भारतीय प्रधानमन्त्री मोदी र साउदी युवराजबिच द्विपक्षीय वार्ता

साउदी अरबका युवराज मोहम्मद बिन सलमान अल साउद र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच सोमबार नयाँ दिल्लीमा द्विपक्षीय भेटवार्ता भएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र साउदी अरबका युवराजले रणनीतिक साझेदारी परिषद्का दुई मन्त्रीस्तरीय समिति अर्थात् राजनीतिक, सुरक्षा, सामाजिक तथा सांस्कृतिक सहयोग समिति र आर्थिक तथा लगानी सहयोगसम्बन्धी समितिअन्तर्गत भएका प्रगतिको समीक्षा गर्नुहुनेछ ।

प्रधानमन्त्री मोदी र साउदी अरबका युवराजबिच राजनीतिक, सुरक्षा, रक्षा, व्यापार र आर्थिक, सांस्कृतिक र जनस्तरको सम्बन्धलगायत द्विपक्षीय सम्बन्धका सबै पक्षमा छलफल हुनेछ ।

दुवै नेताबिच पारस्परिक हितका क्षेत्रीय र अन्तर्राष्ट्रिय विषयमा पनि छलफल हुनेछ । साउदी युवराजका साथ मन्त्रीहरू र वरिष्ठ अधिकारीहरूसहित एक उच्च स्तरीय प्रतिनिधिमण्डल छ ।

प्रधानमन्त्री मोदीसँग भेटवार्ता गर्नुअघि साउदी अरबका युवराजलाई राष्ट्रपति भवनमा औपचारिक स्वागत गरिएको थियो ।

यसैबिच, मोहम्मद बिन सलमानले एक संक्षिप्त वक्तव्यजारी गर्दै जी–२० को सफल अध्यक्षताका लागि भारतलाई बधाई दिनुभएको छ ।

पत्रकारहरूसँग कुरा गर्दै उहाँले भन्नुभयो, “राम्रो कामका लागि भारतलाई उच्च सम्मान छ । धेरै घोषणाहरू गरिएका छन् जसले हाम्रा देशहरू, जी–२० सदस्य राष्ट्र र सम्पूर्ण विश्वलाई फाइदा पुर्‍याउनेछ ।” उहाँले भन्नुभयो, “राम्रो भयो र हामी दुवै देशको भविष्य निर्माण गर्न काम गर्नेछौं ।”

जी–२० नेताहरूको शिखर सम्मेलनमा भारत, संयुक्त राज्य अमेरिका, साउदी अरब र युरोपियन युनियनले भारत–मध्य पूर्व–युरोप सामान आपूर्ति र रेलवे कनेक्टिभिटी कोरिडोर सुरु गर्न ऐतिहासिक सम्झौताको घोषणा गरेका छन् । भारत, संयुक्त अरब इमिरेट्स, साउदी अरब, युएई, फ्रान्स, इटाली, जर्मनी र अमेरिकासम्मिलित कनेक्टिभिटी र पूर्वाधारमा सहयोगका लागि यो ऐतिहासिक र पहिलो पहल हो ।

जी–२० शिखर सम्मेलनमा बोल्दै राजकुमार बिन सलमानले भन्नुभयो, “हामी यस बैठकमा घोषणा गरिएको पहल र आर्थिक कोरिडोर परियोजनाको एकीकरणको लागि तत्पर छौँ । यो महत्त्वपूर्ण आर्थिक कोरिडोर स्थापनाका लागि यो चरणमा पुग्न हामीसँग काम गर्ने सबैलाई म धन्यवाद दिन चाहन्छु ।”

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यस सम्झौताले विश्वभर कनेक्टिभिटी र दिगोपनालाई दिगो दिशा प्रदान गर्ने बताउनुभएको छ । यसअघि साउदी अरबका युवराजले सन् २०१९ को फेब्रुअरीमा भारतको राजकीय भ्रमण गर्नुभएको थियो ।

द्विपक्षीय भेटवार्तामा भारतीय विदेशमन्त्री एस जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाललगायत सहभागी थिए । भारतको तीन दिने राजकीय भ्रमणमा आएका साउदी अरबका युवराज तथा प्रधानमन्त्री जी–२० शिखर सम्मेलनमा सहभागी हुनुभएको थियो ।

दुवै नेताले रणनीतिक साझेदारी परिषद्को प्रथम बैठकको सह–अध्यक्षता पनि गर्नुहुनेछ । रासस/एएनआई


ताजा खबर