यौन दुर्व्यवहारको आरोप लागेपछि कृष्णबहादुर महराद्वारा राजीनामा

यौन दुर्व्यवहारको आरोप लागेको भोलिपल्ट कृष्णबहादुर महराले सभामुख पदबाट राजीनामा दिएका छन्।

महराले उपसभामुखलाई सम्बोधन गरी लेखेको पत्रमा नैतिकताका आधारमा राजीनामा दिएको उल्लेख गरेका छन्। तर उनले “छानबिन प्रकिया नसकिँदासम्मका लागि” भनेका छन्।

“हिजोदेखि विभिन्न सञ्चार माध्यममा मेरो चरित्रमा गम्भीर प्रश्न उठाई लगाइएको आरोपबारे सत्यतथ्य, निष्पक्ष र स्वतन्त्र छानबिनका लागि अनुसन्धान सहज होस् भनी नैतिकताका आधारमा आजकै मितिदेखि छानबिन प्रकिया नसकिँदासम्मका लागि राजीनामा दिएको छु,” उनले हस्ताक्षर गरेको पत्रमा लेखिएको छ।

यसअघि सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठकले महरालाई राजीनामा दिँदा उपयुक्त हुने धारणा व्यक्त गरेको थियो।

संसद् सचिवालयमा कार्यरत एक महिला कर्मचारीले जबर्जस्ती करणी गरेको गम्भीर आरोप लगाएपछि नेकपाको सचिवालयले उनलाई सभामुख र सांसद पदबाट राजीनामा दिन सुझाव दिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बीबीसीलाई बताएका थिए।

बैठकमा नेकपाका दुवै अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली तथा पुष्पकमल दाहाल प्रचण्ड र अन्य नेता उपस्थित थिए।

खण्डन

यसअघि महराले आफूमाथि लगाइएको आरोपमा ‘कुनै सत्यता नभएको’ भन्दै खण्डन गरेका थिए। तर यो मामिलाको छानबिनका लागि “आवश्यक परे राजीनामा गर्न आफू तयार रहेको” उनले आफू निकटस्थलाई बताएको बुझिएको छ।

सोमवार साँझ केही सञ्चारमाध्यमहरूले सभामुख महरामाथि संसद् सचिवालयमा कार्यरत एक महिला कर्मचारीले जबर्जस्ती करणी गरेको गम्भीर आरोप लगाएको खबरहरू प्रकाशित गरेका थिए। त्यसपछि नेपालको राजनीतिक वृत्तमा तरङ्ग उत्पन्न भएको थियो।

त्यसलगत्तै सभामुखका प्रेस सल्लाहकार डिल्ली मल्लले वक्तव्यमार्फत् आरोपलाई महराको “राजनीतिक उचाइ, व्यक्तित्व र प्रतिष्ठालाई सिध्याउने षड्यन्त्र” भन्दै खण्डन गरेका थिए।

प्रहरी अधिकारीहरूका अनुसार हालसम्म यस घटनामा कुनै जाहेरी परेको छैन।

तत्कालीन नेकपा माओवादीबाट दाङ क्षेत्र नं २ बाट संसदीय निर्वाचन जितेका ६० वर्षीय महरा तत्कालीन नेकपा एमाले र मा‌ओवादीको समर्थनमा सभामुख बनेका थिए।

यी दुई पार्टीको एकीकरणपछि नेकपाको गठन भएको थियो।


ताजा खबर