‘जोखिम तत्व नियन्त्रण गरे मष्तिष्कघात बाट बच्न सकिन्छ’

सन्दर्भः विश्व पक्षघात दिवस २०२३

आज अक्टोवर-२९, विश्व पक्षघात दिवस विश्वभर विभिन्न कार्यक्रम गरेर मनाईदै छ । यस वर्षको मुख्य नारा “ Together we are #GreaterThan Stroke” (सबैजना मिलेर पक्षघात माथि बिजय गर्नुपर्छ) भन्ने छ, जसको अर्थ हामि सबै मिलेर पक्षघात हुने जोखिम् कारक तत्वहरु जस्तै उच्च रक्तचाप, मधुमेह, मोटोपना, धुम्रपान, निश्क्रिय जीवन पद्वती, अस्वस्थ आहार र मुटुको चालको गडबडि समयमै नियन्त्रण गरेमा हामी ८० देखी ९० प्रतिशत मष्तिष्कघात बाट बच्नसक्छौं साथै पक्षघात समयमै पहिचान गरेर विरामीलाई अस्पताल लगेमा दिमागको नसाहरु निश्क्रिय हुनबाट वचाउन सकिन्छ जसले गर्दा मष्तिष्कघात बाट हुने दिर्घगामी असर बाट हामी वच्न सक्छौ ।

विश्वको परिप्रेक्षमा हेर्दा हरेक वर्ष एक करोड तीस लाख मानिस ( 13 Million People ) लाई मष्तिष्कघात हुन्छ र यसले गर्दा वर्षेनी ५५ लाख (5.5 Million) मानीसहरुलाई मृत्युको मुखमा पुर्‍याउछ । हरेक ६ सेकेन्डमा एकजना लाई मष्तिष्क घातले असर गर्दछ र हरेक ४ जनामा एक जनालाई मष्तिष्कघातको लक्षण देखिन्छ । संसारमा पक्षघात (स्ट्रोक) मुटुको रोग पछि दोस्रो ठूलो मृत्युको कारण हो । यो आँकडा हेर्दा मष्तिष्कघातको असर भयावह रुपमा देखिन्छ र खासगरी अल्पविकसीत र विकासोन्मुख देशमा सम्पूर्ण मष्तिष्कघात मध्ये ७० देखी ८० % मष्तिष्कघातका विरामीहरु भेटिन्छन् ।

नेपालको ई.सं.२०१८ को आंकडा हेर्दा सम्पूर्ण मृत्युको ९.७३% मृत्यु (१६२०३) जना स्ट्रोकको कारण भएको देखिन्छ र सोही सालमा अन्दाजी ३२,००० जना स्ट्रोकले प्रभावीत भएको देखिन्छ । पछिल्लो सामुदायीक अध्यनमा पक्षघातको व्यापकता (Prevalence)  २.४% देखिन्छ र समुदायमा हरेक एकलाख मानिसहरु मध्येमा करिव तीन हजार जना  पक्षघातका विरामी भटिन्छन् ।

पक्षघात किन हुन्छ । लक्षण के–के हुन् ?

मष्तिष्कघात / पक्षघात हुनुको कारण धेरै जसो ६०–७० % मा मष्तिष्कमा रगत संचालन हुने नसा बन्द हुनु हो । जसलाई हामी इस्केमिक स्ट्रोक भन्दछौं र २० –३०% रगतको नसा फुट्ने हुन्छ र त्यसलाई हेमोरेजीक स्ट्रोक भनिन्छ । नसा बन्द भएपछी जुन ठाउँको रगत संचालन बन्द भयोे त्यही मष्तिष्कको हिस्साले गर्नुपर्ने काममा असर आउँछ र विभिन्न लक्षणहरु देखिन्छ । सामान्यतय मष्तिष्कघातका प्रमुख लक्षणलाई अंग्रेजीमा BEFAST (Balance, Loss of eye sight, Facial drooping, Arm weakness, Speech, Time)  र नेपालीमा स.अ.ज.ब.ह.स भनेर सम्झनु भएमा यसका लक्षणहरु पहिचान गर्न सजीलो हुन्छ ।
स–सन्तुलन गुम्नु
अ– अनुहार बांगोहुनु
ज–आँखाको ज्योती गुम्नु
ब– बोली लरबराउनु
ह–हात खुट्टा लुलोहुनु
स–समयमा उपचार गराउनु

माथि दिइएका मुख्य लक्षण मध्य कुनै पनि लक्षण कुनै व्यक्तिमा देखिएमा मष्तिष्कघात हुनसक्छ भनेर तुरुन्त अस्पताल लैजानुपर्दछ ।

पक्षघातका कारक तत्वहरु के–के हुन् ?

विभिन्न जोखिम कारक तत्वले पक्षघात हुनसक्छ उक्तरक्तचाप मधुमेह, मोटोपना, धुम्रपान, निश्क्रिय जीवन पद्वती, अस्वस्थ आहार र मुटुको चालको गडबढि (Atrial Fibrillation) मुख्य कारक तत्वहरु हुन् । यी सबै कारक तत्वहरुलाई नियन्त्रण गरेमा हामी ८०–९०% मष्तिष्कघात बाट बच्नसक्छौं । यदि तपाईलाई आफ्नो मष्तिष्कघातको हुन सक्ने सम्भावनाको आँकलन गर्न इच्छा छ भने स्ट्रोक रिस्कोमिटर (Stroke Riskometer) भन्ने मोबाईल एप निशुल्क नेपाली भाषामा पनी पाउन सकिन्छ जसलाई University of  Auckland ले विकास गरेको छ र नेपाल पक्षघात संघले नेपालीमा अनुवाद गरेको छ । यो एप लाई आजको मिति देखि नै आफ्नो मोबाईलमा डाउनलोड गरेर आफ्नो मष्तिष्कघातको सम्भावना निकालौ र त्यहि अनुसार हामी सावधान बनौं ।

मष्तिष्कघातको उपचार कसरी गरिन्छ ?

यदि तपाई मध्य कसैको परिवारको सदस्य वा समुदायको कसैलाई माथि उल्लेखित लक्षण देखेमा तुरुन्त अस्पताल जानुपर्दछ । अस्पतालमा आकस्मीक कक्षमा तपाईको प्रारम्भीक जाच गरिन्छ र सि.टि स्केन वा एम. आर. आई गरेर कुन प्रकारको मष्तिष्कघात हो, छुट्याईन्छ । यदि मष्तिष्तघात इस्केमिक (Eschemic)  हो भने रगतको ढिक्का (Clot) फटाउने औषधी Alteplase दिएर बन्द भएको नसालाई खोल्ने प्रयास गरिन्छ । यदि ठुलो नसा बन्द छ भने औषधीको साथै विरामीलाई क्याथल्याव (Cath Lab) रगतको ढिकालाई विषेश प्रकारको पाईप वा जाली (Aspiration Cathator) प्रयोग गरेर नसा खुलाउने प्रयास गरिन्छ । यदि समय मै (मष्तिष्कघात भएको ४:३० घन्टा भित्र) हामी अस्पताल पुग्यो भने उक्त उपचारको लाभ लिन सक्छौ र मष्तिष्कघात बाट हुने दुरगामी असर र प्यरालाईसिस बाट बच्न सक्छौ । मष्तिष्कघात फेरि नदोरीईयोस भनेर रगत पातलो गर्ने औषधीहरु दिइन्छ र साथै जोखिमका कारण विशेष गरि उक्त रक्तचाप र मधुमेहको उचित नियन्त्रण गरिन्छ । अस्पतालमा र अस्पतालबाट डिस्चार्ज भएपछि पनि फिजीयोथेरापीका साथै पुर्नस्थापनामा विशेष जोड दिईन्छ ।

नेपालमा पक्षघात उपचारको अवस्था र चुनौती
हाम्रो देशको भौगोलीक अवस्था र विकाटता र उपचारको साधन श्रोतका साथै मानव शक्तिको अभाव पक्षघातको उपचारका चुनौतिहरु हुन् । यसका लागि सरकारी प्रतिबद्धताका साथै पक्षघातलाई जनसमुदायको आपतकालीन रोगका रुपमा पहिचान गरेर निम्न कदमहरु चाल्नुपर्ने देखिन्छ ।

१. अहिले विद्यमान मानव स्रोत र सेवा सुविधाको आकलन गरेर आवश्यकता र विद्घमान अवस्थाको खाडललाई पहिचान गर्ने।
२. हरेक क्षेत्रीय स्तरमा कम्तिमा एक-एक ओटा पक्षघात उपचार गर्ने मिल्ने अस्पतालको विकास गर्ने र उपयुक्त उपचार र जनशक्ति लाई तालिम गराई चरण वद्घरुपमा पक्षघातको सेवा सुरु गर्ने यदि मष्तिष्तघात इस्केमिक (Ischemic) हो भने रगतको ढिक्का (Clot) फटाउने औषधी Alteplase/tenecteplase सरकारले निशुल्क प्रदान गर्ने ब्यबस्था गर्ने ।
३. जनमानसमा पक्षघातको जनचेतना फैलाउने ।
४. देश व्यापिरुपमा पक्षघातको तथ्याङक लाई (Stroke Registry) व्यवस्थापन गर्ने ।
५. टेलिस्ट्रोक (Telestroke) विकास गर्ने ताकि दुर्गम ठाउँमा यसको उपयोग गरि पक्षघातको विरामी लाई समयमै पहिचान गरि उपचार गर्ने सकियोस ।

नेपाल पक्षघात संघले पक्षघात सम्बन्धि जनचेतना फैलाउन का साथै विभिन्न ठाउँमा चिकित्सकहरुलाई तालीम र ज्ञान वर्धक कार्यक्रमहरु गर्दै आएको छ । नेपाल पक्षघात संघले युनिभर्सिटि अफ हाईडलबर्ग (University of Heidelberg) र जि आइ जेड् (GIZ) को सहकार्यमा “नेपाल स्ट्रोक प्रोजेक्ट” संचालन गरिराखेको छ । उक्त प्रोजेटको उदेश्य जनचेतना फैलाउनको साथै उपचारको लागि विभिन्न अस्पातलमा चिकित्सक, स्टाफ नर्स, इमरजेन्सी चिकित्सक, फिजीयोथेरापिस्टहरु लाई तालिम प्रदान गर्ने हुनेछ । यसका साथै अस्पतालको स्ट्रोक सम्बधि तथ्याङक (Stroke Registry) व्यवस्थापन गर्नमा सहयोग गर्नेछ । यदि हामी सबै हातेमेलो गर्यौभने हाम्रो देशको विधमान पक्षघात सम्बधि उपचारको चुनैतिहरुलाई सामाना गर्न सक्नेछौ ।

न्यूरोलोजी विषयका डिएम डा. राजु पौडेल बरिष्ठ न्युरोलोजिष्ट हुनुहुन्छ ।


ताजा खबर