पाकिस्तानले श्रीलंकालाई हरायो

श्रीलंकाविरुद्धको दोस्रो एकदिवसीय खेलमा पाकिस्तानले ६७ रनको जित हात पारेको छ।

कराँचीमा भएको खेलमा जित हात पारेसँगै ३ खेलको सिरिजमा पाकिस्तानले १–० को अग्रता लिएको छ। यसअघि पहिलो खेल वर्षाका कारण अवरुद्ध भएको थियो।

कराँचीमा सोमबार पहिले ब्याटिङ गरेको पाकिस्तानले ७ विकेटको क्षतिमा ३०५ रन जोड्यो।

पाकिस्तानका लागि बाबर अजामले ११५ रन जोडे। उनले १०५ बलमा ८ चौका र ४ छक्का हिर्काए। उनको एकदिवसीय खेलमा यो एघारौं शतक हो।

त्यसअघि ओपनर फखर जमानले ५४ रन र इमान उल हकले ३१ रन जोडेका थिए। मध्यक्रमका ब्याट्सम्यान हरिस सोहिल ४० रनमा आउट भए। बलिङमा श्रीलंकाका वानिन्डु हर्षरंगाले २ विकेट लिए।

३ सय ६ रनको लक्ष्य पछ्याएको श्रीलंका ४६.५ ओभरमा २३८ रनमै अलआउट भयो। उसका लागि शेहान जयासुरियाले ९६ रन र डासुन सनकाले ६८ रन जोडे पनि ओपनिङ राम्रो नुहुँदा पराजित भयो।

बलिङमा पाकिस्तानका उस्मान सिनवारिले ५ विकेट लिए। उनले १० ओभरमा ५१ रन खर्चिए। सादब खानले २ विकेट हात पारे।


ताजा खबर