भान्साको चालचलन र भाँडाका रूप फेर्दै इन्डक्सन चुल्हो : शेखर खरेल

अँगेनो वा ग्याँस चुल्होमा आगो बालेर खाना पकाउँदै आएका हामी विद्युतीय चुल्होको युगमा प्रवेश गर्दा भर्भराउँदो ज्वाला त हराउने नै छ, भाँडाका रूप पनि फेरिनेछन्।

राणा प्रधानमन्त्री चन्द्रशमशेरले १९६८ सालमा फर्पिङमा निर्माण गरेको ५०० किलोवाट क्षमताको जलविद्युत् गृह (चन्द्रज्योति) को बिजुली सिंहदरबार छिरेको थियो ।

त्यसको ठीक एक शताब्दी एक दशकपछि बिजुली समग्र नेपाली जनजीवन उजिल्याउने चमत्कारी ऊर्जामा बदलिंदैछ । अन्य क्षेत्र र प्रयोजनमा प्रभाव जमाएको बिजुलीले अब चाँडै हाम्रो भान्साको चालचलन पनि फेर्दैछ, इन्डक्सन अर्थात् विद्युतीय चुल्हो मार्फत ।

किनकि, कुनै समय लोडसेडिङको अँध्यारो युग सामना गरेको देशमा नयाँ विद्युत् आयोजनाहरू धमाधम बनेर थपिंदै गएको बिजुलीको उपयोग बढीभन्दा बढी गर्नुपर्ने चरणमा प्रवेश गर्दैछौं ।

दाउरा बालिने चुल्हो नै नेपाली भान्साको आदिम र मौलिक प्रचलन हो । जसलाई विस्तारै भुस खाँदेर बालिने भुसे, मट्टीतेलमा लत्ती कपडा डुबाएर बालिने लत्ते र दम दिएर बालिने स्टोभले विस्थापित गरे ।

त्यसपछि एलपी (लिक्युफाइड पेट्रोलियम) ग्यास चुल्होको युग शुरू भयो, जसले अद्यापि वर्चस्व जमाइरहेको छ ।

नेपाली भान्साका लागि विद्युत् अपरिचित ऊर्जा होइन । बिजुली प्रयोग गर्न थालेसँगै दाउरा र भुसे चुल्हो छेउ नागबेली तारजडित माटोको बिजुली हीटर (चुल्हो) नबलेका होइनन् ।

खाना पकाउनेदेखि आगो ताप्ने, सुत्केरी र नवजात शिशु सेकाउनसम्म त्यही हीटरको प्रयोग गरिन्थ्यो । यस्तो हीटरले ऊर्जा उत्पात खपत गर्ने भए पनि बिजुलीमा निर्भर रहनेका लागि विकल्प थिएन ।

आज भने प्रविधिले फरक प्रयोजनका लागि फरक विद्युतीय उपकरणका विकल्पहरू दिएको छ, जुन किफायती पनि छ । जसका कारण बिजुली खाने यस्ता हीटर एकादेशका कथा बनिसकेका छन् ।

प्रविधिले फेर्ने लय

नयाँ पुस्तामाझ लोकप्रिय शब्द हो, स्मार्ट । यो शब्दप्रतिको सम्मोहन यस्तो छ, नीतिनिर्मातादेखि चुनावका उम्मेदवारसम्मले लोकरिझ्याइँका लागि प्रयोग गरिरहेका हुन्छन् ।

स्मार्ट शब्दको सम्बन्ध खासगरी प्रविधिसँग छ, जसले कार्यक्षमता र ऊर्जाको न्यून खपत दर्शाउँछ । हिजो परम्परागत जीवनशैलीसँग पौंठेजोरी खेल्दै एउटा पुस्ता हुर्कियो । उसले समयक्रममा विकसित प्रविधि र उपलब्ध सुविधालाई आफ्नो जीवनाधार बनायो ।

पंक्तिकार त्यसै पुस्ताको एक प्रतिनिधि पात्र हो । खरिपाटीदेखि टचस्क्रिनसम्म, माटाको चुल्हो र ओदानदेखि इन्डक्सनसम्मको उसको यात्रा रोमाञ्चक अनुभव हो, जुन कल्पनामा समेत थिएन । खरिपाटीमा चक घोट्दै र मेटाउँदै शिक्षा आर्जन गरेको त्यो पुस्ता आज नयाँ प्रविधि र जीवनशैलीमा अभ्यस्त बन्दैछ ।

प्रविधिले प्रयोगकर्ताको जीवन सहज पार्ने मात्र होइन, उसको जीवनशैली र सामाजिकतामा पनि परिवर्तन ल्याइरहेको हुन्छ । दाउराको चुल्होदेखि स्टोभ, ग्याँस हुँदै माइक्रोवेभ ओभनसम्म आइपुग्दा नेपालीको सामाजिक जीवनमा ठूलो बदलाव आएको छ ।

” सडक हुन् वा सार्वजनिक सवारी, कार्यालय हुन् वा घर, रेस्टुराँ हुन् वा घरका भान्सा, आउने एकाध वर्षभित्रै विद्युतीय ऊर्जा नेपाली जनजीवनको केन्द्रमा रहनेछ । यो ऊर्जाको व्यापकतासँगै नेपाली जीवनशैलीमा उदाहरणीय परिवर्तन हुनेछ । ”

जस्तो, दाउरा वा लत्तादार चुल्हो घरीघरी बालिरहन सहज नहुने भएकाले परिवारका लागि एकै पटक खाना पाक्थ्यो । चुल्हो वरपर बसेर परिवारको सामूहिक भोजन चल्थ्यो ।

आज, फ्याट्ट ग्याँस चुल्हो बाल्न सकिने, पाकिसकेका खाना रेफ्रिजेरेटरमा राख्न मिल्ने र चिसिएका खानालाई फेरि मिनेटभरमै माइक्रोवेभमा तताउन संभव भएका कारण परिवारका सदस्यलाई आफ्नो समय अनुसार भोजनको सुविधा छ ।

निकट भविष्यमा हुने इन्डक्सनको प्रयोगबाट हाम्रो सामाजिकीकरणमा मात्र नभएर अनुभूतिमा समेत आमूल परिवर्तन आउनेछ । त्यो के भने, हिजो भर्भराउँदो आगो देख्दै आएकाहरूले अब उप्रान्त देख्न पाउने छैनन् ।

धान देख्नु भन्दा पहिले चामल देख्ने, उपभोग्य वस्तुलाई प्रकृति र खुलापनमा भन्दा पनि बट्टा र प्याकेटमा देख्दै आएका स्मार्ट पुस्ताले अब आगो देख्न ‘क्याम्पफायर’ नै गर्नुपर्ने हुनसक्छ ।

न्यू योर्क टाइम्स का स्तम्भकार एवं राजनीतिक विश्लेषक थोमस फ्रिडम्यानले आफ्नो चर्चित पुस्तक ‘द वर्ल्ड इज फ्ल्याट’ मा सूचनाप्रविधिको उत्कर्ष र विश्वव्यापीकरणले संसार साँघुरिएका कारण पृथ्वी गोलो नभएर थेप्चो हुँदै गएको तर्क गरेका छन् ।

हाम्रा पकाउने भाँडाका पिंध पनि अब इन्डक्सन चुल्होका कारण गोलाकार नभएर थेप्चा हुनेछन् । गोलाकार कराई र कसौडीलाई थेप्चा पिंधका डेक्ची र प्यानले विस्थापित गर्नेछन् ।

वीरगञ्जका ताप्के तथा ताम्राकारले बनाउने कसौडी र फोसी इन्डक्सन सुहाउँदा हुने छैनन् । इन्डक्सन जताबाट भित्रिनेछन्, तिनलाई मिल्ने भाँडाकुँडा पनि त्यतैबाट आउनेछन् ।

सडक हुन् वा सार्वजनिक सवारी, कार्यालय हुन् वा घर, रेस्टुराँ हुन् वा घरका भान्सा, आउने एकाध वर्षभित्रै विद्युतीय ऊर्जा नेपाली जनजीवनको केन्द्रमा रहनेछ । यो ऊर्जाको व्यापकतासँगै नेपाली जीवनशैलीमा उदाहरणीय परिवर्तन हुनेछ ।

साभारः हिमाल खबर पत्रिका

ताजा खबर