अत्यावश्यक सुरक्षा सामग्रीको अभावमा ब्रिटेनमा चिकित्सकको जीवन जोखिममा

ब्रिटेनका चिकित्सकहरूको सङ्गठनले उसका कैयन् सदस्यहरूले कोरोनाभाइरसका बिरामी जाँच्न आवश्यक सुरक्षा सामग्री नपाएको जनाएको छ।

ब्रिटिश मेडिकल एसोसिएसन बीएमएले चिकित्सकहरूले तिनका जीवन जोखिममा पारिरहेको बताएको छ।

शुक्रवार स्वास्थ्यमन्त्री म्याट ह्यान्ककले सबैका निम्ति पर्याप्त सामग्री भएको भन्दै अभाव पूर्तिका निम्ति योजना सार्वजनिक गरेका थिए।

युकेभरिका अस्पतालमा बिहीवार एकै दिनमा ९८० जनाको ज्यान गएको थियो।

त्यहाँ कोरोनाभाइरस सङ्क्रमणले मर्नेको सङ्ख्या झन्डै ९,००० पुगेको छ।

मृतकको उक्त सङ्ख्यामा समुदायमै वा आश्रयगृहहरूमा ज्यान गुमाएकाहरू जोडिएको छैन। तर यो सङ्ख्या इटली र स्पेनमा सङ्क्रमण अत्यन्त खराबस्तरमा पुगेका बेलाका दैनिक मृत्यु सङ्ख्याभन्दा बढी भइसक्यो।

इङ्ग्ल्यान्डका उपप्रमुख स्वास्थ्य अधिकृत जोनाथन भ्यान-ट्यामले ‘सङ्क्रमण उच्चतम विन्दुमा पुगिसक्यो’ भनिहाल्न असम्भव भएको बताएका छन्। सामाजिक दूरीजस्ता उपाय जारी राखिनुपर्ने उनले बताए।

यसबीच लन्डन तथा योर्कशायरमा व्यक्तिगत सुरक्षा सामग्री पीपीईको आपूर्ति ‘खतरनाक स्तरमा कम’ रहेको बीएमएले जनाएको छ।

बीएमएका काउन्सील अध्यक्ष डा चाँद नागपालले चिकित्सकहरूलाई अप्ठेरो अवस्थामा पुर्‍याइएको भन्दै उनीहरूसामु उचित सुरक्षाविना नै काम जारी राख्नुपर्ने बाध्यात्मक परिस्थिति उत्पन्न भएको बताए।

उनले भने, “यस्तो अवस्थामा पुर्‍याइनु अति नै कठिन हुन्छ। अन्तत: यसको जिम्मेदार भनेको उचित सामग्रीको आपूर्तिमा सरकारको विफलता नै हो।” बीबीसी


ताजा खबर