समुदाय-प्रहरी साझेदारी प्रभावकारी छः आईजीपी खनाल

नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले समुदाय–प्रहरी साझेदारी कार्यक्रमले समाजमा सकारात्मक प्रभाव पारेको बताउनुभएको छ । उहाँले नागरिकसँग हातेमालो कार्यक्रमको परिस्कृत रुपमा नेपाल प्रहरीले समुदाय–प्रहरी साझेदारीको अवधारणा  अगाडि सारिएको बताउनुभएको हो । स्थानीय तहसँगको समन्वय तथा सहकार्यमा  सञ्चालन  भएका गतिविधि मार्फत समाजमा शान्ति सुरक्षा कायम साथै अपराध नियन्त्रण गर्न सहयोग प्राप्त भएको  महानिरीक्षक खनालले बताउनुभयो ।

महानगरीय प्रहरी वृत्त महाराजगंज तथा महानगरीय प्रहरी वृत्त लैनचौर, सोह्रखुट्टेको नवनिर्मित कार्यालय भवनहरुको मंगलबार  उदघाटन गर्दै उक्त अवसरमा प्रहरी महानिरीक्षक खनालले सुन्दर भवनको निर्माणसँगै प्रहरीले प्रदान गर्ने सेवा पनि उत्तिकै सुन्दर हुन जरुरी रहेकोमा जोड दिनुभयो ।

राष्ट्र र नागरिक सेवा प्रदान गर्न तथा राज्यले सुम्पेको जिम्मेवारी निर्वाह गर्न किञ्चित विचलित नभई काम गर्न प्रहरी कर्मचारीलाई निर्देशन दिदै उहाँले प्रहरी नगरिकको सुरक्षाको लागि अहोरात्र खटिएको र प्राप्त सुविधाहरुको अधिकतम प्रयोग गरेर आगामी दिनमा पनि अझ सुन्दर सेवा दिन प्रतिवद्ध रहेको बताउनुभयो ।

सुरक्षा नै सबै भन्दा पहिलो सर्त रहेको बताउँदै प्रहरी महानिरीक्षक खनालले भन्नुभयो, ‘जहाँ सुरक्षित समाज हुन्छ, अनि मात्र त्यहाँ विकास एवम् आर्थिक गतिविधिका क्रियाकलाप हुन्छन् । सुरक्षाको सर्त पूरा गर्नका लागि नेपाल प्रहरी सदैव दृढ एवम् दत्तचित्त भई नागरिकसँग हातेमालो गर्दै अगाडि बढेको छ ।’

विकास निर्माणका काममा अबरोध र्पुयाउने अवाञ्छित क्रियाकलापलाई निस्तेज गर्दै निर्माण सहजीकरण पार्न नेपाल प्रहरी दृढ संकल्पित भई आगडि बढिरहेको प्रहरी महानिरीक्षक खनालले बताउनुभयो । अपराध नियन्त्रणमा प्रविधिको प्रयोगको साथसाथै मानवीय उपस्थिति समेत आवश्यक रहेको उल्लेख गर्दै प्रविधियुक्त नवनिर्मित्त भवनबाट उत्कृष्ट सेवा प्रवाह हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।


ताजा खबर