नेपाल टेलिकमको ‘रोमिङ’ सुविधा सस्तो दरमा उपलब्ध

नेपाल टेलिकमले उपलब्ध गराउँदै आएको ‘रोमिङ’ सुविधा झन् सस्तो दरमा उपलब्ध हुन थालेको छ । विदेश जाँदा पनि टेलिकमकै सिमकार्ड प्रयोग गरेर कुराकानी र एसएमएस गर्न सकिने यो सुविधाको महसुल दर विगतको भन्दा धेरै कम गराइएको कम्पनीले जनाएको छ । त्यस्तै एसएमएस हेर्नका लागि कुनै शुल्क नलाग्ने कम्पनीले जानकारी दिएको छ ।

महसुल दर सस्तो भएपछि केही समयका लागि विदेश जाने वा विदेशमा बसेर पनि नेपालकै सिममार्फत बैङ्क खाता चलाउने टेलिकमको सिम निकै उपयोगी भएको कम्पनीको दाबी छ । अन्य देशको कुनै मोबाइल सेवा प्रदायकको सिम चलाउनुपर्ने झन्झटको समेत अन्त्य भएको कम्पनीले उल्लेख गरेको छ ।

रोमिङ सेवाको प्रभावकारी प्रयोगका लागि टेलिकमले आफू जान लागेको देशमा रोमिङ सेवा भए नभएको हेर्नुपर्ने, नेपालमै रोमिङ सेवा सक्रिय गर्नुपर्ने, सक्रिय गर्दा टेलिकमको वेबसाइटमा रहेको फारम डाउनलोड गर्नुपर्ने सुझाव दिएको छ । यसरी फारम भरिसकेपछि आफ्नो नागरिकता वा पासपोर्टको फोटोकपि र भरिएको फारम तोकिएको इमेल ठेगानामा पठाउनुपर्ने कम्पनीले जनाएको छ ।

यसरी इमेलमा पठाइसकेपछि टेलिकमले प्रिपेड सिमको हकमा सामान्य अवस्थामै रोमिङ सेवा सुचालु गर्छ भने पोस्टपेड मोबाइलको हकमा भने पाँच हजार रुपियाँ हुनु आवश्यक रहेको कम्पनीले जानकारी दिएको छ ।

रोमिङ सेवा उपलब्ध हुने देशको सूची टेलिकमले आफ्नो वेबसाइटमा उपलब्ध गराएको छ । विदेशमा गएर रोमिङ सेवा सक्रिय गर्नुपर्ने अवस्थामा टेलिकमले उपलब्ध गराएको रोमिङ सेवा सञ्चालनसम्बन्धी फारम भरेर इमेल गर्नुपर्ने कम्पनीले उल्लेख गरेको छ ।

कम्पनीका अनुसार प्रिपेड सिममा जतिसुकै रकम भए पनि आवश्यकता अनुसार रोमिङ सेवा चलाउन सकिन्छ । यसका लागि रकमको सीमा छैन । पोस्टपेड सिममा भएको ब्यालेन्स रकम घटेर तीन हजार रुपियाँभन्दा कम भयो भने रोमिङ सेवा चलाउन नसकिने कम्पनीले स्पष्ट पारेको छ । रोमिङ सेवा सक्रिय गराइसकेपछि विदेशस्थित दूरसञ्चार सेवा प्रदायकको नेटवर्कसँग जोडिनु पर्छ । सामान्य रूपमा आफैँ त्यस्तो नेटवर्कसँग जोडिने भए पनि त्यस्तो नभएको अवस्थामा नेटवर्क ‘सर्च’ गरेर पनि जोड्न सकिने कम्पनीले जनाएको छ ।

टेलिकमको रोमिङ सेवामार्फत अधिकांश देशमा फोन र एसएमएस मात्र उपयोग गर्न सकिए पनि भारतमा भने रोमिङ डेटा प्याकसमेत उपलब्ध रहेको टेलिकमले जनाएको छ । भारतमा उपलब्ध गराइएको डेटा प्याक कम मूल्यमै प्रयोग गर्न सकिने पनि कम्पनीले जनाएको छ । रासस


ताजा खबर