पाकिस्तानका पूर्वप्रधानमन्त्री भ्रष्टाचार आरोपमा पक्राउ

पाकिस्तानका पूर्वप्रधानमन्त्री शाहिद खक्वान अब्बासीलाई बिहीबार गिरफ्तार गरिएको छ । अर्का पूर्वराष्ट्रपति असिफ अली जर्दारीलाई भ्रष्टाचारको आरोपमा गिरफ्तार गरिएको एक हप्तापछि अब्बासीलाई गिरफ्तार गरिएको हो ।

उनलाई भ्रष्टाचारसम्बन्धी मुद्दा हेर्ने अदालतमा राखिएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । वर्तमान् प्रधानमन्त्री इमरान खानका पूर्ववर्ती अब्बासी प्रतिपक्षी दलका नेताहरूमध्ये प्रभावशाली नेता मानिन्छन् । अब्बासीले सन् २०१७ को अगस्टदेखि २०१८ मेसम्म प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका थिए ।

उनी पाकिस्तान मुस्लीम लिग नवाज (पिएमएल-एन) का नेता हुन् । उनको पार्टी पछिल्लो निर्वाचनमा पराजित भएको थियो ।अब्बासीका पूर्ववर्ती प्रधानमन्त्री नवाज सरिफलाई भने यसअघि गत वर्ष नै सात वर्षे जेल सजायको फैसला सुनाइएको थियो ।भ्रष्टाचारविरुद्ध काम गर्ने अधिकारीहरूले नवाजका भाइ शभाज सरिफलाई पनि लक्षित गरिरहेको बताइएको छ ।

पाकिस्तानमा भ्रष्टाचार ठूलो समस्याको रूपमा रहेको छ । एक वर्ष अगाडी प्रधानमन्त्रीका रूपमा इमरान खान निर्वाचित भएपछि उनले भ्रष्टाचार विरुद्धको कारबाहीलाई उच्च प्राथमिकता दिएका छन् ।


ताजा खबर