौँ । हामीले उठाएका कतिपय विषयलाई राष्ट्रिय सञ्चारमाध्यमले पछ्याएका पनि छन् । जस्तो एनसेलको मुद्दा हामीले उठाउँदा जताततै हेरियो ।’ आफ्नो पेसाप्रतिको व्यावसायिकताबारे शर्माले भन्नुभयो, ‘हाम्रो उपस्थितिले टेलिभिजनलाई भने धक्का पुगेको छ । उनीहरूको ‘भ्यु’ (दर्शक) कम भएको छ । कतिपय टेलिभिजनले युट्युबको शैली पछ्याउन थालेका छन् । स्रोत उल्लेख गरेर कतिपय टेलिभिजनमा हामीले उठाएका विषय प्रसारण पनि भइरहेका छन् ।’
‘तर युट्युबे भन्दा चित्त दुख्छ ।’ महाराज भन्नुहुन्छ,
‘हाम्रा कमजोरी पनि छन् । सुधार गर्नुपर्छ । हामी युट्युब चलाउने भएकाले युट्युबर हौँ तर कुनै ‘इस्यु’मा हामी जाँदा युट्युबे हुन्छौँ । त्यही ‘इस्यु’ (विषय) राष्ट्रिय टेलिभिजनले प्रसारण गरे चर्चित हुन्छ ।’
एपी न्युज यात्रा डट कमका सञ्चालक रोहित भण्डारी भने सबै टेलिभिजन सञ्चालक युट्युबर भएको दाबी गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘जुनसुकै टीभीका मालिक टीभी मात्र देखाउँछु भनेर बसेका छैनन् । समय अनुसार सबैले युट्युबमै आफ्ना सामग्री हाल्न थालेका छन् । अब उनीहरूलाई युट्युबर भन्ने कि नभन्ने ? ठूलाले जे गरे पनि हुने सानालाई गाली गर्ने शैली मिलेन । हामी सबै एउटै हौँ । राम्रा सामग्री हुँदा पनि हेर्ने दृष्टिकोण फरक छ । बिनादर्ता भिडियो राख्नेका कारण बदनाम भइरहेको छ । यसतर्पm राज्यको नियमन आवश्यक छ ।’
युट्युब चलाउनेलाई ‘डलरे’ भनेको सुन्दा भण्डारीलाई खुब रिस उठ्छ । ‘जनता सूचनाबाट बेखबर भए भनेर कसैले पनि पत्रिका चलाएका छैनन् । युट्युबलाई माथ खुवाउने गरी मूलधारका टेलिभिजनले पनि आफ्ना सामग्री युट्युबमा हालिरहेका छन् । के तिनीहरूले कर तिरिरहेका छन् त ?’
नेपालमा युट्युबरको सङ्ख्या धेरै छ । तर धेरैजसोको सम्पर्क ठेगाना पनि हुँदैन । युट्युबर भोजराज थापा भने सम्पर्कमा आएर पनि बोल्न चाहनु भएन । उहाँले भन्नुभयो, ‘एक वर्ष मात्र भएको छ । धेरै गर्न बाँकी छ । ‘सिनियर’हरूसँग कुरा गर्नुस् न ।’
क्यानडा नेपाल टीभीका सञ्चालक रौनक निरौलाले औपचारिक रूपमा पत्रकारिताको शिक्षा लिनुभएको छैन । तर निरन्तरको अभ्यासले यसमा छ वर्षदेखि लागिरहनुभएको छ । भन्नुहुन्छ, ‘मनोरञ्जनमा आधारित सामग्री युट्युबमा राख्ने गरे पनि केपी शर्मा ओली पहिलोपटक प्रधानमन्त्री हुँदा दिनुभएको भाषण उहाँको च्यानलले नियमितजसो प्रसारण ग¥यो । लोकप्रिय पनि भयो । त्यस्तै विदेशमा बसेका नेपालीको समस्या बारेको कार्यक्रम पनि प्रख्यात भयो ।’
निरौलालाई पनि ‘युट्युबे’ र ‘डलरे’ भनेर बोलाइदिँदा चित्त दुख्छ । भन्नुहुन्छ, डलरे भनेर बोलाउँछन् । कमाइ त डलरमा नै हो । युट्युबे पनि हो तर वर्गीकरण नभएकाले यस्तो समस्या भोग्नुपरेको हो ।’ व्यावसायिक र अव्यावसायिक छुट्टिएपछि यस्तो समस्या भोग्नु नपर्ने आश छ ।

युट्युब वैकल्पिक माध्यम
त्रिभुवन विश्वविद्यालय, समाजशास्त्रका उपप्राध्यापक दीपेश घिमिरे युट्युबर र फेसबुकले कैयौँ समाचार ‘ब्रेक’ गरेको बताउनुहुन्छ । उहाँका अनुसार वैकल्पिक विधाका मिडियाले अमेरिकामा जर्ज फ्लोयड घटनाको भिडियो राखेपछि बल्ल मूलधारका सञ्चारमाध्यमले पछ्याएका थिए । त्यहाँ गरिब परिवारका बारेमा एक युट्युबले भिडियो राख्यो । त्यो लाखौँले हेरे । उक्त परिवारले दुई लाख डलर सहयोग पायो । नेपालमा यति गहिरिएर युट्युबरले युट्युबमा भिडियो राखेको पाइँदैन । दर्शक जेबाट बढ्छ, त्यस्तै सामग्री राख्ने प्रचलनको होड चलेको छ ।
हामीले जसलाई आम सञ्चारमाध्यम भन्छौँ, तिनीहरूले कल्याणकारी सामग्रीमा धेरै चासो दिएनन् । उदाहरणका लागि कुनै हराएको बच्चा भेटियो भने
‘बच्चा भेटियो’ भन्ने बाहेक अरू भित्री तहका समाचार त्यस्ता सञ्चारमाध्यमले बनाउँदैनन् । युट्युबरले चलचित्रको शैलीमा सबै कथाव्यथा देखाउँछन् । अर्को कुरा कुनै पनि जनचासोका विषय सञ्चारमाध्यममा आएपछि त्यसलाई पछ्याउने काम मूलधारका सञ्चारमाध्यमले गर्दैनन् । एकपटक देखायो, सकियो तर भित्री तहमा पुग्ने काम युट्युबले गर्दै आएको छ । यसर्थ यसलाई बन्द नगरी व्यवस्थित गर्न सुझाव दिनुहुन्छ उपप्राध्यापक घिमिरे ।
युट्युबलाई कसरी व्यवस्थित गर्ने भनेर सरकारले कुनै मापदण्ड बनाउन सकेको छैन । बन्द गर्ने वा चल्न दिने भन्ने मात्र बहस चल्छ । युट्युबे भनेर एक वर्गले हेपे पनि कतिपय अवस्थामा सर्वसाधारणले उनीहरूको प्रशंसा गरिरहेको पाइन्छ । त्यसैले युट्युब अत्यावश्यक छ । यसलार्ई जिम्मेवार बनाउन जरुरी नै छ । वर्ग छुट्याउनु प¥यो । मनोरञ्जनात्मक हो कि समाचार हो ? ठूला मिडियाले पत्रकारलाई जागिरबाट निकाल्दा युट्युब चलाइरहेका अनलाइनले तिनीहरूलाई जागिर दिँदै गएको अवस्था पनि छ । यसबाट स्पष्ट हुन्छ कि यो विधा फस्टाइरहेको छ ।
नेपालमा पाठक÷दर्शकले कुन सूचना कहाँबाट लिने भन्ने ठम्याउन पनि सकेका छैनन् । जस्तो कि कोरोना भाइरसबारे विज्ञ चिकित्सकभन्दा फेसबुक र युट्युबमा लेख्नेको भर परेको पनि देखिन्छ । यसले हानि नै गर्छ । ब्लग र गुगलका भरमा लेख्नेहरू विज्ञ भएका छन् । युट्युबरले पनि त्यस्तैलाई विज्ञ बनाइदिन्छन् । यसबारे पाठक र दर्शक सचेत हुनुपर्ने सुझाव उहाँले दिनुभयो ।

व्यवस्थित गर्ने तयारी
युट्युबको प्रभावकारिता विश्वमै लुकेको छैन तर कहिलेकाहीँ यसले बाटो बिराउँदा ठूलो दुर्घटना नहोला पनि भन्न सकिन्न । विदेशमा यसबारे बलियो आचारसंहिता र परिधि तोकिएको छ । नेपालमा भने नियमन गर्ने निकाय कमजोर छ । त्यसैले यो पेसालाई पनि आचारसंहिताले बाँधेर मर्यादित र कर्तव्यपरायण बनाउनुपर्ने अनलाइन टेलिभिजन पत्रकार सङ्घका अध्यक्ष जीवन भण्डारीको सुझाव छ ।
युट्युबले समाजमा कुनै हानि नगरोस् । यसले आफ्नो भूमिका सही तरिकाले निर्वाह गरोस् भनेर अनलाइन टेलिभिजन पत्रकार सङ्घ नै गठन भएको बताउँदै उहाँले भन्नुभयो, ‘यसलाई मर्यादित बनाउनु हामी सबैको दायित्व हो । हाम्रो उद्देश्य पनि यो क्षेत्रलाई शुद्धीकरण र सुदृढीकरण गर्नु नै हो ।’
सङ्घले स्वनियमन निर्देशिका बनाइरहेको जानकारी पनि अध्यक्ष भण्डारीले दिनुभयो । मर्यादापालन गर्नेलाई मात्र सदस्यता दिने नीतिसहितको सदस्यता मापदण्ड बनाएको बताउँदै उहाँले भन्नुभयो, ‘लोकप्रिय को छ भन्नुभन्दा पनि गुणस्तरीय को छ भन्नेमा लागेका छौँ । राम्रो काममा लाग्नेलाई समेट्ने हो । सुध्रिन खोज्नेलाई सघाउने हो ।’
‘सामग्री राम्रो नराम्रो के हो भनी दर्शक, श्रोताले पनि छुट्टयाउनु पर्छ । जे पायो त्यही सामग्री पस्कनेलाई ‘फलो’ गर्नु, हेर्नु पनि जिम्मेवार दर्शकको परिचय होइन’, भण्डारी भन्नुहुन्छ, ‘राम्रो गर्नेलाई प्रोत्साहित गर्नुपर्छ । जे पायो त्यही गर्नेलाई प्रोत्साहित गर्ने दर्शक पनि दोषी हुन् । ‘भ्युज’का पछाडिभन्दा जिम्मेवारीका पछाडि लाग्नुप¥यो । जिम्मेवार हुनेहरू मूलका पानी हुन् भने अतिरञ्जित गर्नेहरू भेलका पानी हुन्’, अध्यक्ष भण्डारीको भन्नुभयो, ‘यस क्षेत्रमा कास्तो मान्छे आएका छन् भनेर पनि सङ्घले अनुसन्धान गरिरहेको छ ।’
प्रेस काउन्सिल नेपालले पनि अनुगमन गर्नुपर्नेमा जोड दिँदै उहाँ भन्नुहुन्छ, ‘दर्ता गरेमा अनुगमन हुने र दर्ता नभएमा अनुगमन नहुने भन्ने होइन । ‘न्यु मिडियाको वेभ’ फरक भएकाले इलेक्ट्रोनिक शैलीबाटै अनुगमन गर्नुप¥यो । दर्ता जहाँसुकै गर्नुहोस् तर राज्यका नियम कानुन भने पालना हुनुप¥यो । अर्को, अनलाइनमा युट्युबलाई मात्र समेट्न खोजिएको छ । युट्युबजस्तै थुप्रै प्लेटफर्म छन्, तिनीहरूलाई पनि समेट्नु जरुरी छ । फेसबुकबाट समाचार राख्नेहरू पनि छन् । तिनीहरूको पनि अनुगमन हुनुप¥यो । यसलाई जिम्मेवार र व्यवस्थित गर्ने काम सरकारले गर्नुपर्छ ।’
आमसञ्चारमाध्यमको अनुगमन गर्ने निकाय प्रेस काउन्सिल नेपाल पनि युट्युबलाई कसरी व्यवस्थित गर्ने भन्नेमा अलमलमा छ । युट्युबको अहिलेसम्म दर्ता र अनुगमन कतैबाट भएको छैन । नेपाल पत्रकार महासङ्घका पूर्व उपाध्यक्ष एवं प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष गोपाल बुढाथोकी युट्युबरहरू पत्रकारकोे परिभाषाभित्र नपर्ने बताउनुहुन्छ । समाजमा बेथिति बढाउने किसिमले उनीहरू अगाडि बढेको भन्दै उहाँले भन्नुभयो, ‘उनीहरूले अराजकता मच्चाउने, व्यक्तिको निजी जीवनमाथि छिर्ने, पारिवारिक भाँडभैलो मच्चाउने काम गरिरहेका छन् । पत्रकारको ज्याकेट लगाएर र पास बनाएर हिँडेका छन् । कतिपय त कारबाहीमा परिसकेका छन् ।’
युट्युबरलाई कसरी समेट्न सकिन्छ त भन्ने प्रश्नमा बुढाथोकी भन्नुहुन्छ, ‘नियन्त्रण र नियमनको कानुन नबनेकाले यिनीहरूलाई अराजकता मच्चाउने छुट भएको हो । जो पत्रकारिताको परिभाषाभित्र परेका छन् उनीहरूले युट्युबमा राखेको भिडियोलाई हेर्ने काम प्रेस काउन्सिलले गरेको छ तर कहीँ दर्तै हुन नपर्ने र समाजमा हुर्मत लिने काम गर्नेलाई के भन्ने । यिनीहरूलाई नियमन गर्नका लागि सरकारले नियमनकारी भूमिका दिनुप¥यो नि ।’
काउन्सिलका निवर्तमान अध्यक्ष किशोर श्रेष्ठ यसका लागि काउन्सिलले सरकारलाई दुईवटा विकल्प दिएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘दर्ता कहाँ गर्ने त ? यसको डोमेन त नेपालमा छैन, अमेरिकामा छ । या त प्रेस काउन्सिललाई दर्ता गर्ने र अनुगमन गर्ने अधिकार दिइयोस् या स्वतन्त्र संयन्त्र बनाएर सरकारले नै गरोस् भनेका छौँ । सरकारले गर्दा सीधै सरकारले नियन्त्रण ग¥या जस्तो देखिन्छ । सरकारले हात हाल्ने कुरा नहोला । त्यसैले एउटा संयन्त्र बन्नु जरुरी छ । त्यो बन्ने बाटो देखाइदेउ भनेका छौँ ।’
‘युट्युब नयाँ चुनौतीका रूपमा आएको छ । कोरोना सङ्क्रमण नपैmलियोस् भनेर गरिएको बन्दाबन्दीको बेला त झन् जथाभावी फुक्न थाले यिनले । मान्छेमा त्रास फैलाउने र भए– नभएको कुरा गरे । सुरुसुरुमा बागलुङमा तीन जना कोरोनाका सङ्क्रमित भेटिए भनेर आयो नि ! सब आतङ्कित भएर बागलुङतिरबाट भागाभाग भयो । यस्ता घटना धेरै छन् । त्यसैले सरकारलाई पत्र लेखेर नै नियमन गर्न भनेका थियौ तर त्यो काम अघि बढ्न सकेको छैन’, श्रेष्ठले भन्नुभयो ।

आम्दानी बैङ्क खातामा
नेपाल राष्ट्र बैङ्कले युट्युब, फेसबुकलगायत सामाजिक सञ्जाल तथा अनलाइन माध्यमबाट हुने आम्दानी अब सम्बन्धित व्यक्तिको बैंङ्क खातामा प्राप्त गर्न सकिने व्यवस्था हालै गरेको छ । अनलाइन माध्यम वा सफ्टवेयरसम्बन्धी कामबाट प्राप्त हुने कमाइलाई वैधानिक माध्यममार्फत भिœयाउने प्रयासस्वरूप राष्ट्र बैङ्कले यस्तो व्यवस्था गरेको जनाएको छ ।
राष्ट्र बैङ्कले सूचना जारी गर्दै अबदेखि हरेक किसिमका प्रविधिको प्रयोगमार्फत आउने तथा खुद्रास्तरको अन्तर्राष्ट्रिय व्यावसायिक र व्यापारिक कारोबारबापत प्राप्त हुने रकम लगायतका सबै रकम यसअन्तर्गत पर्ने जनाएको छ । यसबाट विदेशी मुद्रा प्राप्त भएपश्चात् भुक्तानी सेवा प्रदायक (बैङ्क तथा वित्तीय संस्थासमेत)ले सञ्चालन गरेको ग्राहकको वालेटलगायत भुक्तानीका उपकरणमा तोकिएको सीमासम्मको रकम स्वदेशी मुद्रामा नै रकमान्तर गर्न सकिने राष्ट्र बैङ्कले जनाएको छ । यसबाट स्रोत देखाएर आयकर काट्ने गरी दायरामा ल्याउन सजिलो भएको छ । 


ताजा खबर