सुन तस्करी छानबिनका लागि उच्चस्तरीय आयोग चाहिँदैन

सत्तारूढ दलका शीर्ष नेताबिचको बैठकले सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय छानबिन आयोगको आवश्यकता नभएको निष्कर्ष निकालेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारूढ दलका शीर्ष नेताबिचको आजको बैठकमा समसामयिक राजनीतिको विषयमा छलफल भएको थियो । छलफलका क्रममा सदनको अवरोध हटाउने विषयमा प्रमुख प्रतिपक्ष नेकपा (एमाले) को मागअनुसार सुन तस्करी प्रकरणका विषयमा उच्चस्तरीय छानबिन आयोग गठन गर्न आवश्यक नभएको निष्कर्ष निस्केको हो ।

नेपाली कांग्रेसका नेता एवं प्रमुख सचेतक रमेश लेखकले सुन तस्करी प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले छानबिन गरिरहेको भन्दै उच्चस्तरीय छानबिन आयोगको गठनले सीआइबीको कामलाई अवरोध गर्ने र मुद्दालाई ‘डाईभर्ट’ गर्न सक्ने बताउनुभयो ।

उहाँले पूर्वसभामुख एवं नेकपा (माओवादी केन्द्र) का प्रवक्ता कृष्णबहादुर महराको सुन प्रकरणमा संलग्नताबारे छानबिन भइरहेको समेत जानकारी दिनुभयो ।

प्रमुख सचेतक लेखकका अनुसार बैठकमा गौर हत्याकाण्ड र ललिता निवास जग्गा प्रकरणको विषयमा पनि छलफल भयो । गौर हत्याकाण्डको विषयमा फरक फरक प्रतिवेदनले फरक फरक परिणाम देखाएको भन्दै उक्त घटनाका विषयमा सरकारले कानुनसम्मत ढङ्गले टुङ्गो लगाउनुपर्ने छलफल भएको बताउनुभयो ।

आज साँझ बसेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर लगायतका नेता र संसदीय दलका सचेतकहरू सहभागी हुनुहुन्थ्यो । रासस


ताजा खबर