धुलिखेलमा व्यवसायिकरुपमा प्याराग्लाईडिङ

काभ्रेको सदरमुकाम धुलिखेल नगरपालिका देविस्थान डाँडाबाट ब्यवसायिक रुपमा प्याराग्लाईडिङ शुरु गरिएको छ । ब्यवसायिकरुपमा शुरु गरेको प्याराग्लाईडिङले तीन सातादेखि ब्यवसायिक उडान सुरु गरिएको हो ।

काभ्रेको पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने उद्देश्यले व्यवसायिक प्याराग्लाईडिङ सञ्चालनमा आएको हो । धुलिखेल नगरपालिका वडा नम्बर ९ स्थित देविस्थानबाट धुलिखेल-८ बडाल गाउँसम्म पुग्ने गरी १ हजार ७ सय मिटर उचाईमा उडानका लागि अनुमति प्राप्त गरेको विश्वबजार प्याराग्लाईडिङ प्रालीले जानकारी दिएको छ ।

ब्यवसायिक उडानका लागि प्राप्त अनुमतिका आधारमा आवश्यक मापदण्ड पूरा गरेर ब्यवसायीक उडान शुरु गरेका हो । साहसिक पर्यटकीय मनोरञ्जन प्राप्त हुने प्याराग्लाईडिङको ब्यवसायिक उडानले उपत्यकासँग जोडिएको काभ्रेको विकास र समृद्धिमा थप योगदान पुग्ने धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुले जानकारी दिनुभयो ।

उहाँले साहसिक खेललाई प्रचारप्रसारसँगै प्रवर्द्धन गर्ने उद्देश्यले व्यवसायिक प्याराग्लाइडिङ उडान शुरु गरिएको जानकारी दिनुभयो । उहाँले साहसिक उडान शुरु भएपछि धुलिखेल आसपासका क्षेत्रको मात्र नभई समग्र काभे्रकै आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनसँगै आर्थिक विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

पाईलट महेन्द्रबहादुर भट्टराईका अनुसार देविस्थानबाट गरिएको प्याराग्लाईडिङको उडानबाट नेपालका ३३ वटा हिमालहरु प्रत्यक्ष देख्न सकिन्छ । सगरमाथा देखि कन्चनजंगा, माछापुछ्रे हिमाल सहजै देख्न सकिन्छ ।

करिव आधा घण्टामा विभिन्न दृश्यसहित काभ्रे जिल्लाका धार्मिकस्थल नमोबुद्धदेखि पलाञ्चोकसम्म, पाँचखाल, नमोबुद्ध, धुलिखेल, बनेपा लगायतका क्षेत्रको सहज अवलोकन गर्न सकिनेछ । प्याराग्लाईडिङका लागि दैनिक पाँच जना पाईलटहरुले उडान भर्ने गरेका छन् । रासस


ताजा खबर