जारकाे पानी पिउन अयोग्य : न्यूनतम मापदण्ड पूरा नगरी बिक्री गर्छन उत्पादक

‘जारको पानी पिउनयोग्य हुन्छ’ भनी ढुक्क भएर नपिउनुहोला, जारका पानी पिउनयोग्य नभएको पाइएको छ । काठमाडौंका विभिन्न स्थानमा गरिएको अनुगमनका क्रममा उत्पादकले न्यूनतम मापदण्ड नै पूरा नगरी पानी बिक्री गर्दै आएको पाइएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंको नेतृत्वमा गरिएको अनुगमनका क्रममा यस्तो तथ्य पत्ता लागेको हो ।

पर्याप्त प्रशोेधनबिनै पानी बजारमा पठाइएको पाइएको छ । त्यस्तै, लामो समयदेखि मापदण्डविपरीतका जारमा पानी बिक्री गरेको पत्ता लागेको अनुगमनमा संलग्न निकायले बताएको छ । यस क्रममा अधिकांश कम्पनीले न्यूनतम मापदण्ड र पूर्वाधारबिनै पानी बिक्री वितरण गरिरहेको पाइएको हो ।

अनुगमन टोलीका संयोजक तथा जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रशासकीय अधिकृत खड्गबहादुर श्रेष्ठले यस्ता कम्पनीका सम्बन्धमा प्रशासनमा उजुरी परेको र अनुगमन भइरहेको बताए । ‘अनुगमनका क्रममा उपभोक्ता स्वास्थ्यमाथि खेलबाड गर्ने गरेको पाइएको छ । यस्ता उत्पादकलाई कारबाहीको दायरामा ल्याउनेछौं,’ श्रेष्ठले भने ।

पर्याप्त प्रशोेधनबिनै बजार पुग्छन् जारका पानी

अनुगमनलाई निरन्तरता दिँदै अनुगमन टोलीले बुधबार टोखा नगरपालिका क्षेत्रका पानी उत्पादक कम्पनीको अनुगमन गरेको थियो । अनुगमनका क्रममा अधिकांश पानी उत्पादक कम्पनीले न्यूनतम मापदण्ड पूरा नगरेको फेला परेका छन् । यससँगै टोलीले ‘अक्वा बुद्धभूमि’ र ‘अक्वा सनसाइन’ कम्पनीमा सिलबन्दी गरी कारबाही थालेको जनाएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत ईश्वर सुवेदी निर्देशनलाई पानी उत्पादकले बेवास्ता गर्दै आएको बताउँछन् । ‘पटक–पटकको बेवास्तालाई विभागले गम्भीर रूपमा लिएर कारबाही गर्नेछ,’ सुवेदीले भने ।
गुणस्तर तथा नापतौल विभागका अधिकृत विशाल जिरेलले अधिकांश पानी उद्योगले गुणस्तर कायम गर्न आवश्यक मापदण्ड पूरा नगरेको पाइएको बताए । कम्पनीले पिउनयोग्य भनी सिलछाप गरेका जार र बोतलको पानी परीक्षण गर्दा ५० प्रतिशत पानी पिउन अयोग्य भेटिएको उनले बताए ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पानी उत्पादकले कागजात दुरुस्त नराख्ने, बिक्री बिल जारी नगरी कारोबार गर्नेलगायतको समस्या रहेको बताए । विभागका अधिकृत जितबहादुर भण्डारीले कतिपय कम्पनीमा साइनबोर्डसमेत नराखी पानी उत्पादन गर्ने गरेको पाइएको बताए । ‘यस्ता कम्पनीलाई विभागले आवश्यक कारबाही गरिरहेको छ,’ उनले भने ।
उपभोक्तावादी संघसंस्थाले खानेपानी सुरक्षा योजनालाई प्रभावकारी कार्यान्वयन गर्दै उपभोक्तालाई जलजन्य रोगबारे जनचेतना जगाउन आवश्यक भएको जनाए ।
काठमाडौं उपत्यकाभित्र १ लाख २० हजार जार र २ लाख बोतलका पानी दैनिक रूपमा खपत भइरहेको अनुमान बोतल तथा जार एसोसिएसनको छ ।

पानी उत्पादक कम्पनीको अवस्था
–नवीकरण नगर्ने र कर चुक्ता नगर्ने
–फिल्टरबाट अपर्याप्त प्रशोधन र चुहावट
–ओजन नभएको
–सरसफाइमा ध्यान नदिइएको
–कामदारले न्यूनतम नियम पालना नगरेको
–प्रयोगशाला नभएको
–कमसल पूर्वाधार
–लामो समयसम्म पुराना जार प्रयोगमा
–एउटा कम्पनीको जारमा अर्कोको लेभल

खानेपानी तथा ढल निकास विभागका पानी गुणस्तर शाखाका प्रमुख नारायणप्रसाद खनालले खानेपानी सुरक्षा योजनालाई प्रभावकारी कार्यान्वयन गर्दै उपभोक्तालाई जलजन्य रोगबारे जनचेतना जगाउन आवश्यक भएको बताए ।

सफल नेपाल


ताजा खबर