‘मेची आमा’ लाई ‘नारी शिक्षा एवं जागरण सम्मान’

‘मेची आमा’ नामले सुपरिचित समाजसेवी स्व.दिलकुमारी श्रेष्ठलाई ‘नारी शिक्षा एवं जागरण सम्मान’ प्रदान गरिएको छ ।

ॐ भानु-वेद स्मृति प्रतिष्ठानद्वारा काठमाडौंमा आयोजित एक औपचारिक समारोहमा उहाँलाई मरणोपरान्त माया सिटौला नारी शिक्षा एवं जागरण सम्मान प्रदान गरिएको हो ।

मेची आमाको १२ औं पुण्यतिथिको अवसर पारेर प्रतिष्ठानले उहाँलाई सम्मान पत्रसँगै नगद रु. एकाउन्न हजार सहित सम्मानित गरेको थियो ।

नेपालकी प्रथम महिला प्रधानन्यायाधिश सम्माननीय सुशिला कार्कीले मेची आमाका जेठा छोरा विश्वनाथ श्रेष्ठलाई सो सम्मान हस्तान्तरण गर्नुभएको थियो ।

मेची आमाका कान्छा छोरा वरिष्ठ रेडियोलोजिष्ट डा. आनन्द प्रसाद श्रेष्ठले स्वीकार मन्तव्य व्यक्त गर्नुभएको थियो । मन्तव्यका क्रममा सर्बोच्च अदालतकी पूर्वप्रधानन्यायाधिश तथा नेपालको न्याय क्षेत्रकी प्रथम महिला प्रधान‍न्यायाधीश, कर्तव्यपरायण न्यायमूर्ती सम्माननीय सुशिला कार्कीको हातबाट आमाको नाममा सम्मान ग्रहण गर्दा मेची आमा परिवार गौरवान्वित भएको बताउनुभयो।

न्याय सेवामा रहँदा न्यायमूर्ती सम्माननीय कार्की सधैं कर्तव्यपरायण, फैसलाप्रति सधैं निष्ठावान र निष्पक्ष रहनुभएको कुरा सबैमा बिदितै रहेको दोहोर्याउनुहुँदै डा. श्रेष्ठले उहाँको कार्यकालमा भ्रष्टाचारविरुद्ध शुन्य सहिष्णुताकालागि आफ्नो उच्च सम्मान समेत व्यक्त गर्नुभयो।

समाज सेवा एक विशिष्ठ काम रहेको उल्लेख गर्नुहुँदै डा. श्रेष्ठले मेची आमाले आफ्नो जीवन सहँदासम्म अनेकौ समाज सेवा गर्नुभएको, विशेष गरी महिला लक्षित काम जस्तैः महिला साक्षरता,  महिलाको सीप विकासगरी समाजमा आत्म निर्भरता, महिला हक हितको संरक्षण तथा उत्थानमा अत्यन्त सक्रिय रहनुभएको स्मरण गर्नुभयो । आमाको अग्रसरतामा स्थापित संस्था “महिला आदर्श सेवा केन्द्र” पहिले वानेश्वरमा हाल बुढानिलकण्ठ नगरपालिका वडा नं. १० मा अवस्थित वालुवा खानीमा विभिन्न समाजसेवी तथा मेची आमा परिवारको सक्रियता र सहयोगमा आफ्नै नयाँ भवन निर्माण गरी सञ्चालित रहेको जानकारी गराउनुभयो ।

ॐ भानु-वेद स्मृती प्रतिष्ठानले मेची आमाको सम्मानमा नगद रु. ५१,०००/-  प्रदान गर्नुभएको रकममा मेची आमा परिवारका तर्फवाट त्यतिकै रकम थप गरी रु. एक लाख दुई हजार महिला आदर्श सेवा केन्द्रलाई प्रदान  गर्नुभयो ।

सो रकमले महिला लक्षित समाज सेवामा टेवा मिल्छ भन्ने विश्वास सहित ॐ भानु-वेद स्मृती प्रतिष्ठानले र मेची आमा परिवारका तर्फवाट प्रदान गरिएको सो रकम ॐ भानु-वेद स्मृती प्रतिष्ठानको सहमतिमा महिला आदर्श सेवा केन्द्रकी अध्यक्ष निरु श्रेष्ठलाई हस्तान्तरण गर्नुभयो।

प्रधानन्यायाधिश सम्माननीय सुशिला कार्कीले सम्वोधनका क्रममा मेची आमालाई स्मरण गर्दै झापामा महिला नेतृत्व अभाव रहेका बेला उहाँले महिला हकहित र जागरणको पक्षमा निर्भिक भएर वकालत गर्दै हिंड्नु भएको बताउनुभयो ।

ॐ भानु-वेद स्मृति प्रतिष्ठानका अध्यक्ष प्रा.डा. ॐ कृष्ण सिटौलाले पनि मेची आमाको व्यक्तित्व वारे चर्चा गर्नुभएको थियो । उहाँले आमासँगका संस्मरणहरुपनि सुनाउनुभएको थियो ।

२०२४ सालमा झापाको हल्दीबारीमा महिलाले पनि हलो जोत्न हुन्छ भन्दै पहिलोपटक यसको थालनी गरेर त्यतिबेलाको समाजलाई चुनौती समेत दिनुभएकी सरल, मृदुभाषी र सहयोगी भावनाकी स्व.दिलकुमारी श्रेष्ठ तत्कालीन नेपाल महिला संगठनको मेची अञ्चल इन्चार्ज हुँदै २०२७ सालमा राजसभा स्थायी समिति सदस्य समेत बन्नुभएको थियो ।

झापाको भद्रपुर १४ स्थायी घर भएकी स्व.श्रेष्ठ जिवनको अन्तिम दिनहरुमा राजधानीमा रहेका कान्छा छोरा डा. आनन्द प्रसाद श्रेष्ठ सँग बस्दै आउनु भएको थियो ।

काठमाडौंस्थित ॐ अस्पतालको सघन कक्षमा उपचारका क्रममा ९९ बर्षको उमेरमा २०६८ साल भाद्र १२ गते उहाँको निधन भएको थियो।

२०१७ सालदेखि समाजसेवा र राजनीतिमा सक्रिय मेची आमाको कामको उच्च मूल्यांकन गर्दै मेची अञ्चलकै आमाका रूपमा सम्मान गरेर मेची आमा उपनाम दिइएको हो ।   सफल नेपाल


ताजा खबर