लुम्बिनी प्रदेशमा महिला कर्मचारीलाई महिनावारी विदा

लुम्बिनी प्रदेश सरकारले महिला कर्मचारीलाई महिनावारी विदा दिने भएको छ । निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्थापन गर्न वनेको ऐनको परिच्छेद १३ को ११७ मा निजामती कर्मचारीले पाउने विदामा महिनावारी (पिरियड) बिदा भनेर समावेश गरिएको छ ।

कर्मचारीले भैपरी आउने र पर्व बिदा, घर बिदा अनी महिनावारी पिरियड बिदा, बिरामी बिदा, प्रसुती बिदा, प्रसुती स्याहार बिदा, मृत्यु संस्कार बिदा, अध्ययन बिदा, असाधारण बिदा पाउने उल्लेख छ । बिदा निजामती कर्मचारीको अधिकार नभई सहुलियत मात्र रहेको ऐनमा उल्लेख गरिएको छ ।

प्रदेशसभामा असार २२ गते बिधेयक दर्ता भएको थियो । सरकारले दर्ता गरेको बिधेयक माथी निरन्तर छलफल भएको थियो । भदौ २२ गते प्रदेश सभाको बैठकले सर्वसम्म रुपमा बिधेयक पारित गरेको थियो । यो विधेयकलाई प्रदेश प्रमुख अमिक शेरचनले मंसिर २१ गते प्रमाणिकरण गर्नुभएको थियो । प्रदेश सरकारले ऐन राजपत्रमा प्रकाशित गर्न बाँकी छ ।

राजपत्रमा प्रकाशित भएपछि सबै कर्मचारीलाई जानकारी हुने मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ । यो विदा लुम्बिनी प्रदेश मातहतमा रहेका कर्मचारीले मात्र पाउने छन् ।

अहिले प्रदेशमा दुई हजार ६ सय कर्मचारी छन् । जसमध्ये पाँच सय ५० महिला कर्मचारी छन् । स्थानीय तहमा लागु हुनको लागी भने स्थानीय तह सेवा ऐन बन्नुपर्ने छ । यो ऐन बनाउन प्रदेश सरकारले विधेयकको प्रस्तावना बनाउने तयारीमा छ ।

लैंगिकताको दृष्टिकोणले महिनावारी विदालाई ऐमा समावेश गर्न सफल भएको र अव यसलाई कार्यान्वयनमा लगिनुपर्ने प्रदेश सभा सदस्य निमा गिरीले बताउनु भयो । महिनावारी भएको समयमा एक दिन महिलाले विदा पाउने व्यवस्था गरिएको छ ।


ताजा खबर