टाइमको वर्षव्यक्ति टेलर स्विफ्ट : साम अल्टम्यान उत्कृष्ट सीईओ र मेस्सी उत्कृष्ट खेलाडी

विश्वप्रसिद्ध टाइम म्यागजिनले टेलर स्विफ्टलाई २०२३ को वर्षव्यक्ति घोषित गरेको छ।

टाइमले विश्वव्यापीरूपमा सर्वाधिक प्रभाव पार्ने व्यक्तिलाई वर्षव्यक्तिको उपाधिबाट सम्मानित गर्दै आएको छ। ३३ वर्षीया अमेरिकी गायिका स्विफ्टले वर्षव्यक्ति चुनिएपछि आफू ‘गौरवान्वित र खुशी भएको’ बताएकी छिन्।

‘कलाकारको रूपमा स्विफ्टका उपलब्धिहरूको साँस्कृतिक प्रभाव, समालोचकीय प्रशंसा र व्यावसायिक सफलता यति व्यापक छ कि तिनको गणना गर्नु व्यर्थ हुनेछ। पप स्टारको रूपमा उनी एल्भिस प्रेस्ली, माइकल ज्याक्सन र म्याडोनाको तहमा छिन्। गीतलेखका रूपमा उनलाई बब डिलन, पल मकार्टनी र जोनी मिचेलसँग तुलना गरिंदै आएको छ। व्यवसायीका रूपमा उनले एक अर्ब अमेरिकी डलरभन्दा माथिको साम्राज्य खडा गरेकी छिन्। र, सेलिब्रिटीका हिसाबमा- महिला भएकै नाताले उनले कसको प्रेममा छिन् र के लगाउँछिन् भनेर निरीक्षण हुन्छ- उनले लामो समयदेखि ध्यानआकर्षण गराइरहेकी छिन र उनलाई थाहा छ यसलाई कसरी प्रयोग गर्ने भने,’ टाइमले उल्लेख गरेको छ।

टेलर स्विफ्ट   तस्वीर : टाइमका लागि इनेज र विनूध

टाइमले यस वर्ष स्विफ्टका गतिविधि राजनीति र मौसमबारे कुरा गरे जस्तै कुनै सन्दर्भ विनै बुझिने गरी महसूस भएको पनि उल्लेख गरेको छ। ‘उनी यो विश्वको मुख्य पात्र भइन्,’ टाइमले भनेको छ।

विश्लेषकहरूले थाइल्यान्ड, हंगेरी र चिलीका राजनीतिज्ञले स्विफ्टलाई आफ्नो राष्ट्रमा प्रस्तुति दिन आग्रह गरेकोबाट ‘टेलर प्रभाव’को मूल्यांकन गरेका छन्। शहरहरू, रंगशालाहरू र गल्लीहरू स्विफ्टको नाममा नामाकरण गरिएको थियो। उनी पुगेको प्रत्येक नयाँ ठाउँका होटल र रेष्टुराँमा मानिसहरूको भिड बढेको र सानै रूपमा भए पनि आर्थिक उछाल देखापरेको थियो।

‘यो वर्ष उनी आफ्नो शिल्पमा निपुण भइन्- आफ्ना संगीतमा मात्र होइन, आधुनिक कालको पारङ्गत कथावाचकका रूपमा। बदलामा संसारले उनलाई हेर्‍यो, रोयो, नाच्यो, सँगै गीत गायो, मदहोस भयो, लामबद्ध भई रंगशाला र सिनेमाहलमा गयो,’ टाइमले लेखेको छ।

sam altman reading list
साम अल्टम्यान वर्ष सीईओ

टाइमले यस वर्ष ओपन एआईका सीईओ (प्रमुख कार्यकारी अधिकृत) साम अल्टम्यानलाई वर्ष सीईओ घोषणा गर्‍यो।

३८ वर्षीय अल्टम्यान सर्वाधिक शक्तिशाली र श्रद्धेय कार्यकारीका रूपमा उदाएको टाइमको ठहर छ। उनी प्रविधि क्रान्तिको अगुवा भएको टाइमले उल्लेख गरेको छ।

अल्टम्यान केही दिनअघि मात्र ओपन एआईबाट निष्कासित भएर पुनः कम्पनीमा बहाली भएका थिए।

ओपन एआई विश्वचर्चित च्याटबोट ‘च्याट जीपीटी’को निर्माता हो। च्याट जीपीटी र जीपीटी-४ कम्पनी र विश्वका लागि युगान्तकारी भएको टाइमले उल्लेख गरेको छ।

‘सन् २०२३ मा धेरै मानिसले एआईलाई गम्भीरतापूर्वक लिए,’ अल्टम्यानको भनाइलाई उद्धृत गर्दै टाइमले लेखेको छ।

Image
अर्जेन्टिनी फूटबल टोलीका कप्तान लियोनल मेस्सी

टाइमले यस वर्षको उत्कृष्ट खेलाडी अर्जेन्टिनी फूटबल टोलीका कप्तान लियोनल मेस्सीलाई घोषणा गरेको छ। रोयटर्स


ताजा खबर