अख्तियारको वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन पेश गर्नुभएको छ ।

राष्ट्रपति कार्यालय शितलनिवासमा आज आयोजित विशेष समारोहबिच राष्ट्रपति पौडेल समक्ष प्रमुख आयुक्त राईले आयोगको आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन पेश गर्नुभएको हो ।

प्रतिवेदन ग्रहणपछि समारोहलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा ढिलासुस्ती र विसङ्गति हटाएर सुशासन कायम गर्न, भ्रष्टाचाररहित समाज निर्माण गर्न अख्तियारले अझ प्रभावकारी ढंगले काम गर्ने आफूले विश्वास लिएको बताउनुभयो ।

राष्ट्रपति पौडेलले विद्यमान बेथितिहरूलाई अन्त्य गर्दै जनतालाई छिटो छरितो सेवा प्रवाह गर्न अख्तियारले आधुनिक प्रविधि र संयन्त्रको प्रयोग गरी आफूलाई थप क्रियाशील र समयानुकूल परिमार्जन गर्दै लैजानुपर्ने बताउनुभयो ।

जनताको चाहना विकास, सुशासन र दिगो शान्तिसहित समृद्ध नेपाल निर्माण भएकाले त्यसलाई पुरा गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग जस्ता संवैधानिक निकायले पुलको रुपमा काम गर्दै जानुपर्ने आवश्यकता पनि औँल्याउनुभयो ।

त्यस अवसरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईले अख्तियारमा परेका उजुरीमध्ये गत आर्थिक वर्षमा ६६ प्रतिशतभन्दा बढी उजुरीको फर्छ्यौट गर्न आयोग सफल भएको बताउनुभयो ।

प्रमुख आयुक्त राईले गत आर्थिक वर्षमा आयोगमा २० हजार ९ सय ५ उजुरीहरू प्राप्त भएको र त्यसमा सबैभन्दा बढी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र स्थानीय तह समेतको रहेको बताउनुभयो ।

प्रतिवेदन अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र स्थानीय तह समेतको गत आर्थिक वर्षको कुल उजुरीको करिब ३६ प्रतिशत रहेको छ भने शिक्षाको १४ प्रतिशत र भूमि व्यवस्था सम्बन्धी ६ प्रतिशत उजुरी परेको देखिएको छ ।

प्रतिवेदन बुझाउन आयोजित समारोहमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्तहरू, आयोग र राष्ट्रपति कार्यालयका उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो ।

सफल नेपाल / तस्वीरः अनिष रेग्मी, राष्ट्रपतिको कार्यालय


ताजा खबर