महाकवि लक्ष्मीप्रसाद देवकोटा पुरस्कार २०७६ साहित्यकार गोपीनाथ मैनालीलाई

नित्यराज प्रज्ञा प्रतिष्ठानले यो वर्षको महाकवि लक्ष्मीप्रसाद देवकोटा पुरस्कार लेखक गोपीनाथ मैनालीलाई प्रदान गरेको छ ।

नेपाली साहित्यको श्रीवृद्धिका लागि निरन्तर समर्पित हुँदै देशदेशान्तरमा नेपालको प्रतिष्ठा बढाउन मैनालीले गरेको योगदानका लागि पुरस्कार प्रदान गरिएको प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानका अध्यक्ष नारायणराज पाण्डे र नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ डा. दिनेशराज पन्तले मैनालीलाई २२ पुसमा आयोजित कार्यक्रममा पुरस्कार प्रदान गरेका थिए ।

२०४० को दशकदेखि निबन्ध, समालोचना, कथा, कविता लगायत रचना गर्दै आएका मैनालीका अवसाद अभिनयी (निबन्ध संग्रह), आँखाभरि रमिता मनभरि वेदना (नियात्रा), युग कवि सिद्धिचरण: कृति र प्रवृत्ति विश्लेषण (समालोचना), अपेक्षा र अनुभूति (निबन्ध) सहित नौ कृति र फुटकर रचना प्रकाशित छन् ।

मैनाली नेपाल सरकारका विशिष्ट श्रेणीका कर्मचारी (सचिव) समेत हुन् । -रासस


ताजा खबर