मोटरसाइकल चोरीका घटनामा बृद्धि : चोर्ने, ढुवानी गर्ने र बिक्री गर्ने छुट्टाछुट्टै समूह

सवारी धनी तथा चालककोे सामान्य लापरबाहीका कारण मोटरसाइकल चोरीका घटना अपत्यारिलो ढङ्गले बढेको छ । काठमाडौंँ उपत्यकामा प्रत्येक महिना एक सयदेखि १२० वटासम्म मोटरसाइकल चोरी हुने गरेको छ ।
मोटरसाइकल चोरी तथा हराउनुमा सवारी धनी तथा चालकको कमजोरी देखिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । असुरक्षित पार्किङ, व्यस्तताका नाममा साधनप्रतिको बेवास्ता र ह्यान्डिल लक नगर्नेजस्ता गल्तीले मोटरसाइकल चोरी हुने गरेको छ ।

ट्राफिक प्रहरी महाशाखा प्रमुख भीम ढकाल मोटरसाइकल तथा स्कुटर चोरीमा सङ्गठित गिरोह नै सक्रिय भएकाले सवारी धनी तथा चालकहरू स्वयं सचेत हुनुपर्ने बताउनुहुन्छ । विभिन्न स्थानबाट फेला परेका २० वटा मोटरसाइकल सोमबार सवारी धनीलाई जिम्मा लगाइएको छ ।

पाँच वर्षअघि चोरी भएको मोटरसाइकल फेला पर्दा सवारी धनीहरू खुसी देखिन्थे । चोरीका मोटरसाइकलको नम्बर प्लेट र स्वरूप परिवर्तन गरिने भएकाले झट्ट हेर्दा ट्राफिक प्रहरीले समेत पत्ता लगाउन सक्दैनन् ।
तर नियमित सुरक्षा जाँचका क्रममा ब्लुबुक (सवारीधनी) पत्र माग्दा घरमा छुट्यो लिएर आउँछु भन्दै चोर चालकहरू मोटरसाइकल ट्राफिक प्रहरीसँगै सडकमा छोडेर भाग्न सफल हुन्छन् । महाशाखा प्रमुख ढकालका अनुसार यसरी अलपत्र छोडिएका मोटरसाइकल चोरीका हुन्छन् ।

यो आर्थिक वर्षको साउनदेखि हालसम्म २११ वटा चोरीका मोटरसाइकल बरामद भएका छन् तर पक्राउ पर्ने अभियुक्त २३ जना छन् । चोरीका मोटरसाइकलको तुलनामा अभियुक्तहरू फेला नपर्दा पीडित खिन्न हुने गरेका छन् । “मलाई त मोटरसाइकलसँंगै चोर पक्राउ परेको भए सन्तुष्टि मिल्थ्यो,” बा. ७३ प ४२२७ नम्बरको मोटरसाइकलका धनी रूपेश मल्लले थप्नुभयो, “सो मोटरसाइकल दुई वर्षअघि बसुन्धराबाट चोरी भएको थियो ।”

ह्यान्डिल ‘लक’ फुटाएर चोरी
एकान्तस्थान तथा मोटरसाइकलको बाक्लो अव्यवस्थित पार्किङस्थलबाट बढी चोरी हुने गरेको छ । ह्यान्डिल लक गरेको भए पनि मार्तल (पेजकस)को तिखिरो चुच्चोबाट लक खोल्नुका साथै मोटरसाइकलसमेत ‘स्टार्ट’ गरेको पाइएको छ ।
‘मार्तल मोटरसाइकलको चाबी हाल्ने प्वालमा छिराई मुड्कीले झ्याप्प हान्दा लक सहजै खुल्छ र स्टार्ट हुन्छ’ चोरहरूले विकास गरेको यो नयाँ र सामान्य उपकरण हो तर सर्वसाधारणले देख्ने गरी पार्किङ गर्दा चोरी घट्न सक्ने भनाइ प्रहरीको छ ।

चोर्नेदेखि बिक्रीसम्म ‘नेटवर्क’
मोटरसाइकल चोरीमा छुट्टाछुट्टै समूह (नेटवर्क) संलग्न हुने गरेको छ । पहिलो समूहले चोर्ने, दोस्रोले ढुवानी र तेस्रोले बिक्री गर्ने गर्छ । चोरीका मोटरसाइकल सस्तो मूल्यमा बिक्री हुन्छन् । कतिपय अवस्थामा मोटरसाइकल खोलखाल गरी पार्टपूर्जा बिक्री हुन्छ ।
सवारी धनी वा चालक ढिलो गरी आएमा वा सहज अवस्था पाएमा मार्तलको सहयोगले मोटरसाइकल चोरी गरी नजिकै लुकाउँछन् । दोस्रो समूहले लुकाएको मोटरसाइकल बिक्रीका लागि लैजान्छ । तेस्रो समूहले उपत्यकाभित्र वा बाहिर पठाउनेबारे मेलोमेसो मिलाउने गरेको
पाइएको छ ।

फितलो कानुन
मोटरसाइकल चोरी मुद्दामा फितलो कानुनी व्यवस्था रहेको छ । अभियुक्तहरू १० हजारदेखि एक लाख रुपियाँ धरौटीमा छुट्ने भएकाले प्रायः मोटरसाइकल चोरीले पेसा परिवर्तन गर्दैनन् । एक महिनामा तीनदेखि पाँचवटासम्म मोटरसाइकल चोरी गरी पाँच लाख रुपियाँ कमाउन उद्यत हुन्छन् ।
अभियुक्त चोरीको मोटरसाइकलसहित रङ्गेहात पक्राउ पर्ने सम्भावना कम हुने भएकाले कानुनी रूपमा सहजै उम्किने गरेको भनाइ प्रहरीको छ । त्यस्तै मोटरसाइकलको पार्टपूर्जा नै बिक्री गर्ने भएकाले प्रमाण जुटाउनसमेत समस्या हुने गरेको छ । ट्राफिक प्रहरी प्रवक्ता जीवनकुमार श्रेष्ठ चालक तथा सवारी धनी नै सतर्क र सचेत हुनुपर्ने हुनु जरुरी छ । – रासस


ताजा खबर