हेटौँडामा बृहत् खेलकुद तथा व्यापार महोत्सव सुरु

मकवानपुर जिल्ला खेलकुद विकास समितिको मुख्य आयोजनामा आजबाट हेटौँडामा बृहत् खेलकुद तथा व्यापार महोत्सव सुरु भएको छ ।  हेटौँडा–१० स्थित टीसीएन खेल मैदानमा आगामी पुस १७ गतेसम्म चल्ने महोत्सवको आज एक समारोहका बीच बागमती प्रदेशका वन तथा वातावरण मन्त्री मसिना खड्काले उद्घाटन गर्नुभयो ।

महोत्सवको उद्घाटन गर्नुहुँदै मन्त्री खड्काले खेलकुदसँगै आर्थिक रुपमा जोडिएको हुँदा यसले दुवै क्षेत्रलाई टेवा पु¥याउने बताउनुभयो । उहाँले विशेष गरि खेल क्षेत्रको विकासको पवित्र उद्देश्यका साथ सञ्चालित कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

खेलकुद विकास समितिका अध्यक्ष वेष खड्कीको सभाध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा विभिन्न धर्म संस्कृतिका झाँकी तथा महिलाहरुद्धारा पञ्चेबाजा प्रदर्शनी समेत गरिएको थियो । विभिन्न धर्म संस्कृतिका झाँकी, विद्यार्थी, खेलाडी, विभिन्न झाँकीसहित हेटौँडा बजार परिक्रममा गरी महोत्सव स्थल पुगेको थियो ।

कार्यक्रममा प्रदेश सभा सदस्य एकालाल श्रेष्ठ, हेटौँडा उपमहानगरका प्रमुख मीना कुमारी लामा, उपप्रमुख राजेश बानियाँ, पूर्व नगर प्रमुख हरि बहादुर महत, हेटौँडाका वडा अध्यक्षहरू, सुरक्षा निकायका प्रमुखहरू, विभिन्न खेलकुद सङ्घसंस्थाका अध्यक्षहरू, खेलका प्रशिक्षकहरू लगायत विभिन्न युवा क्लब तथा टोल विकास संस्थाका अध्यक्षहरूको आतिथ्यता रहेको थियो ।

महोत्सव अवधिभर किनमेल, साङ्गीतिक प्रस्तुती, नृत्यसहित दैनिकरुपमा खेलकुद प्रतियोगिता आयोजना हुने छ । महोत्सवभर १३ वटा विधामा राष्ट्रिय, प्रदेश र जिल्लास्तरीय खेलकुद प्रतियोगिता सञ्चालन गरिने खड्गीले बताउनुभयो । उहाँका अनुसार मेला स्थलमै राष्ट्रिय महिला भलिबल प्रतियोगिता सञ्चालन हुनेछन् । महोत्सवमा कृषि, पर्यटन, हस्तकला, अटोमोबाइलका साथै बाल उद्यान समेत राखिएको छ । महोत्सवमा दैनिक नेपालका चर्चित राष्ट्रिय कलाकारको साङ्गीतिक तथा मनोरञ्जनात्मक प्रस्तुती रहने आयोजकले जनाएको छ । मेलामा करिब २ सय ६० वटा स्टल रहेका छन् ।  रासस


ताजा खबर