बालबालिकामा मोबाइलको लतले झर्किने समस्या बढ्यो

प्रविधिको विस्तारसँगै पछिल्लो समय सबैको हातहातमा मोबाइल फोन पुगेको छ । यसबाट विभिन्न सूचना आदानप्रदान तथा कुराकानीमा सहज त भएको छ, तर विभिन्न फाइदासँगै कतिपय अवस्थामा यसको सही सदुपयोग हुन नसक्दा हानी पनि हुने गरेको छ ।

मोबाइल फोनको बढ्दो प्रयोगसँगै पछिल्लो समय बालबालिकामा मोबाइलको लत बस्ने समस्या बढ्दै गएको छ ।

मोबाइलको बढी प्रयोग गर्नाले बालबालिकामा बोली ढिलो आउने र मोबाइलको लत बसेपछि मानसिक, शारीरिक तथा सर्वाङ्गीण विकासमा नै समस्या आउने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यद्यपि त्यो बालबालिकासँग मात्र जोडिएको नभई अभिभावकको आनीबानीसँग पनि सम्बन्धित रहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले केही समय अघि सूचना नै जारी गरेर बालबालिकामा मोबाइलको लत बस्न नदिन अभिभावकलाई सचेत रहन सुझाव दिएको थियो ।

बालबालिकाले आफैँ मोबाइल चलाउँदैनन्, अभिभावकले अत्यधिक मोबाइल प्रयोग गर्दा उनीहरूले पनि देखेर सिक्छन् र लत बस्ने हुनसक्छ जसका कारण मोबाइलको लत बसेका बालबालिकामा निद्रा ढिलो लाग्ने, निद्रा पातलो हुने र निद्राबाट पटक पटक ब्युँझने समस्या देखिने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताउनुभयो ।

उहाँ भन्नुहुन्छ, मोबाइलको लत बसेका बालबालिकामा एकोहोरो हुने, रिसाउने, झर्किने, रुने, दोहोरो कुरा नगर्ने हुन सक्छ । मस्तिष्क विकास हुने अधिकतम उमेरमा मोबाइलको लत बसेमा यसले बालबालिकाको सर्वाङ्गीण विकासमा नै असर पुग्ने हुन्छ । त्यस्तै यो लत लामो समयसम्म बस्दै गएमा स्नायु रोग, मुटुको रोग, मिर्गौला सम्बन्धी रोग, कानमा असर, नपुंसकता, ब्रेन सम्बन्धी क्यान्सरलगायतका समस्या देखिने र स्वास्थ्यमा दीर्घकालीन असर पर्न सक्छ ।

बालबालिकामा मोबाइलको लत कम गर्न सबैभन्दा प्रमुख भूमिका अभिभावकको हुने विज्ञहरू बताउँछन् । विज्ञहरूका अनुसार बालबालिका तथा किशोर किशोरीमा मोबाइलको लत अहिले विश्वव्यापी समस्याका रूपमा देखिएको छ ।

बालबालिकालाई मोबाइलको लत लागिसकेपछि बाहिर निस्कन गाह्रो हुने भएकाले मोबाइलको सही सदुपयोगका सम्बन्धमा अभिभावक जानकार हुनुपर्ने देखिन्छ । मोबाइलको लतले बालबालिकामा सकारात्मक भन्दा नकारात्मक असर बढी हुने भएकाले यसतर्फ समयमै सचेत रहन विज्ञहरुको सुझाव छ ।

मनोविद् गोपाल ढकाल भन्नुहुन्छ, बालबालिकासँग अन्तरक्रिया गरेर, उनीहरूका साथीहरूसँग घुलमिल हुन दिएर नै बालबालिकाको सर्वाङ्गीण विकास हुने गर्दछ, त्यसकारण बालबालिकामा मोबाइलको लत बस्न नदिन अभिभावक सचेत हुनुपर्ने हुन्छ ।

मनोविद् ढकाल भन्नुहुन्छ, बालबालिकाको हकमा मोबाइलको प्रयोग सूचनाको जानकारीका लागि भन्दा पनि मनोरञ्जनको साधनका रुपमा र बालबालिकालाई भुलाउने माध्यमको रुपमा अभिभावकले प्रयोग गरिरहेको पाइएको छ । यसबाट राम्रो परिणाम आउँदैन ।

सुत्नुभन्दा अगाडि मोबाइल हेरेका बालबालिकामा मोबाइल स्क्रिनबाट आउने उज्यालोले निद्रा लाग्ने हर्मोन उत्सर्जनमा समस्या हुने तथ्य पाइएको छ ।

सरकारले मोबाइलको लतबाट हुने असर र त्यसलाई कम गर्न अभिभावकले गर्नुपर्ने कामबारे सचेतना फैलाउनुपर्ने आवश्यकता रहेको पनि विज्ञहरुको धारणा छ । त्यस्तै सरकारले नेपालमा कति स्क्रिन टाइम उपयुक्त हो भन्ने मापदण्ड बनाउनुपर्ने र त्यो पालना गर्न सबैलाई उत्प्रेरित गर्नुपर्ने विज्ञहरूको सुझाव छ । सफल नेपाल


ताजा खबर