नेपाल भ्रमण वर्ष २०२० को तयारी सरकारले तीब्र गतिमा अघि बढाएको छ : मन्त्री भट्टराई

”सरकारले नेपाल भ्रमण वर्ष २०२० को तयारी तीब्र गतिमा अघि बढाएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले देशभित्र मात्र होइन विदेशमा पनि भ्रमण वर्षमा पर्यटन भित्र्याउन प्रचार–प्रसारको कामलाई निरन्तरता दिएको छ। भ्रमण वर्षको तयारी, नेपालमा पर्यटन गन्तव्यहरूको भौतिक पूर्वाधारको अवस्था, अपेक्षा गरेअनुसारको पर्यटक भित्र्याउने योजना लगायतका विषयमा केन्द्रित भएर संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईसँग सफल नेपालका लागि शोभा शर्माले लिएको अन्तर्वार्ताको सम्पादित अंश  …”

नेपाल भ्रमण वर्ष २०२० को तयारी कसरी अघि बढिरहेको छ ?

सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रूपमा घोषणा गरेको छ। भ्रमण वर्षको मुख्य उद्देश्य अन्तर्राष्ट्रिय पर्यटकलाई नेपालमा भित्र्याउने हो। नेपाललाई पर्यकीय गन्तव्यको रूपमा विश्वस्तरमा चिनाउने आन्तरिक र बाह्य दुवै पर्यटक प्रवद्र्धन गर्ने उद्देश्यका साथ भ्रमण वर्ष २०२० घोषणा गरिएको छ।

भ्रमण वर्षलाई सफल बनाउन भिन्नै सचिवालय बनाइएको छ। कार्यक्रम संयोजकहरू तोकिएका छन्। नेपाल भ्रमण वर्षको सचिवालय र नेपाल पर्यटन बोर्ड दुवैको समन्वय र सहयोगबाट काम अघि बढिरहेको छ।

हामी भ्रमण वर्षको पूर्व सन्ध्यामा आइसकेका छौं। भ्रमण वर्षलाई प्रवद्र्धन गर्न विभिन्न विदेशी मिडियाहरूसँग सम्झौता गर्ने काम भइरहेको छ। विभिन्न देशमा आयोजना हुने टुरिजम एक्सपो महोत्सवमा नेपालको बारेमा प्रचार–प्रसार गर्ने काम भएको छ।

विभिन्न देशका ट्राभल्स एजेन्सी, टुर गाइडहरू, टुर अपरेटर एयरलाइन्ससँग पनि हाम्रो छलफल भइरहेको छ। अन्तर्राष्ट्रिय रूपमा चिनिएका विभिन्न देशका नागरिकहरूलाई नेपाल भ्रमण वर्षको गुडविल एम्बेसडर बनाउने र उहाँहरूमार्फत प्रचार–प्रसार गर्ने कामहरू पनि भईरहेका छन्।

भ्रमण वर्षलाई सफल बनाउन २०२० जनवरी १ मा काठमाडौंसहित सातवटै प्रदेशमा भव्य रुपमा शुभारम्भ गर्ने तय गरेका छौं। विदेशस्थित नेपालका जहाँ–जहाँ कूटनीतिक नियोगहरू छन, कन्सुलर अफिसहरू छन् ती सबै देशहरूमा जनवरी ७ तारिकमा शुभारम्भ कार्यक्रम हुन्छ।

ती कार्यक्रममा सम्बन्धित देशका राष्ट्र प्रमुख, सरकार प्रमुख, पर्यटन क्षेत्रका प्रबुद्ध व्यक्ति, सांसद, मन्त्री नगरपालिकाका प्रमुख व्यक्तित्वहरूलाई नेपालमा सुरु हुने भ्रमण वर्षको क्रममा आमन्त्रण गर्ने भनेका छौं।

नेपालका सबै राजदूतावासहरूमा निर्देशन गरेका छौं। जनवरी १ तारिकमा हुने उद्घाटन कार्यक्रममा करिब ४० देशका पर्यटन मन्त्रीहरूलाई सो समारोेहमा सहभागी गराउन हामीले पत्राचार गरेका छौं।

भ्रमण वर्षको तयारी भइरहँदा पर्यटकहरू पुग्ने गन्तव्यसम्मको भौतिक पूर्वाधारको काम प्रभावकारी भएन भन्ने गुनासो छ नि ?

विकसित मूलुकहरूको तुलनामा पूर्वाधार कम छ। तर पनि सुधार गर्ने, नयाँ–नयाँ पूर्वाधारको विकास गर्ने काममा सरकार लागि रहेको छ। भ्रमण वर्षलाई सफल बनाउने साथसाथै पर्यटकको संख्या वृद्धि गर्ने उद्देश्यका साथ दुई वटा अन्तर्राष्ट्रिय विमानस्थलहरू दु्रत गतिमा निर्माण भइसकेका छन्।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सम्पन्न हुने चरणमा पुगेको छ। २०२० को मार्चबाट गौतमबुद्ध विमास्थलबाट फ्लाइट शुरु गर्ने लक्ष्य राखेका छौं। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल २०२१ बाट सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ।

काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थलाई थपसुधार गर्दै बुटिक विमानस्थलको रूपमा रूपान्तरण गर्ने काममा लागिपरेका छौं। कतिपय नेपाली र विदेशी एयरलाइन्सहरूले विदेशमा थप हवाई सेवा विस्तार गरेका छन्।

जसले गर्दा पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव पर्ने देखिन्छ। हामीले अन्तरमन्त्रालय समन्वय समिति मन्त्रिपरिषद्ले पास गरिसकेको छौं। विशेषगरी पर्यटकीय गन्तव्यसम्म जाने सडक मार्गहरूको स्तरउन्नति गर्ने कुरामा अन्तरमन्त्रालय समन्वयमा काम गरिरहेका छौं। हामी सम्पूर्ण तयारीको साथ अघि बढेका छौं।

नेपालको पर्यटन क्षेत्रको पूर्वाधार निर्माणमा कति खर्च गर्नुपर्ने अनुमान गरिएको छ ?

पर्यटन क्षेत्रको विकास गर्न विनियोजन गरेको पुँजीगत खर्च न्यून नै छ। तर पनि हामीले ठूलठूला आयोजनाहरू अघि बढाइरहेका छौं। पर्यटन क्षेत्रको विकास गर्न दुई राष्ट्रिय गौरवका आयोजना निर्माणको अन्तिम चरणमा पुगेको छ। सरकारले ठूलो लगानी पर्यटन क्षेत्रमा खर्चिएको छ।

खासगरी पर्यटन गन्तव्यहरूको विकास गर्ने क्रममा हाम्रो उचित ध्यान पुग्न सकेको छैन्। हामीले प्रदेश सरकार र स्थानीय सरकारालाई आ–आफ्नो ठाउँमा भएका निश्चित पर्यटकीय गन्तव्यको विकासका लागि फोकस गर्न आग्रह गरेका छौं। सबैतिर एकै पटक काम गरेर परिणाम निकाल्ने कुरा सम्भव छैन्।

मेरो विचारमा मेला–महोत्सवहरू अब सबै स्थानीय सरकारले नै प्रमोसन गर्नुपर्छ। केही स्थापित प्र्राकृतिक, सांस्कृति र पर्यटन क्षेत्रको पूर्वाधार निर्माणमा प्रदेश सरकारले ध्यान दिनुपर्छ। ठूला गन्तव्यहरूमा पूर्वाधार निर्माण र अन्तर्राष्ट्रिय रूपमा प्रचारप्रसारको काम संघीय सरकारले गर्नुपर्छ।

स्थानीय तहको सरकारले निश्चित बजेट पर्यटन क्षेत्रको विकासको लागि खर्च गर्नुपर्छ। कम्तिमा एक÷दुई वटा पर्यटकीय गन्तव्यहरू बनाएर स्थानीय तहले आन्तरिक पर्यटक प्रबद्र्धन गर्ने कार्यमा लाग्नु पर्छ।

उदाहरणको लागि वार्षिक ३ करोड चाइनिजहरू तिब्बत भ्रमणमा आउँछन्। तिब्बतलाई चीन बाहिरको पर्यटक नै चाहिएन। भारतीयहरू पनि आफ्नो देशमा घुमिरहेका हुन्छन्।

स्थानीय तहको सरकारले किन बजेट भएर पनि काम गर्न सकिरहेका छैनन् त ?

विकासको सम्पूर्ण अवधारणाहरू अस्पष्ट भएकाले तल त्यस्तो भएको हो। पर्यटन प्रवद्र्धनले स्थानीय तहलाई कसरी बलियो बनाउँछ?, त्यहाँको आयस्तर र रोजगारी कसरी सिर्जना गर्छ, उत्पादन कसरी बढ्छ भन्ने कुरा बुझाउन जरुरी छ।स्थानीय उत्पादनलाई अघि बढाउनुपर्छ। स्थानीय तहहरूले कसरी पैसा खर्च गरिरहेका छन् यसको समीक्षा गर्नु जरुरी छ।

भ्रमण वर्षमा कति खर्च हुने अनुमान गरिएको छ ?

हामीले करिब ६५ करोडको बजेट बनाएका छौं। अहिले हामीसँग रू. २५ करोड मात्र छ। तर प्रधानमन्त्रीज्यूले काम गरेर परिणाम निकाल्नुहोस पैसाको अभाव हुँदैन भनेर उत्साहित बनाउनुभएको छ।

सरकारबाट गरिएको घोषणा एक सय गन्तव्यको विकासका लागि के काम भइरहेको छ ?

दुई वर्षमा एउटा गन्तव्यको लागि एक करोड बजेट दिएका छौं। सरकारले पठाएको पैसाको जथाभावी दुरुपयोग गर्न पाईदैन। यसको प्रभावकारी अनुगमन गर्ने कार्य भइरहेको छ।

समीक्षा गरेर मात्र ठोस र उल्लेखित ठाउँमा मात्र बजेट दिनुपर्छ। पर्यटकीय गन्तव्य भनेको बालकदेखि वृद्धिसम्म रमाउने ठाउँ हुनुपर्छ। संघ, प्रदेश र स्थानीय सरकार तीन तहकै समन्वयमा निजी क्षेत्रलाई पनि सहभागी गराएर मानव निर्मित पर्यकीय गन्तव्यको विकास गर्नुपर्छ।

देश समृद्धिको आधारमध्ये पर्यटनक्षेत्र पनि एक हो। भ्रमण वर्ष सफल बनाउन पर्यटनव्यवसायीहरू कत्तिको उत्साहित भएको पाउनुभएको छ ?

हामीले भ्रमण वर्षमा नेपाल आउने पर्यटकहरूलाई क–कसले, के–के छुट दिन सक्नुहुन्छ, त्यसको घोषणा गर्नु भनेका छौं। होटल एसोसिएसनले भ्रमण वर्षको लागि केही निश्चित प्याकेज घोषणा गरेको छ। त्यसैगरी होमस्टेले पनि प्याकेज घोषणा गरेको छ।

एयरलाइन्सलाई पनि हामीले आग्रह गरेका छौं। नेपालमा उडान हुने आन्तरिक उडानको भाडादर महँगो हुँदा नेपाल आउने पर्यटकहरूको ठूलो संख्या काठमाडौं बाहिर गएनन् भन्ने व्यवसायीको गुनासो छ। त्यसमा एयरलाइन्स सञ्चालकहरूसँग बसेर छलफल गरिरहेका छौं।

त्यसको लागि हामीले कार्यदल बनाएर नै भाडादर समायोजन गर्न सकिन्छ। किनकी आन्तरिक भाडादर जति सस्तो हुन्छ, त्यति नै पर्यटकहरूको संख्या बढी काठमाडौं बाहिर जान्छ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुनुपूर्व हामीले केही प्याकेज घोषणा गर्दैछौं। कुनै पनि अन्तर्राष्ट्रिय उडान गर्ने एयरलाइन्सहरूलाई केही वर्षसम्म विशेष छुट दिनु नै पर्छ। पर्यटनको विकासको लागि सरकारको तर्फबाट गर्नुपर्ने, निजी क्षेत्रबाट गर्नुपर्ने, व्यवसायीहरूले गर्नुपर्ने कामहरूलाई एकीकृत ढंगले अघि बढाउनु पर्छ भन्ने मान्यता लिएका छौं।

सरकार निजी क्षेत्रसँग सहकार्य गरेर काम गरिरहेको छ। पर्यटन प्रबद्र्धन गर्न पब्लिक, प्राइभेट पार्टनसीपमै जाने हो। मेरोचाहीँ सर्वसाधारण जनताको पनि पर्यटन प्रवद्र्धनमा ठूलो योगदान भएकाले चार वटा पीबाट अघि बढनुपर्ने मत छ। हामी १५ औं पञ्चवर्षीय योजना कार्यान्वयनको चरणमा छौं।

अहिले जिडिपीमा पर्यटन क्षेत्रको ३ प्रतिशत योगदान छ। त्यसलाई दस प्रतिशत पुर्याउने योजना पञ्चवर्षीय योजनामा राखेका छौं। त्यसैगरी पर्यटन क्षेत्रमा वार्षीक डेढ देखि दुई लाख नयाँ रोजगारी सिर्जना गर्ने भनेका छौं। पर्यटकहरूको बसाइँ लम्ब्यिाउने नीति लिएका छौं।

प्रति पर्यटक अहिले ४५ डलर खर्च गर्ने गरेका छन् । त्यसलाई कम्तिमा असी डलर पुर्याउने लक्ष्य किटान गरेका छौं। यो भ्रमण वर्षले १५ औं पञ्चवर्षे योजनालाई पनि सहयोग गर्छ। निजी क्षेत्रका संघसंगठनहरू भ्रमण वर्षलाई सफल बनाउन उत्साहका साथ जुटेका छन्। भ्रमण वर्ष मुल आयोजक समितिमा पर्यटन व्यवसायीहरू पनि हुनुहुन्छ।

होटल व्यवसायीलाई छुट दिने के योजना छ ?

ठूलठूला गन्तव्यमा राम्रो होटलहरू निर्माण गर्न सबै व्यवसायीहरूलाई आग्रह गरेका छौं। होटल निर्माणको सुरुवाती चरणमा हामी केही सहुलियत पनि दिन्छौं। नीति बनाएर नै निश्चित अवधिसम्मको लागि राजश्वमा छुट दिने लगायतका काम सरकारले गर्छ। सरकारले नीतिगत निर्माण र पूर्वाधारको विकास गर्ने हो। अरू निजी क्षेत्रले गर्नुपर्छ। निजी क्षेत्रलाई प्रबद्र्धन गरेर सरकार अघि बढछ।

होमस्टेको विकासमा सरकारले थप के योजना बनाएको छ ?

होमस्टेमा नेपाल प्रारम्भिक चरणमै छ। केही नाम चलेका होमस्टे पनि छन्। होमस्टेलाई प्रवद्र्धनको लागि सरकारले सहयोग गर्नुपर्छ। ग्रेट हिमालय ट्रेल विश्वासको सबै भन्दा राम्रो पदयात्रा हो।

जो हिमालको काखमुनि १ सय २० दिन भन्दा बढी समय लाग्छ। यी क्षेत्रमा राम्रोसँग होमस्टेका विकास गर्न सकेको खण्डमा धेरै ठूलो संख्या ग्रेट हिमाल ट्रेलमा आउने अवस्था छ।

पूर्वदेखि पश्चिमसम्म धेरै राम्रो पदमार्गहरू छन्। त्यसको खोजी र विकास गर्ने कार्यमा जुटेका छौं। होमस्टेल सञ्चालन गर्न सरकारले अनुदान पनि दिन्छ। स्थानीय सरकारले पनि अनुदान दिनुपर्छ।

नेपालमा धार्मिक पर्यटन भित्र्याउने विषयमा के योजना छ ?

धार्मिक हिसाबले नेपालको लुम्बिनी, पशुपतिनाथ र जनकपुर लगायतका स्थल विश्वको सामु परिचित छन्। बौद्ध धर्म मान्ने देशका राष्ट्रप्रमुख, नाम चलेका व्यक्तिहरू ल्याउने योजना अघि बढाउन लुम्बिनी विकास कोषलाई निर्देशन दिएको छु।

पशुपतिनाथलाई फोकस गरी भारतका उच्च तहका व्यक्तिहरूलाई नेपालमा ल्याउनको लागि प्रचार प्रसार गर्न निर्देशन दिएको छु। नेपाल सांस्कृत र प्राकृतिक रूपमा विश्वमै धनी छ।

सांस्कृति रूपमा सभ्यताको प्रारम्भिक कालदेखिका पुरातात्कि वस्तुहरू नेपालमा छन्। आगामी दुई वर्षभित्र भुकम्पबाट ध्वस्त भएका सम्पदाहरूको निर्माण सम्पन्न गर्ने सरकारको लक्ष्य छ। नेपालको पर्यटनको महत्वपूर्ण पाट भनेको सांस्कृति हो।

जातिगत, धर्मगत संस्कृतिकोे विविधत्ता छ, त्यसलाई भरपुरमात्रामा उपयोग गर्ने योजनाअघि सारेका छौं। कतिपय देशमा छ महिना अध्याँरो हुन्छ। तर हाम्रो देश बाह्रै महिना पर्यटन गन्तव्यको आकर्षण मानिन्छ।

विदेशमा चाहीं प्रचारप्रसारको काम कसरी अघि बढेको छ ?

विदेशमा पनि भ्रमण वर्षको प्रचार–प्रसार तीब्र गतिमा अघि बढेको छ। भ्रमण वर्ष सचिवालय र एनआरएनको बीचमा भ्रमण वर्षमा धेरै भन्दा धेरै पर्यटन भित्र्याउने सम्झौता सम्पन्न भएको छ। २०२० मा नेपाल भ्रमण वर्ष भनेर विश्वभर सन्देश पुर्याएका छौं।

विदेशी एयरलाइन्सले नेपालमा फ्लाइट थप्नको लागि निवेदन दिईरहेका छन्। यस बीचमा अष्टे«लिया र संयुक्त अबर इमिरेस्ट युएईसँग हवाई सम्झौता गर्यौ। चीनको दस वटा क्षेत्रबाट फ्लाइट गर्ने गरी सम्झौता गरेका छौं।

कतिपय नयाँ एरलाइन्सहरू थपिंदै छन्। बैंकक, मलेसिया र भारतलगायतका विभिन्न ठाउँबाट काठमाडौं उडान गर्न अनुमति मागिरहेका छन्। अहिले ३० वटा एयरलाइन्सका दैनिक ५५ देखि ६० वटा फ्लाइट हुन्छन। भ्रमण वर्षमा करिब २० वटा फ्लाइट थपिन्छन्।

विदेशी एयरलाइन्सले नेपालमा उडानको अनुमति माग्दै गर्दा नेपाल एरलाइन्सले चाहिं के गरिरहेको छ ?

नेपाल एयरलाइन्स अहिले क्रिटिकल अवस्थामा आउनु पछाडिको धेरै कारण छन्। भर्खरैको कारणले यो अवस्थामा आएको होइन। धेरै पहिलादेखि संख्यात्मक रूपमा होइन गुणात्मक रुपमा बेथिति थपियो। नेपाल एरलाइन्स निकै कमजोर अवस्थामा आइपुगेको छ।

यसलाई सामान्य सिटामेल र तातोपानी दिएर यो निको हुँदैन, यसलाई ठूलै अप्रेसन गर्नुपर्छ। कस्ता अप्रेसन गर्ने भन्ने विषयमा विज्ञहरूको कार्यदल बनाएर सुझाव माग्ने काम गरेको छु। सुझाव आइसकेको छ। त्यो सुझावको आधारमा स्टेप अघि बढाउँदै छौ।

वार्षिक ४ अर्ब यसले ब्याज तिनुपर्छ। ४० अर्ब त ऋण छ। चार वटा अन्तर्राष्ट्रिय उडान गर्ने जहाजहरू छन्। यतिको एरलाइन्ससँग कम्तिमा दस वटा अन्तर्राष्ट्रिय उडान गर्ने जहाज भइदिएको भए, एउटा जहाजको इन्जिनमा केही समस्या हुनासाथ अर्को जहाज जान्थ्यो।

तर एउटा जहाजको उडानमा समस्या आउनसाथ कतिदिनसम्म ग्राउन्डेट हुन्छ। भएका जहाजले राम्रोसँग सुविधा दिन सकेका छैन्। मेनेजमेन्टमा व्यवसायिक क्षमता भएन, त्यहाँबाट पनि घाटा छ। हाम्रो नेपालको डेस्टिनेसनमा फ्लाइट गरेर अरू एयरलाइन्सले नाफा कमाए।

अरूले नाफा कमाउने अनि हामी चाँही घाटा खाने कसरी हुन सक्छ ? त्यसको मतलब हामी त असफल व्यापारी हौ। हो भने अब जो सफल छ त्यसले व्यापार गर्नु पर्यो। असफल व्यापरीले किन व्यापारमा हात हाल्ने ? आएको सुझावको आधारमा सार्वजनिक कम्पनीको रुपमा रुपान्तरण गर्दैछौं।

सरकार मातहत रहेका व्यवसायिककम्पनीहरूकै शेयरमा नेपाल एरलाइन्सलाई कम्पनीमा लैजाने सोच बनाएका छौं। कम्पनीमा स्मार्ट म्यानेजमेन्ट आउँछ, बेथितिलाई हटाउँछौ।

त्यसपछि हामी अन्तर्राष्ट्रिय उडानमा ख्याति कमाएका एयरलाइन्ससँग रणनैतिक साझेदारी पनि गछौं। हामी केही आन्तरिक उडानको लागि साना जहाज थप्नुको साथै अन्तर्राष्ट्रिय उडान गर्ने जहाज पनि थप्छौ।

मार्केटमा व्यावसायिक प्रतिस्पर्धा गर्नसक्ने अवस्थामा नेपाल एयरलाइन्सलाई पुर्याउने मेरो उद्देश्य छ। यसमा बाधा अवरोध आउँछन, मलाई थाहा छ। नेपाल एयरलाइन्सलाई दोहेर खानेहरूले पनि अवरोध सिर्जना गर्छन। यस्ता केही बाधा पन्छाएर मन्त्रालय अघि बढछ।

पर्यटनमा छिमेकीलाई प्राथमिकता

राष्ट्रको समृद्धिको मुख्य आधार पर्यटन क्षेत्र नै हो। पर्यटन क्षेत्रको विकासबाटै राष्ट्रिय अर्थतन्त्र बलियो बनाउन सकिन्छ। परिणाम निकाल्ने गरी पर्यटन क्षेत्रको विकास गर्न भौतिक पूर्वाधार निर्माणको कामलाई अघि बढाइएको छ।

पर्यटन क्षेत्रको विकासले व्यापार घाटालाई कम गर्छ। वैदेशिक मुद्राको सञ्चितिलाई बढाउँछ। पर्यटन क्षेत्रबाटै देशको आर्थिक क्रियाकलाप वृद्धि हुन्छ। देशभित्रै रोजगारीको अवसर सिर्जना हुन्छ। स्थानीय उत्पादनले बजार पाउँछ।

पर्यटनकै कारण अन्तर्राष्ट्रिय क्षेत्रमा पनि नेपाल चिनिन्छ, पर्यटन हरेक हिसाबमा हाम्रो जीवन पद्धति हो। नेपाललाई पर्यटकीय गन्तव्यका रूपमा विश्वस्तरमा चिनाउने आन्तरिक र बाह्य दुवै पर्यटक प्रवद्र्धन गर्ने उद्देश्यका साथ भ्रमण वर्ष–२०२० घोषणा गरिएको हो।

मुख्य गरी दशवटा पर्यटकीय गन्तव्यलाई फोकस गरेका छौं। प्रचार–प्रसार पनि त्यसको विकासका लागि गर्ने योजना छ। एयरलाइन्सहरूको सेवा सुविधा पनि ज्यादा त्यहीं पुर्याउन लक्ष्य लिइएको छ। छिमेकी मुलुकहरूलाई मात्र प्रभावित पार्न सकियो भने भ्रमण वर्ष सफल हुन्छ। भारतमा डेढ अर्ब जनसंख्या छ। त्यसै गरी चीन र बंगलादेशबाट पनि ठूलो संख्यामा पर्यटक भित्याउन सकिन्छ।


ताजा खबर