महोत्तरीको बर्दिबासमा पहिलो सडक खाना महोत्सव

महोत्तरीको बर्दिबास नगरपालिकामा ‘सडकमै खाऊँ, सडकमै रमाऊँ’ भन्ने मूल नाराका पहिलो पटक सडक खाना महोत्सव आजबाट सुरु भएको छ ।

पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरीको आयोजना जिल्लामै पहिलो पटक सडक खाना महोत्सवको आयोजना गरिएको हो ।

महोत्सव फागुन ७ गतेसम्म सञ्चालन हुनेछ । सडक, भोजन र पर्यटन बिचको सम्बन्धलाई एकाकार गर्न होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरीले बर्दिबासमा सडक खाना महोत्सव आयोजना गरेको हो ।

महोत्सवमा मधेश प्रदेशका ८ वटै जिल्लाको भोजन संस्कृतिलाई समेट्न रौतहटको कटिया(मासुको परिकार), बाराको सेकुवा, विभिन्न प्रकारका तरुवा (मिथिला भोजन), सिराहा कमलाको माछा र सप्तरी बरमझियाको पेडाको स्वाद सडक खाना महोत्सवबाट लिन सकिने होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरीका अध्यक्ष गुन्जबहादुर कार्कीले जानकारी दिनुभयो । महोत्सवमा ५० वटा होटलको सेवा एउटै थलोबाट दिने व्यवस्था मिलाइएको छ ।

सांस्कृतिक तथा पर्यटन प्रवर्द्धन गर्न बर्दिबास नगरपालिकाले छुट्टाएको ६ लाख ५० हजार र अन्य रकम सहयोग लिएर १५ लाख लागतमा महोत्सव गर्न लागिएको आयोजक संस्थाले जनाएको छ । तीन दिन लाग्ने सडक खाना महोत्सव ५० हजार जनाले अवलोकन गर्ने लक्ष्य राखिएको र सोही अनुरुप प्रचारप्रसार गरिएको आयोजकले जनाएको छ । रासस


ताजा खबर