बाजुराबाट ४० करोड ७३ लाख बराबरको कृषि वस्तु निर्यात

बाजुराबाट कृषि बस्तुको निर्यात हुन थालेको छ । किसानले सरकारबाट कृषि क्षेत्रमा अनुदान पाउन थालेपछि उत्पादनमा वृद्धि भएसँगै निर्यात हुन थालेको हो ।

कृषि ज्ञान केन्द्र बाजुराका अनुसार २०८०/८१ को आर्थिक वर्षमा मात्रै बाजुराबाट ४० करोडभन्दा बढीको कृषि वस्तु निर्यात गरेको भएको छ ।

चालु आर्थिक वर्ष २०८०/८१ को साउनदेखि माघ मसान्तसम्म रु ४० करोड ७३ लाख बराबरको कृषि वस्तु निर्यात भएको कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख मिनप्रसाद जैशीले बताउनुभयो ।

बाजुराबाट सबैभन्दा धेरै तरकारी, अन्नबाली र फलफूल निर्यात भएको छ ।

चालु आवको १० महिनामा मात्रै ३ करोड बराबरको कोदो, २० लाख बराबरको स्याउ, १६ लाख बराबरका मकै र ३६ लाख बराबरको सिमी जिल्ला बाहिर निर्यात गरिएको उहाँले बताउनुभयो ।

जिल्लाका विभिन्न ठाउँमा उत्पादन भएको २२ हजार क्विन्टल कोदो जिल्ला बाहिर निर्यात भएको छ । जसको मूल्य ३ करोड रुपैंया कृषकले पाएको कृषि ज्ञान केन्द्र बाजुराको तथ्याङ्कमा उल्लेख छ ।

पछिल्लो समय प्रदेश सरकार र स्थानीय तहले अनुदानका कार्यक्रम सञ्चालन गरेसँगै बाजुराका कृषकहरू कृषिजन्य बस्तु उत्पादनतर्फ आकर्षित भएको बडिमालिका नगरपालिका कृषि शाखा प्रमुख रमेशराज विकले बताउनुभयो ।

स्थानीय तहको समन्वयमा कृषि ज्ञान केन्द्र बाजुराले उत्पादनमुखी कार्यक्रम ल्याएर जिल्लालाई आत्मनिर्भर बनाउने दाबी गर्दै आएको छ । बाजुराबाट सबैभन्दा धेरै अन्नबाली दाल र फलफूल निर्यात भएको तथ्याङ्क छ । रासस


ताजा खबर