नेपाल एयरलाइन्सले साउदीको दमाममा उडान गर्ने

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम(नेपाल एयरलाइन्स)ले साउदी अरेबियाको दमाममा सिधा उडान गर्ने भएको छ ।

निगमका प्रवक्ता रमेश पौडेलका अनुसार आगामी भदौ २० गतेदेखि काठमाडौँबाट दमाममा नियमित सिधा उडान गर्ने गरी आजदेखि टिकट बुकिङ खुला गरिएको हो ।

नेपाल एयरलाइन्सको यो ११औँ अन्तर्राष्ट्रिय उडान गन्तव्य हो । यसअघि निगमले साउदी अरेबियाको रियादमा पनि उडान गरिरहेको थियो ।

उडान तालिकाअनुसार काठमाडौँ–दमाम–काठमाडौँ सेक्टरमा निगमले साताको दुई दिन बुधवार र शनिवार उडान गर्ने र बजारको माग तथा निगमको बजार व्यवस्थापनअनुसार उडानको सङ्ख्या बढाउँदै लैजाने योजना रहेको निगमका प्रवक्ता पौडेलले जानकारी दिनुभयो ।

काठमाडौँ–दमामको प्रवर्द्धनात्मक भाडा दर रु ३५ हजार तोकिएको छ । दमाम–काठमाडौँका लागि भने पाँच सय ९६ साउदी रियाल तोकिएको छ । निगमको उडान विस्तारबाट नेपालीहरूको बाहुल्यता रहेको साउदीबाट नेपाल आवागमन सहज र सुलभ हुने विश्वास गरिएको छ ।

निगमले अहिले दुई थान वाइडबडी र दुई थान न्यारोबडी जहाजमार्फत आठ देशका ११ गन्तव्यमा उडान भरिरहेको छ । रासस


ताजा खबर