‘वाउ ! विनोद’ : विकाश रौनियार

गएको ७ पुस भारतको कर्नाटक राज्यको राजधानी बैङ्गलोरमा ‘भिजिट नेपाल २०२० कन्क्लेभ’ को आयोजना गरियो ।

कन्क्लेभमा भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्य, पूर्व भारतीय राजदूत केभी राजन लगायत उच्च अधिकारी, दुई देशका व्यापारी, व्यवसायीको उपस्थिति थियो । म स्वयं नेपालका तर्फबाट एक सहभागी थिएँ ।

एमजी राेड, बेङ्गलाेर ।

कन्क्लेभमा मेरो भेट नेपाली मूलका दिनेश हुमागाईंसँग भयो । दिनेशबाट दाजु विनोदबारे थाहा भयो । त्यसपछि जे देखियो, सुनियो– त्यो नेपालीकै लागि गर्वलायक थियो ।

करीब ४० वर्षअघि काभ्रेबाट रोजीरोटीकै खोजीमा कलकत्ता लागेका थिए, नारायण हुमागाईं । त्यहीं जन्मिए विनोद । छोरालाई राम्रो शिक्षा दिए परदेशमा आफू जस्तो दुःख पाउँदैनथ्यो भन्ने नारायणको ध्याउन्न थियो । त्यसैले सकी–नसकी कलकत्ताको सेन्ट जेभियर्स कलेजमा भर्ना गराए ।

पार्क स्ट्रिट, कलकत्ता । 

सन् २००८ मा विनोद कलेजमा बी. कम अनर्स अन्तिम वर्षका विद्यार्थी थिए । घरको आर्थिक अभाव उनलाई सधैं महसूस भइरहन्थ्यो । उस्तै आर्थिक अभाव नभए पनि उनी जस्तै सहपाठी सागर दर्यानीको सोच केही गर्ने भन्ने थियो । तर, के गर्ने ? प्रष्ट थिएन ।

यसैबीच यी दुई दार्जीलिङ घुम्न गए । दार्जीलिङमा मोमो चाखे । यो मोमो यति स्वादिलो थियो कि पूरै कलकत्तालाई यो स्वाद चखाउनुपर्छ भन्ने उनीहरूलाई लाग्यो ।

एमजी राेड, बेङ्गलाेर ।

जम्मा ३० हजार भारु लगानीमा एउटा गराजमा ‘वाउ ! मोमो’ को पहिलो बिक्री केन्द्र शुरु भयो । व्यवसाय शुरु गर्दा बी.कमको रिजल्ट पनि आइसकेको थिएन ।

साल हिसाब गर्दा ‘वाउ ! मोमो’ १२ वर्ष मात्र लाग्यो । तर, यसको प्रगतिको रेखा–चित्र भने अविश्वसनीय छ । अहिले भारतका १५ शहरमा ३०० भन्दा बढी पसलका ‘आउटलेट’ फैलिइसकेका छन् । ८० वर्ग फिटको गराजबाट शुरु कम्पनीको पछिल्लो मूल्य ८६० करोड भारु छ ।

हालै मात्र उनीहरूले ‘वाउ ! चाइना’ अर्को परिकार ब्राण्ड पनि शुरु गरेका छन् ।

व्यवसाय र सम्पत्तिको यो बढोत्तरीमा विनोद र सागरलाई नोकरी डटकमका संस्थापक सञ्जीव बिखचन्दानी, पदमश्री अवार्ड विजेता समेत रहेका सौरभ श्रीवास्तवले पनि लगानी गरे । लाइटहाउस फण्ड्सका सचिन भारतीय पनि अहिले कम्पनीका प्रवर्द्धक बनेका छन् । यसका अतिरिक्त कम्पनीले केही विशेष क्षमता भएका व्यक्तिलाई पनि रोजगारी दिएको छ ।

गैरसरकारी संस्थाहरूसँग पनि मिलेर काम गरिरहेको छ । भविष्यमा भारतमा आफ्नै लगानीमा पाँच वटा क्यान्सर अस्पताल खोल्ने र असहायको उपचार गर्ने कम्पनीको लक्ष्य छ ।

७ पुस कलकत्ताको अतिव्यस्त पार्क स्ट्रिटमा ‘वाउ ! चाइना’ को नयाँ आउटलेट उद्घाटनको हतारोमा मैले विनोदलाई एकैछिन भेट्ने अवसर पाएँ । अंग्रेजी मिसिएको नेपाली भाषामा बडो मिजासका साथ केही कुरा गरे । मैले परदेशमा उदाहरणीय भारतीय नेपाली बन्न सफल भएकोमा उनलाई बधाई दिएँ ।  – हिमाल खबरबाट साभार


ताजा खबर