थ्री स्टारको ब्रिगेड ब्वाइजमाथि सहज जित

सहिद स्मारक ए डिभिजन लिगमा थ्री स्टार क्लबले ब्रिगेड ब्वाइज क्लबमाथि ३–१ को जित हात पारेको छ । जितसँगै थ्री स्टारले पाँच खेलबाट १० अङ्कसहित तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।
दशरथ रङ्गशालामा सम्पन्न खेलमा थ्री स्टारका लागि सुसान श्रेष्ठ, अनन्त तामाङ र हम्जातले एक एक गोल गर्नुभयो । खेलको १४ औं मिनेटमा सुसान श्रेष्ठको गोलबाट थ्री स्टारले अग्रता लियो । उहाँले अशोक खवासको पासमा छ यार्ड बक्स भित्रबाट सहज गोल गर्नुभयो ।
४१ औं मिनेटमा अनन्त तामाङले गोल गर्नुहुँदै अग्रता दोब्बर पार्नुभयो । मिक्चेन तामाङको कर्नरमा अनन्तले हेडमार्फत गोल गर्नुभयो । ५८ औं मिनेटमा हम्जातले गोल गर्दा थ्री स्टार ३–० को अग्रता लियो । ८९ औं मिनेटमा ब्रिगेड ब्वाइजले गोल फर्काउँदै खेलमा वापसी गरेपनि शान्त्वना गोलमा मात्रै सीमित हुन गयो । ब्रिगेडका लागि रोशन रानाले गोल गर्नुभयो ।
खेलको ६६ औं मिनेटमा दिपकराज सिंहले थ्री स्टारका अशोक खवासलाई फल गरेपछि बिग्रेड ब्वाइज दश खेलाडीमा सीमित भएको थियो ।
ब्रिगेडमाथि जितसँगै थ्री स्टार तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । उसले पाँच खेलमा १० अङ्क जोडेको छ । शिर्ष स्थानमा रहेको मनाङको ११ र मच्छिन्द्रको १० अङ्क छ । ‍-रासस


ताजा खबर