त्रिवि पत्रकारिता विभाग नयाँ अत्याधुनिक भवनमा सर्यो

 त्रिभुवन विश्वविद्यालयको पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागको नवनिर्मित भवनको बुधबार समुद्घाटन गरिएको छ ।

बल्खुमा विभागले आयोजना गरेको एक औपचारिक कार्यक्रममा त्रिविका उपकुलपति प्राध्यापक डा. शिवलाल भुषालले सो भवनको उद्घाटन गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उपकुलपति भुषालले पत्रकारिता तथा आमसञ्चारको क्षेत्रमा विशिष्ट किसिमको भवन प्राप्त भएको बताउनुभयो । उहाँले भवन निर्माणको क्रममा विभिन्न सङ्घर्ष भएको तर यस क्षेत्रमा छुट्टै किसिमको विकास भइरहेको भन्नुहुँदै बधाइ एवम् शुभकामना व्यक्त गर्नुभयो ।

blog

यस्तै, विभागका प्रमुख प्राध्यापक चिरञ्जीवी खनालले देशमा २०३३ सालदेखि पत्रकारिता शिक्षा सुरुवात भएको र यही विषय पढ्न तथा पढाउने क्रममा यसको आवश्यकता महसुस भएको बताउनुभयो ।

खनालले भन्नुभयो, “२०३३ सालदेखि पत्रकारिता शिक्षा पढाइ सुरु भएको हो । त्यसपछि पत्रकारिता पढ्ने र पढाउन आइसकेपछि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा कसरी राम्रो बनाउन सकिन्छ भनेर प्रयास गरियो । आरआर क्याम्पसमा जुन विषय पढाइ हुन्थ्यो, पत्रकारिता फरक तरिकाले विकास हुने क्षेत्र भएकाले त्यो साँघुरो हुँदै गयो ।”

उहाँले सुरुमा जग्गा प्राप्ति तथा बजेट निकासामा निकै सङ्घर्ष गर्नुपरेको स्मरण गर्दै सबैको सहयोगमा भवन निर्माण कार्य सम्पन्न भएको बताउनुभयो ।

यस्तै सो भवनका इन्जिनियर सहप्राध्यापक नारायण प्रसाद गौतमले २०७५ साल फागुन १५ गते विभागसँग सम्झौता गरेर भवन डिजाइनको काम सुरु भएको जानकारी दिनुभयो । उहाँका अनुसार भवन निर्माणमा करिब २१ करोड ५५ लाख रुपियाँभन्दा बढी खर्च भएको छ ।

यस्तै, २०७६ माघ १ गतेको सम्झौतापछि भवन निर्माणको काम सुरु भएको थियो ।

गौतमले भवनको पहिलो तलामा १० देखि १५ वटा गाडी पार्किङ गर्न मिल्ने तथा ६०–७० वटा मोटरसाइकल राख्न सकिने बताउनुभयो । यस्तै, पुस्तकालय, ई–पुस्तकालय, मल्टिमिडिया तथा बैठक कक्ष रहेका छन् ।

दोस्रो तलामा वर्कशपका लागि ब्लक तथा कोठाहरु छन् । तेस्रो तलामा फोटोग्राफी, रेडियो स्टेसन, विभिन्न  ब्लक तथा ठूलो हल छ । चौथो तलामा फिल्म स्टडी, उत्पादन, करिब दुई सय जनाभन्दा बढी अट्ने सेमिनार हल, टेलिभिजन स्टुडियो रहने गरी डिजाइन भएको उहाँको भनाइ छ ।

पत्रकारिता देश तथा विदेशमा समेत जोडिने तथा अध्ययनको विषय भएकाले विदेशबाट आउनुहुने पाहुनाका लागि बेडरुम, किचेन, डाइनिङ रुम लगायत छन् भने सबैभन्दा माथि खुला क्षेत्र रहेको छ ।

उहाँले करिब साढे दुई वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य रहे पनि कोरोना लगायत विविध कारणवश एक, डेढ वर्ष ढिलाइ भए पनि भवन राम्रो तरिकाले निर्माण भएको बताउनुभयो । भवनको चार वर्ष अगाडि नै शिलान्यास भएको थियो ।  रासस


ताजा खबर