२०८१ सालका सरकारी बिदाको विवरण सार्वजनिक

सरकारले आगामी २०८१ सालका लागि सार्वजनिक बिदाको विवरण सार्वजनिक गरेको छ । २०८१ वैशाख १ देखि चैत मसान्तसम्म दिइने बिदाको विवरण नेपाल राजपत्रमा प्रकाशन भएसँगै गृह मन्त्रालयले विभिन्न सार्वजनिक बिदा, पर्व बिदा र विभिन्न दिवसको मिति सार्वजनिक गरेको छ ।

आगामी २०८१ साल मुलुकभर दिइने सार्वजनिक बिदामा वैशाख १ गते नयाँ वर्ष, वैशाख ५ गते रामनवमी, वैशाख १९ गते विश्व मजदुर दिवस, जेठ १० गते बुद्ध पूर्णिमाको दिन सार्वजनिक बिदा घोषणा गरिएको छ । जेठ १५ गते गणतन्त्र दिवसको बिदा दिइएको छ ।

भदौ ३ गते रक्षाबन्धन, भदौ १० गते श्री कृष्ण जन्माष्टमीको दिन पनि बिदा दिइएको छ । असोज ३ गते संविधान दिवस, असोज १७ गते घटस्थापना, असोज २४ देखि असोज २८ गतेसम्म पाँच दिन दशैँ बिदा दिइएको छ ।

कात्तिक महिनामा १५ गतेदेखि १९ गतेसम्म तिहारमा पाँच दिन बिदा दिइएको छ भने २२ गते छठपर्वमा पनि बिदा छ । मङ्सिर ३० गते उधौली पर्व, योमरी पुन्हिको अवसरमा बिदा दिइएको छ । पुस १५ गते तमु ल्होसार र पुस २७ गते पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदा दिइएको छ ।

माघी पर्वको अवसरमा माघ १ गते, सोनाम ल्होसारको अवसरमा माघ १७ गते बिदा हुनेछ । फागुन ७ गते प्रजातन्त्र दिवस, फागुन १४ गते महाशिवरात्री, फागुन १६ गते शेर्पाको ग्याल्पो ल्होसार, फागुन २४ गते अन्तर्राष्ट्रिय महिला दिवसमा पनि बिदा दिइएको छ ।

इस्लाम धर्मावलम्बीहरुको पर्व ईद (ईद उल फित्र) र बकर ईद (इद उल उजाह) का दिन पनि दुई दिन सार्वजनिक बिदा हुने राजपत्रमा उल्लेख छ । यस्तै, फागुपूर्णिमामा हिमाली र पहाडी ५६ जिल्लामा फागुन २९ गते र तराईका जिल्लामा चैत्त १ गते बिदा दिइएको छ ।

     

रासस


ताजा खबर