बजारका सामान्य मास्कले धुलो धुवाँबाट जोगाउँदैन : डा.सुबोध सागर ढकाल

अहिले काठमाडौं र प्रदूषण पर्यायवाची जस्तै भैसकेका छन् । फोहोर, धुलोधुवाँले पहिलेदेखि नै प्रदूषित काठमाडौं उपत्यकालाई अव्यवस्थित शहरीकरणले पनि असर गरेको छ । काठमाडौंमा किन प्रदूषण बढिरहेको छ ? यसले कस्तो असर पार्दैछ ? अनि, यो समस्याको समाधानका कसरी गर्न सकिन्छ ? यसै विषयमा सफल नेपालकी बिशेष सम्दवाददाता दुर्गा कुसुमले ॐ अस्पतालमा कार्यरत बरिष्ठ छाती रोग बिशेषज्ञ डा. सुबोध सागर ढकालसँग गर्नुभएको कुराकानीको सम्पादित अंश । 

How to wear a surgical mask

वायु प्रदूषणलाई कसरी बुझ्ने ?

वायुमण्डलमा अक्सिजन, कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड, नाइट्रोजन आदि ग्यासहरु एक निश्चित अनुपातमा रहेका हुन्छन् । यिनै ग्यासहरु बीचको अनुपात सन्तुलनमा समस्या आउँदा देखा पर्ने समस्यालाई वायु प्रदुषणको अवस्था भनिन्छ । वायुमा रहेका कार्बन मोनोअक्साइड, हाइड्रोकार्बन लगायतका ग्यासहरु माटो तथा धुलो धुवाँका कण हुन्, जसले वायुलाई प्रदूषित बनाउँछ ।

काठमाडौँ उपत्यकामा वायु प्रदूषणको अवस्था कस्तो रहेको छ

नेपालमा वायु गुणस्तरसम्बन्धी मापदण्ड, अनुसार धुलो पीएम २.५ अर्थात ४० माइक्रोग्राम भन्दा बढी हुनु हुँदैन । यसैगरी विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार शहरी क्षेत्रमा २५ माइक्रोग्रामभन्दा बढी धुलो हुनु हुँदैन । तर काठमाडौं उपत्यकामा हिउँदको समयमा अझै बढी हुन्छ । काठमाडौँ उपत्यकाको वायु प्रदुषण अवस्था कस्तो छ जान्न वातावरण विभागले उपत्यकाका विभिन्न ६ वटा स्थानमा वायु प्रदुषण मापक यन्त्रहरु जडान गरेको छ ।

यिनै यन्त्रको हालको रिपोर्ट हेर्ने हो भने मानिसको अत्याधिक चहलपहल हुने काठमाडौँ महानगरपालिका क्षेत्र रत्नपार्कमा सबैभन्दा बढी देखिएको छ ।
के कारणले गर्दा उपत्यकामा वायु प्रदूषणको मात्रा बढेको हो ?

काठमाडौ उपत्यका सामान्य कचौरा आकारको बनावट छ त्यसैले गर्दा पनि हो । चारैतिर पहाडहरुले घेरेको र बीचमा समथर रहेको भूभाग रहेको छ । जसको प्राकृतिक बनावट कचौरा आकारको छ । कचौरा आकारको भएकै कारण उपत्यकामा उत्पन्न भएका र विभिन्न माध्यमद्वारा उपत्यका बाहिरबाट भित्रिएका वायु प्रदूषणका कारक धुलो, धुवाँ लगायतका तत्वहरु त्यति सजिलै उपत्यका बाहिर निस्कन सक्दैन ।

यो एउटा पक्ष हो काठमाडौँको वायु प्रदूषण बढ्दै जानुको । त्यस्तै निम्न कारणले पनि वायु प्रदुषण बढेको छ :

  • पेट्रोलियम पदार्थबाट गुड्ने गाडीले उत्पादन गरेको धुवाँ
  • विकास निर्माणका कार्यबाट उत्पादन भैरहेको धुलो
  • फोहोर र कृषिजन्य पदार्थ जलाउँदा निस्कने धुवाँ
  • ईंट्टा भट्टाबाट निस्कने धुवाँ

वायु प्रदूषणले कस्तो असर गर्छ ?

वायु प्रदूषणका कारण मानव स्वास्थ्यमा पर्ने असरहरु २ प्रकारका छन् ।

१. एउटा हो तत्काल पार्ने असर; यसमा छाला चिलाउने, आँखा चिलाउने, खोकी लाग्ने, हाच्छिउँ आउने, छाति घ्यारघ्यार हुने जस्ता समस्या देखा पर्छन् ।
२. दीर्घकालीन असर

स्वास्थ्यमा दीर्घकालीन असर पनि पर्छ । दीर्घकालिन असरमा श्वासप्रश्वास र रक्तनलीमा समस्या ल्याउँछ । श्वाप्रश्वास  अन्तर्गत, लामो समयसम्म दमको समस्या हुने, फोक्सोमा क्यान्सर हुने जोखिम बढ्छ । रक्तनलीमा पनि प्रदूषणले धेरै असर गर्छ । जस्तै, रगत जम्ने समस्या, मुटु रोग, हृदयाघात, क्यान्सर रोग, मस्तिष्क घात हुने जस्ता समस्या निम्त्याउने हुन्छ  ।

धुवाँ धुलोले असर गरेको भनेर कसरी थाहा पाउन सकिन्छ

श्वासप्रश्वासको समस्या धेरै देखियो भने, लामो समयसम्म रुघा खाकी लागिरहने, श्वास फेर्न गाह्रो हुने, बारम्बार श्वास फेर्दा घाँटी घ्यारघ्यार हुने भयो भने धुवाँ धुलोको असर भनेर बुझ्नु पर्छ । अहिले बढेको प्रदुषणको हामीले प्रत्यक्ष रुपमा नै महसुस गरेका छौं । हरेक अस्पतालमा श्वासप्रश्वासको समस्या भएका बिरामी बढिरहेका छन् ।

मुख्य सडकको नजिक बस्ने र टाढा बस्नेलाई गर्ने असर एउटै हुन्छ कि फरक हुन्छ

जो सडक छेउमा बस्नुहुन्छ, उहाँलाई गर्ने असर र जो टाढा बस्नुहुन्छ गर्ने असर फरक हुन्छ । सडक छेउमा धुवाँधुलो धेरै हुने भएकाले गर्ने असर बढी त हुन्छ । तर वायु बहने भएकाले असर टाढाकोलाई नगर्ने भन्ने हुँदैन ।

धुलो र धुवाँमा कुनले धेरै असर गर्छ ?

बाटोमा उड्ने धुलोले भन्दा कलकारखाना तथा गाडीले निकाल्ने धुवाँ, केमिकलहरुले धेरै प्रभाव पार्छ । धुलोको साईज ठूलो हुन्छ । त्यसैले भित्र फोक्सोसम्म पुग्न सक्दैन । तर यसमा हुने ग्यासहरु भित्री भागसम्म पुग्ने तथा रगतमा पनि असर गर्ने हुन्छ । १० माइग्रोन भन्दा कम साइज अथवा २.५ माइग्रोन भन्दा सानो साईजले धेरै असर गरेको हुन्छ । ग्यासहरुमा सल्फर डाइअक्साइड, वजन, नाइट्रस अक्साइडले अझै धेरै असर गर्छ ।

प्रदूषणबाट बच्न के गर्न सकिन्छ त

सबैभन्दा महत्वपूर्ण भनेको यो समाज अनि सरकारले कसरी बच्ने भन्ने कुरामा ध्यान दिनुपर्छ । कसरी प्रदूषण हटाउन सकिन्छ भनेर दीर्घकालीन योजना बनाउनु पर्छ । मास्क लगाएर मात्रै सबै प्रदूषण रोक्ने पनि होइन । माक्स लगाउँदा पनि एन ९५ लगायो भने रोक्ने हो, त्यसले पनि हानिकारक ग्यास रोक्न सक्दैन । त्यो सबैको पहुँचमा पनि  छैन र २४ घण्टा नै माक्स लगाएर बस्न पनि सम्भव छैन ।

अझै कपडाको माक्सले त कुनै काम गर्दैन । मेडिकल मास्क पनि एक पटकको लागि मात्रै हो । काठमाडौं कचौरा जस्तो भएकोले जति चिसो बढ्दै जान्छ, हानिकारक तत्वहरु तल तल आउने भएकाले जसलाई श्वासप्रश्वास सम्बन्धी समस्या छ, अनि बालक तथा वृद्धवृद्धा बिहान तथा बेलुका घरबाट बाहिर निस्कनु हुँदैन ।

घरभित्र आगो बाल्ने, धुप बाल्ने, हिटर तथा क्युरोसिन बाल्ने गर्नाले पनि धेरै असर गरेको हुन्छ । गाउँघरमा बालिने गुइँठा, दाउराले पनि प्रदूषण बढाएको हुन्छ । त्यसैले घरभित्रको प्रदूषण आफैंले घटाउन सकिन्छ भने घर बाहिरको घटाउन सरकार नै लाग्नु पर्ने हुन्छ ।

पछिल्ला वर्षहरुमा वायु प्रदूषण कम गर्न भन्दै बिभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरुले अभियान चलाउँदै आएका छन् । तर समस्या कम हुन सकेको छैन । उल्टै बढ्दो क्रममा गएको छ । त्यसैले काठमाडौंलाई प्रदूषणमुक्त बनाउन गैरसरकारी संस्था, सरकारी निकाय वा अन्तरराष्ट्रिय क्षेत्रले हेरेर मात्रै पुग्दैन ।

नागरिक तहबाट पनि उत्तरदायित्व पूरा गर्नु आवश्यक देखिन्छ साथै वायु प्रदुषण उच्च हुँदै जाँदा यसले काठमाडौंको प्राकृतिक स्वरुप र जीव विज्ञानमा पार्ने असर सबैको चासो बन्न आवश्यक देखिन्छ ।

सफल नेपाल,काठमाडौं 

 


ताजा खबर