‘पढ्ने र सुन्नेको मन छुने मात्र साहित्य हो’ : अर्जुन पराजुली

० तपाईं के लेख्दै हुनुहुन्छ ?
कविता ।

० प्रत्येक स्रष्टाको साहित्यलाई हेर्ने र परिभाषा गर्ने आ-आफ्नै किसिमका दृष्टिकोण हुन्छ । तपाईंको दृष्टिकोण के हो ?
लेखेको कुराले पढ्नेको वा सुन्नेको मन छुन्छ भने त्यो साहित्य हो, छुँदैन भने होइन । साहित्य जति शक्तिशाली हुन्छ, उसले मनलाई त्यति नै जोडदारसँग छुन्छ ।

० तपाईं कस्तो लेखनलाई उत्कृष्ट ठान्नुहुन्छ ?
जुन लेखनले पढ्नेको हृदय जोडदारसँग छुन्छ ।

० साहित्यकारहरूको दायित्व कस्तो हुनुपर्छ ? तपाईंको विचार प्रष्ट पारिदिनुहोस् ।
निर्धा र निमुखाहरूको पक्षमा लेख्नु र बाटो नदेखेकाहरूलाई बाटो देखाउनु नै साहित्यकारहरूको दायित्व हो ।

० हालसालको साहित्यलाई तपाईंले कसरी हेरिरहनुभएको छ ?
थोरैले मात्र मलाई छुन्छ ।

० तपाईं आफू कुन–कुन साहित्यकार र चिन्तकबाट प्रभावित हुनुहुन्छ ?
म कुन कुन साहित्यकारबाट वा चिन्तकबाट कतिमात्रामा प्रभावित छु भन्न सक्दिनँ । साहित्य भन्ने के हो भनेर बुझ्नुभन्दा धेरै पहिलेदेखि नै मैले लेख्न थालिसकेको थिएँ । चिन्तकको विषयमा अध्ययन गर्न सक्ने हुनुभन्दा निकै अगाडिदेखि नै ममा चिन्तनको जग बनिसकेको रहेछ । त्यही जगमा अहिले चिन्तनको घर बनाउने प्रयासमा छु । चार दशकभन्दा लामो यस जीवनयात्रामा कोकोबाट र केकेबाट कतिमात्रामा प्रभावित भएँ वा भइन त्यसको हिसाबकिताब मैले राखेको पनि छैन र राख्नु आवश्यक छ जस्तो मलाई लाग्दैन । आजसम्मको यात्रा मेरो निरन्तर एक्लो यात्रा हो भन्ने मलाई लाग्छ । लामो बाटोमा केही समय केही साथी भए । तिनीहरू छुटे फेरि अरू साथी भए । यो क्रम आजसम्म निरन्तर चलिरहेको छ । आजसम्म जो जोसँग हिँडे सँगसँगै हिँडे, कसैको पछि लागिन । कुनै बेला मलाई पछि लाउन खोज्ने मानछेहरू आज मभन्दा धेरै पछि रहेको पनि मैले देखेको छु । म कसैलाई उछिन्न पनि खोज्दिनँ । म जीवनमा एकजनालाई मात्रै उछिन्न खोज्छु । मैले उछिन्न खोजेको त्यो मान्छे अरू कोही होइन म आफै हुँ । मेरो गुरु पनि म आफै हुँ र चेलो पनि म आफै हुँ ।

आजसम्म मैले जति मान्छेहरू भेटेँ, जति रचनाहरू पढेँ, जति विचारहरू अध्ययन गरेँ मसँग मेल खानेलाई लिएँ, नखानेलाई छोडिदिएँ । कमजोर मान्छेको पक्ष लिनेहरूको राम्रा कुराहरूले मलाई प्रभाव अवश्य नै पारे होलान् । कसले र केले कति प्रभाव पार्‍यो भन्न र गन्न सकिने कुरो होइन । मलाई सधैं लागिरहने कुरा के हो भने मैले लेखेको कुरा मेरै जस्तो होओस् । म कसैको चाकडी पनि गर्दिनँ, कसैले मेरो चाकडी गर्न खोजेको पनि मलाई मन पर्दैन । मलाई खानका लागि मात्रै बाँच्नु छैन । मरेपछि कुम्ला कुटुरा बोकेर स्वर्ग जानु पनि छैन । स्वर्ग हुनेहरू जाउन् तर मेरो कुनै स्वर्ग छैन । मलाई निर्धा र निमुखाहरूको लाइनमा उभिँदाउभिँदै मर्न पाए पुग्छ । म कुनै चिन्तनअन्तर्गत पर्छु वा मअन्तर्गत कुनै चिन्तन पर्छ त्यो मेरो चिन्ताको विषय होइन । तिनीहरू साहित्यकार नभए पनि तिनीहरू चिन्तक नभए पनि म तिनै मान्छेहरूबाट प्रभावित छु जो संसारमा विपन्न भएर बाँचेका छन् ।

० तपाईंको लेखकीय जीवनको सुरुवात कसरी भयो ? र तपाईंको साहित्यिक यात्रा कुन विधाबाट सुरु भयो ? कृपया सबैभन्दा पहिले प्रकाशित कुनै पनि विधाको लेख रचना उल्लेख गर्नुहोस् ।
म केटाकेटीदेखि नै बोटविरुवा र जनावरको असाध्यै माया गर्थें । कसैले माया गर्नुपर्छ भन्ने सिकाएर होइन । घरमा पालेका भैंसी, राँगा, खसी, बोका बेचिँदा लुकीलुकी रोएको मलाई अहिले पनि याद छ । मेरो स्वभाव कसरी यस्तो भयो होला ? सम्झिँदा अहिले आफैलाई अचम्म लाग्छ । म केटाकेटीमा मासु खान्थेँ । छ वर्षको उमेरमा छोडेँ खसीको माया लागेर ।

बुद्ध जयन्तीको दिन कुलायनको पूजा गर्ने चलन हाम्रो गाउँमा अझै पनि छ । म त्यही ८/९ वर्षको हुँदो हो । कुलायन पूजामा २०० जति बोका काटियो । दिनभरि डिलमा उभिएर त्यो दृश्य हेरेँ । रातभरि बोकाहरूलाई सम्झेर रुन मन लाग्यो । ती बोकाहरूको ज्यानलाई जब म आफ्नो ज्यानसँग दाँजेर हेर्थें, अचानामाथि गर्धन राखेपछि कराएको सम्झन्थेँ, गर्धन छिनाएपछि पनि निकैबेरसम्म छटपटाएको याद आउँथ्यो । रुन पनि आँसु मात्रै आउने होइन घुँक्क घुँँक्क नै हुन्थ्यो । हप्तौंसम्म पनि सम्झ्यो कि गहभरि आँसु हुन छोडेन । तिनै बोकाहरूलाई सम्झेर मैले मार्मिक कविता लेखेको थिएँ । मेरो पहिलो कविता नै त्यही थियो वा त्यसभन्दा पहिले पनि लेख्ने गर्थेँ अहिले भन्न नसकिने भएछ । सबभन्दा पहिले मैले एउटा गीतको पुस्तक निकालेको याद छ । त्यसको नाम थियो – होसियार । एसएलसी पास हुनुभन्दा अगाडि नै १५३ पेजको एउटा खण्डकाव्य तयार पारिसकेको थिएँ । अर्को एउटा पनि कथात्मक कविता (किताब पुग्ने) लेखेको थिएँ । त्यसको त पान्डुलिपि अहिलेसम्म भेटेजस्तो आफैलाई लागेको छैन ।

० तपाईंलाई कसरी साहित्य सिर्जनामा लाग्ने प्रेरणा प्राप्त भयो ? बताइदिनुहुन्छ कि ?
केटाकेटीदेखि नै मलाई कविता साह्रै मनपथ्र्यो । झन गीत त मन नपर्ने कुरै भएन । कहिलेकाहीँ साँझपख बेसीबाट गाउँ जाँदा रेडियो बोक्ने मान्छेसँगै परिन्थ्यो । परैबाट भए पनि गीत सुन्न पाइन्थ्यो । लोक भाकाको लय टिपेर सानैदेखि अरूले नसुन्ने गरी गुन्गुनाउँथेँ । बाख्रा चराउन गएको बेलामा त वरिपरि कोही हुँदैनथ्यो । अनि भटमास ढुकुरले खान्छ भनेर मकैबारीमा टीन ठटाउन जाँदा पनि वरिपरि कोही हुँदैनथ्यो । त्यस्तो बेलामा चाहिँ घाँटीको भोलुम पूरै खोलेर पनि गीत गाउँथेँ । आमाको पनि स्वर साह्रै राम्रो थियो । आमाले घाँस, दाउरा गर्न जाँदा म पनि रुँदै पछि लागेर जान्थेँ । अहिले पनि दिमागमा तरङ्गित भइरहने गरी आमाले विरहका गीत गाउनुहुन्थ्यो । त्यसको मलाई अहिलेसम्म सबभन्दा गहिरो छाप छ । सम्झिँदा अहिले पनि घाँस काटिरहेकी आमासँग मैलाधैला टालेका लुगा लाएर सँगै उभिइरहेको छु जस्तो लाग्छ । तर मसँग अहिले आमाको त्यही सम्झनामात्र बाँकी छ ।

गाउँको बिहेमा रत्यौली खेल्ने चलन थियो । तीजमा, कृष्णाष्टमीमा र यस्तै स्थानीय चाडपर्वमा गाउँमा महिलाहरू जम्मा भएर गीतहरू गाउँथे । त्यसबाट पनि गीतका लय सिकियो होला । कोदो रोप्दा हजुरआमैहरूले गाएका भाकाहरू पनि सुनिन्थ्यो । वल्ला डाँडामा र पल्ला डाँडामा बसेर उमेरदार युवायुवतीले गाएको दोहोरी पनि कम्ती रमाइलो लाग्दैनथ्यो । मेरो दिमागले जे सुन्थ्यो त्यही टिप्दै गयो । फेरि घरमा बाले फुर्सद भयो कि देवीभागवतको सिलोक पढ्नुहुन्थ्यो । बाको स्वरमा स्वर मिलाउन मलाई कसले छेक्ने ? स्कुल गएपछि लेख्न पनि जानि हालियो । लय यता र उताबाट चोरचार पारिहालियो । अनि त के चाहियो र ? कविता लेख्न थालियो ।

फेरि छिमेकीको घरमा महाभारतको बडो ठेली थियो । चाडबाडको बेलामा घरअगाडिको फराकिलो चउरमा सबै जम्मा हुन्थे । दुईजनाले लेग्रो तानेर सिलोक भन्थे । हामी घेरा हालेर सुन्थ्यौं । माघे संक्रान्तिमा दोलालघाटमा मेला लाग्थ्यो । मेलामा त झन् रातभरि थरीथरीका भाकामा दोहोरी सुन्न पाइन्थ्यो । प्रतिगमनका मतियारले नै लेखेको भए पनि कक्षा १ देखिकै नेपाली किताबमा कविता पढ्न पाइन्थ्यो । कुरो बुझे पनि नबुझे पनि बडो मीठो लयमा कविता पढ्ने बानी परेकै थियो । यी सबै कुराको संयुक्त प्रभावले नै मलाई कविता लेख्ने प्रेरणा जागेको हो भन्ने मलाई लाग्छ ।

० साहित्यकारको रूपमा तपाईंको सही मूल्याङ्कन भएको छ कि छैन ?
फूलको काम बास्ना छर्ने हो बास्नाको मोल उठ्यो कि उठेन भनेर हिसाब किताब गर्ने होइन । आफ्नो मूल्याङ्कन भयो कि भएन भनेर खोज्दै हिँड्ने साहित्यकारले होइन व्यापारीले हो । पोखरीमा ढुंगा फालेपछि तरङ्ग उठ्छ । तरङ्ग उठ्नु नै मूल्याङ्कन हुनु हो । तरङ्ग कत्रो उठ्यो भन्ने कुराचाहिँ ढुङ्गाको साइज र फालिएको स्पीडमा भरपर्छ ।

० साहित्य र राजनीतिमा तपाईं कस्तो समानता अथवा असमानताको अनुभव गर्नुहुन्छ ?
साहित्य र राजनीति दुवै मानवकल्याणका लागि हुन् । साहित्यभित्र राजनीति अटाउँछ तर राजनीतिभित्र साहित्य अटाउँदैन । साहित्यले राजनीतिको कपडछान गर्छ ।

० तपाईं कुनै राजनीतिक वादबाट प्रभावित हुनुभएको छ कि छैन ? के साहित्य राजनीतिबाट प्रभावित हु“दैन र ?
मान्छे मेरो सर्वस्व हो । जीवनभन्दा पर मेरो कुनै संसार छैन । निर्धा र निमुखा मेरा आफन्त हुन् । दु:ख मेरो संरक्षक हो । बाँचुञ्जेल आफूलाई जोगाइरहनु मेरो कर्तव्य हो । म कुनै वादबाट प्रभावित छु या छैन आवश्यक पर्नेले आफै खोज्नेछन् । अब मलाई तँ कुनै वादमा परिनस् भनेर कसैले भन्छ भने पनि म कुनै वादमा पस्नेवाला छैन । कसैले कुनै वादमा परिस् भन्छ भने पनि म त्यसबाट निस्कनेवाला छैन ।

० तपाईंजस्ता एकजना सफल लेखक हुन के–के गुणहरू आवश्यक हुन्छ ?
मलाई सफल लेखक भनिदिएकोमा म जनमतप्रति आभारी छु । तर म सफल लेखक भएँ कि भइन म आफूलाई चाहिँ थाहा छैन । म लेखनमा सफल भए पनि ठीकै छ नभए पनि ठीकै छ । सफल भइस् भने पनि मैले गर्ने यत्ति हो, असफल भइस् भने पनि मैले गर्ने यत्ति हो ।

० नेपाल प्रज्ञा प्रतिष्ठान लेखक कलाकारहरूको स्वतन्त्र प्रतिष्ठान हुनुपथ्र्यो । तर त्यसो नभई नेपाल सरकारको कार्यालयजस्तो भयो । यस सम्बन्धमा यहा“को के टिप्पणी छ ?
धतुराको बोटमा अम्बा फल्दैन । भुस पकाउँदैमा भात हुँदैन । जुन देशका लेखक कलाकार नै कसैका भरिया, कसैका गोठाला, कसैका हली, कसैका खेताला, कसैका झोले र कसैका डोले छन् भने प्रज्ञा प्रतिष्ठान स्वतन्त्र कसरी हुन्छ ?

० हास्यव्यङ्ग्य साहित्य के हो ? तपाईं यस विधाबाट कसरी आकर्षित हुनुभयो ? तपाईंको यात्राको मूल्याङ्कन कसरी गर्नुहुन्छ ?
म त्यस्तो महान् साहित्यकार होइन जसले हास्यव्यङ्ग्य साहित्य भनेको यही हो भनेर ठ्याक्क भनोस् । हास्यव्यङ्ग्य साहित्य भनेको के होला भनेर गहिरिन पाएको पनि छैन । फुर्सद भयो भने कविता नै लेखौंलेखौं लागेर आउँछ । कविता लेख्ने बाहेकको काममा लाग्दा समय खेर गएजस्तो लाग्छ । कविताचाहिँ परार सालभन्दा पोहोर सालका राम्रा, पोहोर सालका भन्दा सो सालका राम्रा हुँदै आएका छन् तर जान्नचाहिँ परार सालको भन्दा पोहोर सालमा नजान्ने भएजस्तो पोहोर सालमा भन्दा यस सालमा नजान्ने भएजस्तो लाग्दै आएको छ । अरू लेखकहरूलाई पनि यस्तै हुन्छ कि भन्ने मलाई मात्रै यस्तो हुने हो ?

मलाई के लाग्छ भने हास्यव्यङ्ग्य लेख्नु र अरू साहित्य लेख्नुमा फरक छ । हास्यव्यङ्ग्यमा दुईटा धार एकैचोटि समातेर लेख्नुपर्छ । अरूमा एउटा धार मात्रै समाएर लेखे हुन्छ । व्यङ्ग्यमात्रै भयो भने बोक्रा हुँदैन, हास्यमात्रै भयो भने गुदी हुँदैन । बोक्रा र गुदी दुवै नभई त्यो फल हुँदैन ।

लेख्दा पनि कस्तो समस्या हुन्छ भने हास्य समाउन खोजे व्यङ्ग्य भाग्छ, व्यङ्ग्य समाउन खोजे हास्य भाग्छ । हास्यव्यङ्ग्यका प्रमुख विशेषतामध्ये एउटा विशेषता हो – सुन्दा हाँसो उठ्ने, बुझ्दा रुन मन लाग्ने । मलाई चाहिँ त्यस्तो लेख्न सके हुन्थ्यो जस्तो लाग्छ ।

म यस विधाबाट आकर्षित कसरी भएँ कसरी ?! ठ्याक्कै यसरी भएँ भनेर भन्न सक्दिनँ । ठूलो मान्छे हुनलाई भन्ने हो भने जे भने पनि भो ! जहाँसम्म मूल्याङ्कनको कुरा छ आफ्नो मूल्याङ्कन आफैले गर्ने हो भने त्यहाँ मूल्याङ्कन नै किन चाहियो ?

० हास्यव्यङ्ग्य साहित्य लेखनमा तपाईं कोबाट विशेष प्रभावित हुनुहुन्छ ?
यो प्रश्नको पनि मसँग जनमतले खोजेजस्तो उत्तर छैन । कोकोबाट प्रभावित भएँ भएँ । मैले सास फेरेको हावाबाट भएँ होला । पिएको पानीबाट भएँ होला । हुर्केकोे माटोबाट र हिँडेको बाटोबाट भएँ होला । भैरव अर्याल र भूपि शेरचनका किताबबाट भएँ होला । हास्यव्यङ्ग्य चेतना भएका हली, गोठालो साथीहरूदेखि खगेन्द्र संग्रौला र भुतका भिनाजुसम्मबाट भएँ होला । सिस्नुपानी नेपालका साथीहरूबाट भएँ होला । कहिलेकाहीँ बाटोमा हिँड्दा बटुवाकै वाक्यबाट पनि महान् लेखकबाट भन्दा बढी प्रभावित धेरैचोटि भएको छु । बोलीविनाको दृश्यबाट प्रभावित पर्ने प्रभाव छँदैछ । यसैबाट प्रभावित भएँ भनेर झुठो कसरी बोलूँ !!

० आजको देशको अवस्थाबारे तपाईंको विचार के छ ?
प्रत्येक नागरिकले आफूमाथि शासन ऊ आफैले गर्ने हो, अरू कसैले गरिदिने होइन । तर अहिले पनि हामीमाथि शासन अरूले नै गरिरहेका छन् ।

० जीवनमा कहिल्यै कठिनाई अनुभव गरी लेखकीय जीवनबाट निरास त हुनुभएको छैन ?
केही पाउने लोभमा लेख्न थालिएको भए कठिनाईले लेखनमा निरासा आउँथ्यो होला । फेरि मकहाँ कठिनाई आउँदा कहिल्यै पनि आफू एक्लै आउँदैन, उसले आफूभन्दा ठूलो उत्साह पनि ल्याइदिन्छ ।

० दिनचर्या कस्तो छ ? जीवनका समकालीन क्षणहरूबारे जानकारी दिनुहुन्छ कि ?
दिनचर्या उदाहरणीय छैन । मैले मेरो स्वास्थ्यप्रति अन्याय गरेको छु । आफ्नो स्वास्थ्यमा ध्यान दिन्नँ । जुन काम गर्न थालेको हो त्यसमा मात्रै एकोहोरिन्छु । राम्रो लाउनु पर्दैन । मीठो खानु पर्दैैन । मैले आफ्नो ज्यानको पनि सुरक्षा गरिन भनेर श्रीमती सधैं गाली गर्छिन् । लेख्न जाँगर लाग्छ । घरायसी काम गर्दिनँ, अल्छी छु । मनले खाना बनाउने पाए हुन्थ्यो जस्तो लाग्छ तर कामले भने त्यसो गर्दैन । उठ्नलाई कहिले राति १२ बजे नै उठिदिन्छु । कहिले विहान ८ बजेसम्म पनि उठ्दिनँ । काम बरु गर्दै गर्दिन गरेपछि अरूको भन्दा राम्रो गर्नुपर्छ । राम्रो काम गर्न खोज्दाखोज्दै नराम्रो काम पनि हुँदैन । श्रीमती कहिलेकाहीँ कतै घुमाउन लैजाउ भन्छिन् । आफूलाई मन नै लाग्दैन । यस्तै छ । यसलाई दिनचर्या भन्ने कि चर्यादिन भन्ने ? झुठो बोल्दिनँ । नबोली नहुने अवस्थामा बोलिहालियो भने पछिसम्म पीडा भइरहन्छ ।

० तपाईंको व्यक्तिगत र साहित्यिक जीवनका तीतामीठा अविष्मरणीय क्षणहरू छन् भने कृपया बताइदिनुहोस् न ।
केटाकेटीदेखि नै कहिलेकाहीँ बा–आमासँग मेरो कुरा मिल्दैनथ्यो । मलाई चित्त नबुझेको कुरा म बा–आमाले भनेपनि मान्दैनथेँ । मुखले प्रतिकार गर्थें, मुखले त बा आमासँग म केटाकेटीले के सक्नु, नसकेपछि म कामले नै प्रतिकार गर्थें । म अलि डेब्रो खालको र जिद्धीवाल थिएँ । केटाकेटीदेखि नै केही कुरामा चित्त बुझेन कि रोइहाल्थेँ । पहिला रुन्थेँ पछि रोएकोमा आफैलाई लाज लाग्थ्यो । अहिले पनि कुनै मार्मिक घटना देखेँ वा सुनेँ भने आँसु आइहाल्छ ।

दश वर्षको उमेरतिरको कुरा जस्तो लाग्छ । बा आमासँग के कुरा मिलेन कोनि मैले एउटा कठोर निर्णय गरेँ । साँझको बेला थियो । घर अगाडि भएको एउटा ठूलो समीको रुखको बीचको हाँगोको टुप्पोमा चढेँ । अनि हाँगालाई अँगालो मारेर कसैले नदेख्ने गरी बसेँ । मैले त्यो रात त्यसैगरी बिताउने अठोट गरेको थिएँ । बा–आमाले मरीमरी खोज्नुभएछ । पछि के गरे हो कुन्नि म त्यहाँ छ भन्ने थाहा पाउनुभएछ । छिमेकी समेतले फकाइफुल्याई पारेपछि म रुखबाट अ‍ोर्लिएँ । सम्झिँदा अहिले आफैलाई कस्तो कस्तो लाग्छ ।

म केटाकेटी छँदा सानो गाँठीको भए पनि पढ्नमा टाठै थिएँ । मैले परीक्षामा अर्काको हेरेर सार्ने र चीट बनाएर चोर्ने काम कहिल्यै गरिनँ । म अलि छुच्चो स्वभावको थिएँ । छोपेर लेख्थेँ । आफ्नो पनि अरूलाई सार्न दिँदैन थिएँ । एउटा व्यापारीका छोरा पनि मसँगैको कक्षामा थिए । उनी मलाई खुब मनपर्ने । किनभने मलाई आइसक्रिम मन पथ्र्यो । उनी मलाई आइसक्रिम खुवाउँथे । उस्तै परे चकलेट पनि खुवाउँथे । मचाहिँ उनलाई होमवर्क सिकाइदिन्थेँ । उस्तै परे मेरो होमवर्क सारेर पनि लान्थे । उनलाई चाहिँ जाँचमा अलिकति देखाइदिन्थेँ । पूरै सजिलोसँग सार्नचाहिँ उनलाई पनि दिन्नथेँ । मैले ती साथीको पैसाले थुप्रै आइसक्रिम खाएँ । तर मैलेचाहिँ उनलाई ख्वाउन पाइनँ । किनभने मसँग कहिल्यै पैसा हुँदैनथ्यो । महिनाको १० रूपैया फिस पनि तिर्न नसकेर स्कुलले पैसा नलिई पढाइदिएको थियो । कुनै कुनै वर्षमा आधा पैसा तिरेको थिएँ ।

प्रसङ्ग अन्तै मोडियो । एकातिरको कुरा गर्दागर्दै अर्कोतिर पुगेछु । यस्तै हुन्छ पुराना कुराहरू सम्झिँदा । कताकता पुगेर त्यसै हराउँछु । जता गयो उतै हराउने र सम्झिँदै गहभरिने अनगिन्ती संस्मरण छन् मसँग । पढाइको कुरा गर्दागर्दै अभावतिर पुगेछु । आठ कक्षातिर हुँदाको कुरा हो । तिनै आइसक्रिम खुवाउने साथीले भने – परीक्षामा मलाई सजिलोसँग तिमीले सार्न दिए म तिमीलाई एउटा विषयको १० रूपैयाका दरले पैसा दिन्छु । बसले भाडावापत १ मोहोर माग्यो भने पैसा हुँदैनथ्यो, बरु बसबाटै ओर्लेर हिँडेर स्कुल जान्थेँ, नभ्याए घरै फर्किन्थेँ । त्यस्तो केटाकेटी मान्छेले एउटा विषय साथीलाई सार्न दिँदा १० रूपैया पाइन्छ भनेपछि कसरी नाइ भन्थ्यो, मैले पनि नाइँ भनिन । झन् खुसी लाग्यो पैसाको मुख देख्न पाइने भो भनेर । पहिलो दिनको परीक्षापछि उनले मलाई १० रूपैया दिए । म यति खुसी भएँ कि एसएलसी पास हुँदा पनि त्यति खुसी भइन होला । किनभने आजसम्म मेरो हातमा मैले नै खर्च गर्न पाउने गरी यति धेरै रूपैया परेकै थिएन । घरमा पुगेर बा–आमा र भाइहरूलाई देखाएको अहिले पनि झल्झली याद आउँछ । मैले साथीलाई सबै विषय सार्न त दिएँ तर कबोलबमोजिम उनले पैसा दिन सकेनन् । किनभने साथीका बाले दिनका दिन कन्तुरबाट १० रूपैया हराउन थालेको थाहा पाएछन् । यस्तो बेला पनि आयो । अहिले सम्झिँदा हाँसो मात्रै उठ्ने होइन दु:ख पनि त्यत्तिकै लागेर आउँछ । सम्झन्छु – के म त्यही अर्जुन पराजुली हँु त ?

म कक्षा १ मा पढ्दाको कुरो हो । त्यस्तै पाँच वर्ष जतिको हुँदो हुँ । स्कुलमा तामाङ जातिका साथीहरू मभन्दा हट्टाकट्टा र ठूला थिए । केही गरे पनि म उनीहरूलाई साथी बनाउनै सक्दैनथेँ । अरूभन्दा झुत्रेझाम्रे भएर हो कि, सानु भएर हो कि साथीहरू मलाई चास्सचुस्स चिमोट्ने र पाट्ट पिट्ट पिट्ने गरिहाल्थे । त्यसभन्दा पनि बढी पीडा मलाई त्यतिबेला हुन्थ्यो जतिबेला साथीहरू कालोपाटीभरि खरीले लेख्थे र मेरो टोपी फुकालेर पुछ्थे । अनि म रुँदैरुँदै घर जान्थेँ । तिनै साथीहरू अहिले मलाई भेट्दा सबैभन्दा बढी माया गर्छन् ।

जन्मथलोमा रहेको मेरो घरनजिकै छिमेकीकहाँ भोगटेको रुख थियो । थियो मात्रै होइन त्यो अहिले पनि छ । भोगटे पनि फर्सीजत्रै फल्थे । अहिले कत्रा फल्छन् मलाई थाहा छैन । केटाकेटी बेलामा भोगटे खाँदाखाँदै गेडा पनि निलेछु । बा–आमा काममा जानुभएको थियो । गेडो निलेपछि मलाई डर लागेर आयो । कताकता गेडो निल्न नहुने पो हो कि भन्ने लागिरहेको थियो । घर अगाडि चउरमा निस्किएँ । एकजना छिमेकी रहेछन् । अहिले यही भनेर ठम्याउन सकिनँ । मैले उनलाई भोगटेको गेडो निलियो अब के हुन्छ भनेर सोधेँ । उनले भने – अब तेरो पेटमा भोगटेको रुख उम्रिन्छ । तैंले खाएको भोगटेको जत्रै रुख बन्छ । मेरो त सातो गयो । केके सम्झेँ सम्झेँ । मैले अब नबाँचिने भइयो भन्ने सोचेँ । अत्तालिएर रुन थालेँ । दिनभरि भोगटेको गेडा निलेको, भोगटे उम्रेर ठूलो रुख भएको सम्झिरहेँ । बेलुका बा–आमा कामबाट फर्किंदासम्म रुन पनि नसक्ने भइसकेको थिएँ । बा–आमाले सम्झाएपछि मात्रै मलाई आफ्नो ज्यान बच्यो भन्ने लाग्यो ।

जनमत मासिकले मलाई कहाँ लगेर फसाइदियो । मैले विगतको विषयमा यसरी घोरिएर सोचेकै रहेनछु । अहिले पो थाहा भयो – एउटा घटना सम्झियो भने त्यस घटनाको फेर समातेर अर्को घटना पनि सँगै आउँछ । अर्को घटना सम्झियो बीचमै बाधा हाल्न फेरि अर्को घटना आउँछ । एउटा त हो नि भनेर यसो कुनै घटनालाई सम्झिन थाल्यो त्यससँग ताँती लागेर उसका प्रेमी–प्रेमिका, छोराछोरी, नातिनातिनी, भान्जाभान्जी समेतले वरिपरिबाट घेर्छन् ।

बालाई शत्रुले पिट्दा आफूले टुलुटुलु हेरेर बस्नुपरेको, घरको ढोकामा ल्याएर टपरी मन्सिदिएको, गाउँलेहरूको मिलेमतोमा साउन महिनाको लहलह भएको बाली गाईवस्तु हुलेर चराएको, सख्खर भन्दै माटोका डल्लाहरू खुवाएको, रीनपान गरेर दसैंमा बाले ल्याइदिएको लुगालाई सल्किरहेको चुरोटको ठोसो ठोसेर प्वालैप्वाल पारिदिएको, तीजको चौथी खेल्ने बहानामा हाम्रो भएभरको बारीको कर्कलो फाँडिदिएको, जनैपिच्छे कर्कलाको पातमा मल त्याग गरेर त्यही पात पोको पारी मध्यरातमा हाम्रो घरको झ्यालबाट हामीहरू निदाइरहेको ठाउँमा फालिदिएको, चोरले उल्टै हाम्रा बा–आमालाई चोरीको आरोप लगाएर पक्रिनुपर्‍यो भन्दै गाउँमा सभा बोलाएको, एउटाको वस्तुले अर्काको बाली खाएकोमा हामीलाई अर्मल तिराएको, बदामका कोसा नलाग्दै सखाप पारेर बदामका लहराहरू काटिदिएको आदि इत्यादि कहालीलाग्दा घटनाहरूको भोगाइले सम्पन्न व्यक्ति हुँ म । यहाँ मैले मसँग भएका घटनाहरूमध्येका केही घटनाहरूको शीर्षक मात्रै उल्लेख गरेको हुँ । पछि कुनै बेला समय निकाल्न सकिएछ भने थप विवरण लेख्छु होला । माथि उल्लेख गरेका सबै घटनाहरू मेरो बाल्यकालसँग मात्रै सम्बन्धित हुन् ।

पढ्नका लागि (११ वर्षको उमेरदेखि) मेरो घरबाट स्कुलसम्म पुग्न तीन घन्टा लाग्थ्यो । विहान ७ बजेसम्ममा स्कुल जानलाई खाना खाएर हिँडिसक्नुपथ्र्यो । दिनको ६ घन्टा स्कुलको पर्खालभित्र हुन्थे भने दिनको ६ घन्टा म स्कुल र घरबीचको बाटोमा हुन्थेँ । मेरा घर ज्याम्दी गाविसको गाउँमा भतेरे भन्ने ठाउँमा थियो भने बेसी सान्डीबेसीमा पथ्र्यो । बेसीबाट स्कुल जाँदा दोलालघाट निस्कनुपथ्र्यो । बाटोमा ४५ मिनेटजति जंगल नै जंगल थियो । त्यतिबेला मेरो गाउँभरिबाट त्यस स्कुल (अग्लेकोट भन्ने ठाउँको सर्वमंगला मावि) मा पढ्न जाने केवल म एकजना मात्रै थिएँ । गाउँभरिबाट पढ्न जाने नै कोही थिएन भनेपछि साथी त हुने कुरै भएन । मभन्दा दुईवर्षपछि मात्रै मेरो गाविसबाट थप २ जना भाइहरू पढ्न जान थालेका थिए त्यस स्कुलमा तर तिनीहरूको र मेरो स्कुल जाने आउने बाटो एउटै पर्दैनथ्यो । त्यो उमेरदेखि त्यति लामो बाटो (त्यसमा पनि डरलाग्दो जंगलसमेत भएको) हिँडेर पनि म नथाकिकन एसएलसी पास गरेछु । फर्केर हेर्दा कसरी पढेँ होला जस्तो लाग्छ ।

पढ्ने ठाउँ त्यति टाढा भए पनि उमेर अलि छिप्पिएको भए कुरा बेग्लै हुँदो हो । सँगै पढ्न जाने कोही साथी भइदिएको भए कुरो बेग्लै हुँदो हो । त्यसमा पनि भोक लागेको बेलामा खाजा खाने पैसा बगलीमा भइदिएको भए कुरो बेग्लै हुँदो हो । स्कुल त टाढा भयो भयो, कोही साथी त भएन भएन, खाजा खान त पाइएन पाइएन साँझ परेपछि जंगलको बाटो हिँड्नु नपरेको भए पनि त कुरो बेग्लै हुँदो हो । विहान कक्षा कोठामा पसेदेखि नै भरे हिँड्नु पर्ने वनको बाटोले तर्साउन सुरु गथ्र्यो । पढ्ने भनेको बाटोमा हिँड्दा हिँड्दै हो । घरमा त कतिखेर पढ्नु । होमवर्क गर्ने भनेको स्कुलमै जति समय खाली हुन्छ त्यतिमै हो । स्कुलमा चाहिँ शिक्षक आए आइहाले, नत्र होमवर्क गरिरहन्थेँ । खेल्ने बेलामा पनि म सानु भएकोले साथीहरूले मलाई खेल्न दिंदैनथे । स्कुलमा भएको खेल भनेको एउटा भलिबल थियो, अर्को क्यारिमबोर्ड । भलिबलको भकुन्डो छुनै पाइन्नथ्यो । मैले खेल्ने क्यारेमबोर्ड हो । त्यो पनि हप्तामा १ दिनजस्तो पालो आउँथ्यो । कक्षामा ४० जनाजति विद्यार्थी थिए । यसरी पढ्दा पनि म स्कुलमा तेस्रो स्थानबाट तल कहिल्यै झरिन । एसएलसीमा ५७% आएछ । लोकसेवाको परीक्षा पनि दिनेवित्तिकै दुई ठाउँमा पास भएछ ।

पुस महिनातिरको कुरा होजस्तो लाग्छ । स्कुलबाट घर जाँदाजाँदै जंगल सुरु हुनुभन्दा अगाडि नै झमक्क साँझ परिहाल्यो । त्यतिबेला म त्यही १२ वर्ष जतिको हुँदो हुँ । अलिकति वनको बाटो हिँडेपछि बाँकी जंगल छिचोलेर घर जाने आँट आएन । कहिलेकाहीँ दोलालघाटमा किनमेल गरेर फर्किने गाउँले भेटिन्थे आज त्यो पनि भेटिएन । अनि त्यही एकै ठाउँमा कहिले १० हातजति पर जाने कहिले १० हातजति वर आउने गरेर ओदोरदोहोर गर्न थालेँ । के गरौं के गरौं भयो । त्यस ठाउँलाई ज्यामिरे भनिन्थ्यो । त्यो ठाउँ पनि वरिपरि जंगलले घेरिएको थियो । म घरी यता र घरी उता रिङीरहेको बाटोमुन्तिर दुइटा गोठको बीचमा खरको कुन्यु पनि थियो । आखिरमा मैले त्यही खरको कुन्युमा घुस्रेर रात बिताउने विचार गरेँ । म खरको कुन्यौतिर मन नलाइनलाई पाइला सार्दै थिएँ । मलाई कुनै महिला आवाजले बाबु बाबु भनेर बोलायो । कुन्यु नजिकैको घरकी महिला (जसलाई म सानीमा भन्थेँ) हुनुहुँदोरहेछ । उहाँले म बाटोमा यता र उती गरेको अघिनैदेखि हेरिरहनुभएको रहेछ । मलाई डर त अघिदेखि लागेकै थियो – अब लाज पनि थपियो । के भनौं के भनौं भो । साँचो बोल्ने आँट आएन । मैले भनेँ – सानीमा कलम हरायो, भेटिन्छ कि भनेर खोजेको ? उहाँले भन्नुभयो – अहिले कहाँ भेटिन्छ, खसेको भए भरेभोलि विहान भेटिन्छ । रात पर्‍यो, यहीँ बस । मैले हुन्छ भनेँ । म खरको कुन्युमा घुस्रेर रात बिताउनबाट यसरी जोगिएँ ।

० तपाईंको कुनै खास अम्मल छ कि ?
एउटा अम्मल छ । त्यो हो – कविता लेख्ने ।

० तपाईंको चाख कस्तो छ ? खासगरी खानपिन र साथी संगातीमा ?
म मासु खान्नँ । दूध नाममात्रको भए पनि नभई हुँदैन । दाल, भात, तरकारीहरू खान्छु । यही कुरा खान पाए हुन्थ्यो भन्ने लाग्दैन । साग केटाकेटीदेखि नै मन पर्दैन । करबलले खाने मात्रै हो । चिल्लो, पीरो, अमिलो स्वास्थ्यको कारणले खान्नँ । मादक पदार्थ आजसम्म चाखेको पनि छैन ।
जो पायो त्यहीसँग संगत गर्न मन लाग्दैन । हत्तपत्त संगत हुँदैन, भएपछि हत्तपत्त छुट्टिदैन पनि । मनमा लागेको कुरा गोदाम बनाएर स्टोर गर्ने चलन छैन । कोही रिसाउला कि भनेर लागेको कुरा भन्न बाँकी राखिन्न । मेरो धेरै साथीहरू छैनन् । म केटाकेटीदेखि नै लज्जालु स्वभावको थिएँ । अहिले पनि नयाँनयाँ महिलासँग बोल्दा कताकता अप्ठेरो लागेर आउँछ ।

० रोगव्याधीले कत्तिको सताउने गर्छ ?
रोगव्याधीले मलाई के सताउनु, बरु म नै रोगव्याधीलाई सताइदिन्छु । नियमित खानुपर्ने ओखती सम्झेको बेलामा खान्छु । सन्चो भएन भने जँचाउनेै जान्नँ, सुतिरहन्छु । जे जे गर्दा स्वास्थ्यलाई फाइदा हुन्छ त्यो त्यो गर्न जाँगर चल्दैन । रोगले मसँग हार खाएर आफै बाटा लाग्छ । मसँग रोगले केही आशा गर्‍यो भने रोगलाई नै घाटा लाग्छ ।

० अन्तमा जनमत र पाठकहरूलाई के सन्देश दिन चाहनुहुन्छ ?
देशबाट, पार्टीहरूबाट, जिल्लाबाट, गाउँबाट, घरबाट, आफैभित्रबाट राजाहरू हटाऊँ ।

बगलीमाराले बगली फोर्न पाउँछ
बगलीले मुख फोर्न पाउँदैन
स्यालले कुखुरा चोर्न पाउँछ
कुखुराले चोरिएँ भनेर छिमेकी जोर्न पाउँदैन

यो मेरो कविता होइन
हामी सबैको राष्ट्रियगान हो
यसका रचयिता यही
सत्रसाल भाग दुई ।


ताजा खबर