बिजयकुमार गच्छदार प्रतिनिधिसभा सदस्यबाट निलम्बित

लिता निवास जग्गा प्रकरणमा अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेसँगै बिजयकुमार गच्छदार प्रतिनिधिसभा सदस्य पदबाट स्वत: निलम्बित भएका छन् । नेपाली कांग्रेसका उपसभापति तथा संसदीय दलका उपनेता समेत रहेका बिजयकुमार गच्छदार प्रतिनिधिसभा सदस्यबाट पनि स्वतःनिलम्बित भएका हुन् ।

व्यवस्थाअनुसार उनी विरुद्धको मुद्दा अन्तिम किनारा नलागेसम्म सांसदको हैसियतमा पाउने छैनन् । त्यसका लागि उनीमाथि लागेको भ्रष्टाचार मुद्दामा अख्तियारको दाबी अदालतबाट गलत ठहर हुनुपर्नेछ ।

प्रतिनिधिसभा नियमावली २०७५ अनुसार भ्रष्टाचार मुद्दा लागेपछि सांसद पदबाट स्वतः निलम्बित हुने व्यवस्था रहेको छ । “भ्रष्टाचारजन्य नैतिक पतन हुने फौजदारी मुद्दामा अन्तिम अदालतबाट सजाय पाएको व्यक्ति कुनै पनि चुनावमा उम्मेदवार हुन नपाउने” व्यवस्था राजनीतिक दल सम्बन्धी कानूनमा छ ।

भ्रष्ट्राचार निवारण ऐनको दफा ३३ मा र अख्तियार दुरूपयोग अनुसन्धान आयोगसम्बन्धी ऐनको दफा १७ मा पनि सार्वजनिक पद धारण गरेको व्यक्तिलाई भ्रष्टाचार आरोपमा मुद्दा चलेको अवस्थामा किनारा नभएसम्म स्वत: निलम्बन हुने व्यवस्था गरिएको छ ।

यदि यो मुद्दामा उनी दोषी ठहर भए कांग्रेस केन्दीय सदस्य समेत हुन पाउने छैनन् । –रासस


ताजा खबर