गुलियो र चिल्लोको गन्थन : डा.राजेन्द्र कोजु

मिठाइ पसलमा बर्फी, लालमोहन, रसबरी, लड्डु, पेडा, रसमलाइ एकातिर सजिएर बसेका छन् । लाखामरी, निम्की, खजुरी, खुवा अर्कोतिर छन् । बिहानै भएकोले बाफिएको हलुवा, तारेको पुरी, भर्खरै चास्नीबाट निस्केको जेरी पनि तम्तयार भएर बसेका छन् । अलि पर फ्रिजमा कोक, फ्यान्टा, स्प्राइट पनि चिसिएर बसेका छन् । ग्यास चुलोमा चियाको खेप उम्लिँदै, ग्लास–ग्लासमा सरेर टेबलमा पुगेका छन् ।

चास्नीको चिनीले, उत्रिँदै गरेको पुरीबाट तपतप चुहिंँदै गरेको तेल (चिल्लो) लाई हेर्दै भन्यो, ‘तँलाई कति मनपराउँछन् है मान्छेहरू ?’

तेलले गजक्क फुल्दै भन्यो, ‘किन नपराउन् त ? म नभई केही पनि परिकार मिठै हुँदैन । हेर न सेलरोटी मेरै तावामा तैरिनुपर्छ । पुरी त्यस्तै । पकौडा, समोसा, निम्की, मालप्वा सबै मैले नै पकाइदिने हो । पोलेर खाए हुने पापड त मैमा डुबुल्की लाउँछ ।’

चिनीले हलुवातिर हेर्दै भन्यो, ‘त्यो हलुवाचाहिँ घिउमा तयार हुन्छ नि ।’

हलुवामा टल्किँदै बसेको घिउले मुसुमुसु हाँस्दै भन्यो, ‘हामी चिल्लाहरू एउटै ड्याङका हौं ।’

तेलले भन्यो, ‘यसका नि दाइभाइ छन् । बटर, चिज, बोसो के–के जाति हो ।’ तेलले त्यसो भनेको सुनेर

घिउ मख्ख पर्‍यो ।

चिनीले भन्यो, ‘तिमीहरूलाई धेरै खानु हुँदैन भनेर पढ्या थिएँ, हामीलाई पोका पार्ने पत्रिकामा ।’

तेलले भन्यो, ‘हो नि । खानेले पढ्दैनन् । हामीले मात्र पढ्ने त हो नि ।’

घिउले हाँस्दै भन्यो, ‘धेरै खानु हुन्न भनेको, थोरथोरै त हुन्छ रे ।’

चिनी बोल्यो, ‘केको थोरथोरै, बिहान यी यस्तै– हलुवापुरी, जेरी–स्वारी । खानामा मासु, तेल धेरै भएको तरकारी । दिउँसो म:म:, पिज्जा, समोसा मिठाइ । बेलुका जमघट भयो भने तेलमा फ्राइ गरेका के–के हुन् के–के चिकेन फ्राइ, आलु फ्राइ, काउली, भ्यान्टा, मासु, पनिर फ्राइ आदि–इत्यादि । सबै चिल्लै त हुन् नि ।’

तेलले आत्तिँदै भन्यो, ‘हुन्न–हुन्न, यत्तिका धेरै चिल्लो खानु हुन्न त ।’

घिउले विस्तारै चिनीतिर हेर्दै भन्यो, ‘हुन त तँलाई पनि धेरै खान्छन् है ।’

चिनीले खुसी हुँदै भन्यो, ‘हो नि, मेरो त चर्चा गरेरै सकिंँदैन नि । बिहानदेखि रातिसम्म, बच्चादेखि बूढासम्म सबैले मनपराउँछन् ।’

तेलले भन्यो, ‘हलुवा, जेरी, सेल, चिया सबैमा त तैं छस् ।’

चिनीले भन्यो, ‘त्यतिमात्र कहाँ हो र ? ऊ त्यो फ्यान्टा, कोक, स्प्राइट, फ्रुटी, अन्य गुलियो पेयपदार्थ, आइसक्रिममा नभई हुँदैन । केक, पेस्ट्री, रसबरी, लालमोहन, लड्डु, बर्फी सबै प्रकारका मिठाइमा नभई हुँदैन । अझ सोनपापड, लाखामारी, बिस्कुटजस्ता धेरै समय टिकाउन प्याक्ड गरेका खानेकुरामा पनि यथेष्ट हुन्छु ।’

घिउले भन्यो, ‘तँलाई त बोराका बोरै किन्छन् होला है मिठाइ पसलेले त ?’

चिनीले स्वीकार्‍यो, ‘हो यार, ठिक भनिस् । भित्र गोदाममा दुइटा बोरामा छौं ।’

तेलले भन्यो, ‘तेरो भाउ त पहिलेदेखि नै धेरै थियो नि । पहिला–पहिला त मिठो चिया भनेकै चिनी धेरै भएको मानिन्थ्यो । धन्न अहिले अलिक चेतना भए जस्तो छ– चिनी धेरै खानुहुन्न भन्छन् ।’

चिनीले बेलिविस्तार लगाउँदै भन्यो, ‘हो नि । जसरी नुनतेल भान्छामा नभई नहुने भन्थे, त्यसरी नै उत्पादनदेखि हरेक घर–घरमा मेरो उपस्थिति अति आवश्यक हुँदै आयो । खासगरी चियाको लागि । कसैको घरमा परिवारको सदस्य बित्यो भने पनि दु:खको बेला भेटघाट गर्न जाँदा लिएर जाने मुख्य वस्तु पनि चिनी हुनथाल्यो ।’

ध्यान दिएर सुनिरहेको घिउले भन्यो, ‘तेरो उत्पादन घरमै नहुने भएकोले तँलाई फेरि किन्नैपर्ने हुन्छ । तेरो बजार भाउ पनि बेलाबेलामा अकासिन्छ र पो । व्यापारीले नि लुकाउँछन् । हामीलाई त गाउँघरमा अझै घरमै बनाउँछन् । सहरतिर हो, किन्ने ।’

घिउले सोध्यो, ‘अहिले त गाउँमै पनि गाईभैंसी पाल्ने कम भए, पाले पनि दूध नै बेच्छन् । त्यसैले घिउ पनि किन्छन् । तोरी लाउने पनि कम भए । सबैले तेल पनि किन्ने नै भैसके । ‘शुद्ध तोरीको तेल त स्वास्थ्यको लागि पनि लाभदायक छ नि होइन र ?’

तेलले विश्वस्त गर्दै भन्यो, ‘हो नि, अहिलेको वैज्ञानिक आधारमा भन्ने हो भने तोरीको तेल पनि ठिक छ, ठिक्क मात्रामा घिउ पनि ठिक छ ।’

चिनीले अलि रिसाउँदै प्रस्ट्यायो, ‘स्वास्थ्यको लागि हानिकारक त मैमात्र भैराख्या छु नि ।’ मेरो मात्रा धेरै खाए भने मोटाउने सम्भावना एकदम धेरै हुन्छ । मधुमेह हुने सम्भावना पनि बढ्छ । हेर न मधुमेहको नामै मेरो नामबाट राखिदिएको चिनीरोग रे । खानेकुराको नामबाटै रोगको नाम कहिल्यै सुन्या छस् ? घिउरोग, तेलरोग, मासुरोग, अन्डारोग, भातरोग, केरारोग, रक्सीरोग कहिल्यै सुन्या छस् ? कस्तो रिसउठ्दो । मलाई धेरै खाने पनि उनीहरू अनि मेरो बेइज्जत गर्ने पनि उनीहरू नै ।’

तेलले भन्यो, ‘हो नि, मुटुरोग, मस्तिष्कघात, मृगौला खराब, आँखा बिग्रने, स्नायु प्रणालीमा नराम्रो असर पनि मधुमेह हुनेलाई धेरै हुने सम्भावना हुन्छ ।’

घिउले व्यङ्ग कस्यो, ‘के गर्नु ? हलुवा तँ नभई मिठो हुन्न रे, जेरी नि मिठो हुन्न, मिठाइको त कुरै छाडौं । चियामा त जसोतसो चिनी नभएको पनि खान थाल्या छन्, तर चिनी नभा चियासँगै दुइटा जेरी, दुइटा बर्फी खाइदिएपछि चियामा चिनी किन चाहियो र ?’

चिनीले ठूलो स्वरमा भन्यो, ‘मेरो विचारमा मलाई यिनीहरूले प्रयोग नगरेकै राम्रो । मैले दिने शक्ति त धेरै खानेकुराबाट पाइहाल्छ– जस्तै– फलफूल, गहुँ, चामल, मकै, दूध । शक्तिको लागि आवश्यक सुगर (म) अरु खानाबाट प्राप्त हुने भएकोले थप सुगर नखाँदा हुन्छ ।’

घिउले सोध्यो, ‘अनि स्वाद ?’

मुख खुम्च्याउँदै चिनी बोल्यो, ‘बिगारेकै यही स्वादले

त हो नि । स्वाद लिने यो जिब्रोले थाहै पाउँदैन कति खाने भनेर । प्लेटमा होउन्जेल वा ख्वाउनेले दिउन्जेल नाइँ भन्दैन जिब्रो ।’

तेलले भन्यो, ‘जिब्रोलाई नियन्त्रण त मनले गर्नुपर्‍यो नि । स्वादकै लागि ज्यानलाई नै खराब त हुनदिनु भएन नि ।’

घिउले विस्तारै भन्यो, ‘मनै भाँडेर त नचाहिने काम गर्छन् नि यी मान्छेहरू ।’

चिनीले के–के नचाहिने काम होला भन्ने सोच्यो । ‘हुन त खाने बाहेक पिउने, तान्ने पनि कत्ति नचाहिने गर्दा हुन् ? अरु पनि खै के खै के ?’

तेलले झस्कायो, ‘के टोलाएको ?’

‘केही होइन । मलाई धेरै नखाइदिए हुन्छ भनेर सोचेको ।’ चिनीले आफ्नै कुरा अघि सार्दै भन्यो, ‘हाम्रा यत्ति कुरा पढेपछि त पक्कै चिनी खान छाड्लान् नि वा कम गर्लान् नि है ?’

घिउ बोल्यो, ‘आस गरौं । स्वस्थ रहन मनलाई नियन्त्रण गरेर खानपानमा ध्यान दिनेछन् ।’

तेलले अलि झर्केर भन्यो, ‘ध्यान नदिए नराम्रो बेहोर्ने पनि यिनले नै हो क्यार । हाम्रो काम सम्झाउनु हो ।’

चिनीले बिन्ती गर्‍यो, ‘अबदेखि मलाई धेरै नखानुस् है ।’

(धुलिखेल अस्पतालका मेडिकल डाइरेक्टर समेत रहेका डा.कोजु बरिष्ठ मुटुरोग बिशेषज्ञ हुन  उनको यो लेख हामीले  कान्तिपुर दैनिकबाट साभार गरेका हौं ।)

ताजा खबर