बैंकलाई डेढ अर्ब निक्षेप दिँदै राष्ट्र बैंक

राष्ट्र बैंकले एक अर्ब ४० करोड रुपैयाँ निक्षेप राख्न बैंक तथा वित्तीय संस्थासँग प्रस्ताव मागेको छ। केन्द्रीय बैंकको विभिन्न कोषमा रहेको रकम आगामी कात्तिक १ देखि २०७७ कात्तिक १ सम्मका लागि एक वर्षे मुद्दति निक्षेप राख्न राष्ट्र बैंकले सिलबन्दी दरभाउपत्र मागेको हो।

राष्ट्र बैंकले एक अर्ब ११ करोड ५४ लाख रुपैयाँ वाणिज्य बैंकलाई दिने भएको छ। २० करोड ९१ लाख राष्ट्रिय स्तरका विकास बैंकलाई र ६ करोड ९७ लाख राष्ट्रिय स्तरका वित्त कम्पनीलाई दिने राष्ट्र बैंकले बताएको छ। यस्तो पैसा पाउन बैंक तथा वित्तीय संस्थाले आगामी बिहीबारसम्म बोलकबोल पेस गर्नुपर्नेछ।

केन्द्रीय बैंकले वाणिज्य बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य पैसा अभाव चर्किरहेको बेला यस्तो बोलकबोलको प्रस्ताव अघि सारेको हो। राष्ट्र बैंकले यस्ता कोषको पैसा अहिले पनि बैंक तथा वित्तीय संस्थामा राखिरहेको छ। त्यसमा प्राप्त हुने ब्याज र नयाँ रकमसमेत जोडेर हरेक वर्ष बैंक तथा वित्तीय संस्थालाई निक्षेप दिँदै आएको छ।

निक्षेपको समस्यामा परेका बैंक तथा वित्तीय संस्थाले बढी ब्याज तिरेर राष्ट्र बैंकको पैसा लिने गर्छन्। राष्ट्र बैंकबाट बैंक तथा वित्तीय संस्थाले लिने अरु कुनै पनि पैसाका आधारमा ऋण दिन नपाइने भए पनि यस्तो निक्षेपको आधारमा ऋण दिन पाइन्छ। त्यसले पनि बैंक राष्ट्र बैंकको निक्षेपप्रति आकर्षित हुने बैंकर बताउँछन्।


ताजा खबर