शहर कुरुप देखाउने होर्डिङ बोर्ड र पोस्टर हटाईने

सरकारले सहर कुरुप बनाउने गरी राखिएका होर्डिङ बोर्ड, पर्चा, पम्पलेट, पोस्टर, तार लगायतका सामग्री हटाउने भएको छ।

बिहीबार गृह मन्त्रालयमा आयोजित सरोकारवाला निकायसहितको बैठकले यस्तो निर्णय गरेको हो।

बैठकले काठमाडौँ महानगरपालिकाभित्र तत्काल शुक्रबारदेखि नै चारवटा समूह बनाएर होर्डिङ बोर्ड, पर्चा, पम्पलेट, पोस्टर, भित्तेलेखन हटाउन सुरु गर्ने तथा अन्य स्थानीय तहको हकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत् निर्देशन दिई कारबाही अघि बढाउने निर्णय गरेको छ।

यस्तै बैठकले अव्यवस्थित रुपमा राखिएका टेलिफोन, केबल तथा ईन्टरनेट सेवा प्रदायकका तार हटाउन समयसीमा तोकि सार्वजनिक सूचना जारी गर्ने र तोकिएको अवधिभित्र नहटाए त्यस्ता तार काटेर हटाउने निर्णय गरेको छ।

बैठकमा गृहमन्त्री रामबहादुर थापाले नागरिकको स्वास्थ्य र नगरको पर्यावरणीय सुन्दरतालाई मध्यनजर गर्दै नगरलाई कुरुप बनाउने गरी राखिएका त्यस्ता संरचना हटाईन लागेको बताए।

यस्तै सर्वोच्च अदालतले समेत यस सम्बन्धमा आदेश दिईसकेको बताउँदै गृहमन्त्री थापाले आदेश कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गरे।

काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले महानगरपालिकाभित्र शुक्रबारदेखि नै त्यस्ता संरचना हटाउन सुरु गर्ने प्रतिबद्धता जनाए।

गृह सचिव प्रेमकुमार राईले देशभरका यस्ता संरचना हटाउन सम्बन्धित जिल्ला प्रशासन कार्यालय र प्रहरी प्रशासनको पूर्ण सहयोग रहने प्रतिबद्धता जनाए। -रासस


ताजा खबर