अख्तियारद्वारा एकै दिन सात जनाविरुद्ध मुद्दा दायर

पदीय दुरुपयोग तथा प्रहरी निरीक्षकलाई नै घुस दिएर भ्रष्टाचार गरेको अभियोगमा सातजनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालत, काठमाडौँमा मुद्दा दायर गरेको छ ।

आयोगले सप्तरीको महादेवा गाउँपालिका–६ का वडासचिव नवोनाथ मिश्र, जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी जवान सरोजकुमार यादव, कर्णाली प्राविधिक शिक्षालयमा कृषि प्रशिक्षण सहायक चन्द्रसिंह खत्री र उनका सहयोगीद्वय टङ्कप्रसाद चौलागाईं तथा  गङ्गाराज शाही र स्याङ्जा वालिङ नगरपालिका–८ का चौपाया व्यापारी जहरुदिन तेलीविरुद्ध मुद्दा दायर गरेको हो ।

तत्कालीन वडा सचिव मिश्रले दुई लाख रुपियाँ सेवाग्राहीसँग घुस लिएको, प्रहरी जवान यादवले घरेलु मदिरा बिक्री वितरणमा सहजीकरण गरिदिन १५ हजार रुपियाँ असुलेको, खत्री, चौलागाईं र शाहीले उत्तर पुस्तिका परिवर्तनका साथै परीक्षाको गोपनीयता भङ्ग गरेका तथा तेलीले गोरु व्यापारमा सघाउन प्रहरी निरीक्षकलाई घुसबापत १५ हजार रुपियाँ उपलब्ध गराएकाले घुसबापत दिए–लिएको बिगो रकम जफत हुनुपर्ने मागदाबी सहित मुद्दा दायर गरेको आयागेले जनाएको छ । -रासस


ताजा खबर